राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरु अचानक बेहोस भएपछि अस्पताल भर्ना

पर्सा । पर्साको कालिकामाई गाउँपालिका– ४ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कटिबलुवामा दर्जनौँ विद्यार्थीहरु अचानक बेहोस भएका छन् । बेहोस भएका विद्यार्थीहरुलाई उपचारको लागि पोखरिया अस्पतालमा पठाइएको छ ।

विद्यालयका प्रधानाध्यापक ईन्द्रदेव प्रसाद कुर्मीका अनुसार विद्यालयमा प्राथना सकाएर विद्यालय भवनमा गएपछि एक्कासी विद्यार्थीहरुको टाउको दुख्ने, चक्कर आउने र बेहोस भएर ढल्ने भएका थिए । एकाएक बेहोस हुने विद्यार्थीहरुलाई पोखरिया अस्पतालमा पठाइएको प्रअ कुर्मीले बताए ।

बेहोस हुनेमा २० जना विद्यार्थी रहेको तथा त्यसमा १९ जना छात्रा र एक जना छात्र रहेको प्रअ कुर्मीले बताए । बेहोस भएकालाई पोखरिया अस्पतालमा उपचारभइरहेको पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अनिल यादवले जानकारी दिए ।

बेहोस भएका विद्यार्थीहरुको अहिलेसम्म रोगबारे जानकारी नभएको डाक्टर यादवले बताए । बेहोस भएका विद्यार्थीहरुमा एक जनाको अवस्था गम्भीर देखिएका १५ वर्षीय रोहित पासवानलाई थप उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको डाक्टर यादवले बताए ।

यस घटनाबारे जानकारी पाएपछि गाउँपालिकाका अध्यक्ष बशिष्ट गुप्तासहितको टोली पोखरिया अस्पतालमा पुगेर उपचारमा कुनै कमजोरी नराख्न डाक्टरहरुलाई आग्रह गरेका छन् । पोखरिया अस्पतालमा विद्यालयका प्रअ कुर्मीलगायत शिक्षक, शिक्षिका र अविभावकहरु पुगेका छन् ।

प्रतिक्रिया