पत्रकार महासंघ सर्लाहीको पदस्थापन

सर्लाही । नेपाल पत्रकार महासंघ शाखा सर्लाहीमा पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पत्रकार महासंघ शाखा सर्लाहीको पदस्थापन कार्यक्रम सदरमुकाम मलंगवामा सम्पन्न भएको हो ।

कार्यक्रममा गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनबाट सर्लाही शाखाको निर्वाचित अध्यक्ष ओमप्रकाश ठाकुर नेतृत्वको समितिलाई टंकबहादुर क्षेत्री नेतृत्वको निवर्तमान कार्य समितिले पदभार हस्तान्तरण गरेका थिए ।

पदस्थापन कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सर्लाहीको इतिहास तथा जिल्लाका पर्यटकीयस्थलको विषयमा तयार पारिएको स्मारिका (पुस्तक) समेत विमोचन गरिएको थियो । साथै स्वर्गीय गजेन्द्र नारायण सिंह स्मृति पत्रकारिता पुरस्कारबाट यस वर्ष लोकतन्त्र दैनिकका सम्पादक पत्रकार मनोज यादवलाई नगद १५ हजार ५५५ रुपैयाँसहित कदर–पत्रबाट सम्मानसमेत गरिएको छ ।

शाखा सर्लाहीका अध्यक्ष क्षेत्रीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय सदस्य द्वय सिकिन्द्र पासवान र राजु विश्वकर्मा, लेखा समिति संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा र जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।

पदभार ग्रहण पश्चात् बसेको नेपाल पत्रकार महासंघ शाखा सर्लाहीको नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले महासंघको निर्वाचन गराउन योगदान पुर्याउने सम्पुर्णमा धन्यवाद ज्ञापन, वर्तमान अध्यक्ष ओमप्रकाश ठाकुरको ममतामयि आमाको असामयिक निधनप्रति शोक प्रस्ताव, मलंगवा नपा– १० र लालबन्दी नपा– १ स्थित निर्माणाधीन रहेको महासंघको भवनको निर्माण कार्य यसै कार्यकालमा सम्पन्न गर्ने, संसदमा दर्ता भएको आम सञ्चार विधेयक विरुद्ध ज्ञापनपत्र जारी गर्ने, पत्रकार आचारसंहितालाई कडाइका साथ लागु गर्ने र हिन्दुहरुको पहान पर्व होलिको सम्पुर्णमा शुभकामना व्यक्त गरिएको र साथै आगामी दिनमा जिल्लाका पत्रकार तथा पत्रकारिताको विकास एवं उत्थानमा लागिपर्ने निर्णय गरिएको महासंघका नवनिर्वाचित अध्यक्ष ओमप्रकाश ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया