विश्वविद्यालय बाहुबलीको अखडा नबनोस्

विगत केही वर्षदेखि विद्यार्थी राजनीतिका नाममा अराजकता बढ्न जाँदा त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा यस अन्तर्गतका क्याम्पसहरूको शैक्षिक वातावरण तहसनहस बन्दै गएको छ । यसको पछिल्लो उदाहरण हो, ‘शुक्रबार रेक्टर खड्ग केसी र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन शंकर खनालको कार्यकक्षमा भएको तोडफोड ।’ यो तोडफोडमा सत्ताको मुख्य घटक नेपाली कांग्रेसनिकट नेविसंघमा आवद्ध व्यक्तिहरूको संलग्नता रहेको पुष्टि सिसिटिभी क्यामेराको फुटेजले गरिसकेको छ । घटनामा संलग्नहरूलाई तत्काल पक्राउ गर्न सकिने सम्भावना हुँदाहुँदै पनि कतैबाट उजुरी नआएको प्रतिक्रिया नेपाल प्रहरीले दिएको छ । किनकी गृहमन्त्रीको आदेशविना सत्तारूढ पार्टीका कार्यकर्तालाई पक्रनु आफ्नै जागिर धरापमा पर्नु हो भन्ने कुरा नेपाल प्रहरीले हिजोका दिनमै अनुभव गरिसकेको छ । शुक्रबारको घटनामा संलग्न व्यक्तिहरू त परिणाम मात्रै हुन् ।

यो परिणामको कारक नेपाली कांग्रेसको नेतृत्व हो । प्राध्यापकमाथि आक्रमण, शैक्षिक स्थलमा तोडफोड, आपसी भिडन्त लगायतका घटना नयाँ होइनन् । विद्यार्थी राजनीतिको आवरणमा हुने यस्ता अपराधिक घटनाबाट त्रिवि कीर्तिपुर मात्रै होइन आंगिक एवं सम्बन्धन प्राप्त प्रायः सबै क्याम्पसहरू आक्रान्त बनेका छन् । विद्यार्थीको आवरणमा अराजक गतिविधि गर्नेहरू दोषी हुन् भन्ने कुरामा विवाद छैन, तर यस्ता घटना पटकपटक दोहोरिनु भनेको व्यक्तिको मात्रै दोष होइन, यस्ता व्यक्तिहरूको संरक्षण गर्ने प्रवृत्ति तथा प्रणालीको दोष हो । किनकी यस्ता गतिविधि सत्ताको आडमा भएका छन् । सम्बन्धित पार्टीहरूले संरक्षण एवं पुरस्कृत होइन कि आफ्ना भ्रातृ संगठनका सदस्य नै भए पनि कानुनअनुसार निर्मम ढंगले कारबाही नगर्दासम्म यस्ता गतिविधि नियन्त्रणमा आउँदैनन् ।

विगतमा ठूलो इज्जत र प्रतिष्ठा पाएको विद्यार्थी राजनीति आज आपराधिक जत्थाका रुपमा बद्नाम हुनुमा मुख्य दोषी को हुन् ? भन्ने कुरा स्पष्ट छ । प्रजातन्त्र स्थापना भइसकेको अवस्थामा विद्यार्थी राजनीतिलाई शैक्षिक वातावरण सुधारमा केन्द्रित गर्नुपर्नेमा दलहरूले एकअर्काविरुद्ध भौतिक आक्रमण गर्ने हतियार बनाए । विद्यार्थी राजनीति रचनात्मक सिर्जनातर्फ होइन कि बाहुबलको प्रदर्शन गर्ने स्थल बन्यो । बाहुबलको प्रदर्शनलाई नै मूल्यांकनको आधार बनाइयो ।

जसका कारण पढ्नका लागि भन्दा पनि बाहुबलको प्रदर्शन गरेर नेताको नजिक बन्नका लागि क्याम्पसमा भर्ना हुने प्रवृत्ति बढ्न थाल्यो । अहिलेका सबैजसो ठूला दलका युवा नेताहरूको पृष्ठभूमि हेर्ने हो भने धेरैको बाहुबली बाटोबाटै आएको देखिन्छ । जबसम्म दलका नेताहरूको रोजाइमा मेधावी तथा अनुशासित विद्यार्थीको सट्टा बाहुबलीहरू परिरहन्छन्, तबसम्म देशको शैक्षिक अराजकता घट्ने होइन बढ्दै जान्छ । आफ्ना छोराछोरीलाई महँगा निजी क्याम्पस तथा विदेशमा पढ्न पठाउने, सर्वसाधारण गरिब जनताका छोराछोरी पढ्ने सरकारी शैक्षिक स्थललाई बाहुबलको प्रदर्शनस्थल बनाउने प्रवत्तिको जतसक्दो छिटो अन्त्य हुनु जरुरी छ ।

एउटा भनाइ नै छ, ‘कुनै देशलाई तहसनहस बनाउनु छ भने शैक्षिक वातावरण तहसनहस गराइदिए पुग्छ, शैक्षिक वातावरण तहसनहस गराउनका लागि विद्यार्थीको आवरणमा अपराधीहरूलाई क्याम्पसमा छिराइदिए पुग्छ ।’ दुर्भाग्यबश नेपालमा यो स्थिति बढ्दो छ । विश्वविद्यालय, सरकारी तथा सामुदायिक कलेज भनेको अराजक गतिविधि गर्ने क्षेत्रको पर्याय बन्न लागेको त्यहाँ भइरहेका गतिविधिहरूले देखाउँछ । विद्यार्थीको आवरणमा शिक्षक–प्राध्यापकहरूमाथि नै भौतिक आक्रमण हुनु आफैँमा भयावह समस्या हो । समस्या सामान्य छैन भन्ने कुरा कलिला विद्यार्थीहरूको बढ्दो विदेश पलायनले पुष्टि गरिसकेको छ । सरकारी विश्वविद्यालय तथा कलेजहरूमा विद्याथी आकर्षित हुनसमेत छाडेका छन् ।

यस्ता अराजक गतिविधिहरूलाई विद्यार्थी राजनीति भनेर राज्यले नै छुट दिने परम्परा जतिसक्दो छिटो अन्त्य गर्नु जरुरी छ । हिजो बिपी कोइरालाले भनेका थिए– ‘शैक्षिक स्थल भनेको बाहुबलको प्रयोग गर्ने ठाउँ होइन, विचार र सिद्धान्तको बहस गर्ने ठाउँ हो ।’ आज उनका उत्तराधिकारी शेरबहादुर देउवाले आमजनताले सुन्ने गरी भन्नुपर्यो कि, ‘शैक्षिक स्थल भनेको लुटीखाने र ठगिखाने गुन्डाहरूको अखडा होइन, देशलाई आर्थिक समृद्धितर्फ लैजाने जग हो ।’ नेपाली कांग्रेसका सभापति देउवाले यो हिम्मत गरेभने अरू दलहरूलाई पनि दबाब पुग्नेछ ।

प्रतिक्रिया