काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच गत शुक्रबार भएको खनिज वार्ता तनावमय रूपमा टुंगिएपछि यसले संसारमा नयाँ शक्ति–समीकरणको सम्भावना देखिएको छ । युक्रेन युद्ध अन्त्यका लागि लन्डनमा आइतबार भएको युरोपेली सम्मेलनको पूर्वसन्ध्यामा बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युक्रेन, बेलायत र फ्रान्स मिलेर युद्धविरामको तयारी गर्ने तथा यसमा अन्य सरोकारवालाको साथ लिने बताएका छन् ।
बिबिसीसँगको अन्तर्वार्ताअघि नै स्टेइमरले शनिबार साँझ बेलायतले युक्रेनलाई २ दशमलव ८ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने विषयमा जेलेन्स्कीसँग हस्ताक्षर गरेका थिए । जेलेन्स्कीले यसमा कृतज्ञता व्यक्त गर्दै यो रकम हतियार खरिदमा खर्च गर्ने बताए । बेलायतमा रहँदा जेलेन्स्कीले राजा चाल्र्ससँग पनि भेट गर्ने कार्यक्रम बनाएका छन् ।
शुक्रबार वासिङ्टनमा भएको चर्काचर्कीको घटनापछि स्टेइमरले युक्रेनको स्वतन्त्रता जोगाउँदै शान्ति स्थापना गर्ने प्रयासमा आफू प्रतिबद्ध रहेको बताएका थिए । यति मात्र होइन, युक्रेन युद्धको सहयोगका लागि छलफल गर्ने उद्देश्यसहित आइतबार लन्डनमा युरोपेली नेताको भेट भएको हो ।
बैठकमा राष्ट्रपति जेलेन्स्कीले युरोपका धेरै देशका नेता मात्र होइन, युरोपेली युनियन र नेटोका प्रमुखसँग समेत भेट गरे । छलफल ३ उद्देश्यमा केन्द्रित थियो । पहिलो उद्देश्य युक्रेनलाई बलियो बनाउने छ । जसअन्तर्गत सैन्य सहयोग गर्नुका साथै रुसलाई आर्थिक दबाब दिने लक्ष्य सम्मेलनको छ । सम्मेलनमा रुसको आक्रमणबाट युक्रेनलाई बचाउन दीर्घकालीन शान्तिको बाटो खोजी गर्ने लक्ष्यसमेत युरोपेली नेताले राखेका छन् । सुरक्षाको बलियो ग्यारेन्टी अर्को उद्देश्य राखिएको छ । बिबिसीसँगको अन्तर्वार्तामा स्टेइमरले अमेरिकी राष्ट्रपति ट्रम्पले पनि शान्ति चाहेको स्वीकार गरे । तथापि उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति विश्वास नभएका कारण युक्रेनको सुरक्षाको ग्यारेन्टीको अहिले मूल विषय भएको बताए ।
समस्या समाधानका ३ आधार
स्टेइमरले युद्धविरामका लागि आवश्यक ३ सर्त रहेको बताएका छन् । पहिलो सर्तमा बलियो युक्रेनको आवश्यकता रहेको उनले बताएका छन् । यस्तै, दोस्रो– युरोपको भूमिका र तेस्रो– युद्धविरामका लागि अमेरिकी सहयोगको अपेक्षा उनको छ । जेलेन्सकी पनि आफू युद्धविरामको पक्षमा भए पनि भविष्यमा रुसले दिन सक्ने धोकाका कारण सचेत रहेको बताएका छन् ।
पूर्वी युरोपको चिन्ता
पछिल्लो विकसित घटनाक्रमले रुस र बेलारुससँग सीमा जोडिएका देशहरूमा चिन्ता थपिएको छ । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले पूर्वी नेटो राष्ट्रका लागि भिन्न नीतिको आवश्यकता महसुस गरेका छन् । बाल्टिक देशका साथै फिनल्यान्ड पनि जोखिममा भएका कारण उनले ती देशसँग थप सेना हुन आवश्यक भएको बताएका छन् । शुक्रबारको घटनापछि हंगेरीबाहेक लगभग सबै पूर्वी युरोपेली देशका नेताले युक्रेनप्रति सद्भाव व्यक्त गरिसकेका छन् । यी सबै देशको चाहना बलियो युरोपेली सेना हो ।
अमेरिकाबिना युद्धमा युक्रेनको निरन्तरता कति सम्भव ?
३ वर्षअघि सुरु भएको रुस–युक्रेन युद्धमा अमेरिका नै युक्रेनको सबैभन्दा ठुलो सहयोगी थियो । अमेरिका बाहिरिने हो भने बेलायतको नेतृत्वमा युरोपले युक्रेनको रक्षा गर्न सक्ने या नसक्ने प्रश्न तेर्सिएको छ । बेलायतसँग अहिले ७० हजार सेना मात्र छन् । सिंगो युरोपको सैन्य खर्चभन्दा रुस एक्लैको सैन्य खर्च बढी छ । रुसको कुल गार्हस्थ्य उत्पादनको ६ दशमलव ७ प्रतिशत सेनामा खर्च हुन्छ भने बेलायतको २ दशमलव ५ प्रतिशत मात्र सेनामा खर्च छ ।
स्टेइमर युक्रेनलाई साथ दिन चाहन्छन् । त्यसकारण उनले अमेरिकी सहयोग जारी रहने अपेक्षा गरेका छन् । बारम्बार अमेरिकाको प्रशंसा गरेर युक्रेनको सुरक्षा ग्यारेन्टीको प्रयास गराउन खोज्नुको कारण पनि त्यही हो ।
रुसले आक्रमण गरेपछि युक्रेनमा सेनाको संख्या १ लाखबाट बढाएर २ लाख पु¥याइएको थियो । युद्ध सुरु भएपछि अमेरिकाले दिएको भन्दा केही कम सहयोग युरोपले पनि गरेको थियो । तर, अमेरिकाको तुलनामा युरोपेली देशसँग बलियो हतियार छैन । सन् २०११ मा युरोपको नेतृत्वमा लिबियामा आक्रमण भएको थियो । सो समयमा पनि टाढासम्म प्रहार गर्न सक्ने हतियार नभएका कारण अमेरिकी सहयोगको आवश्यकता परेको थियो ।
अहिले अमेरिका पनि नेटोको ‘आर्टिकल ५’ मा बाँधिएको छ । त्यसमा नेटोको कुनै सदस्य राष्ट्रमा हमला भएमा सबै राष्ट्रमा हमला भएको ठानिने प्रष्ट उल्लेख छ । रुस र अमेरिका दुवैले युक्रेनलाई नेटोको सदस्यता रोक्न चाहनुको कारण पनि यही हो । अन्य देशले युक्रेनको पक्षमा सेना उतारे पनि नेटोको सो बाध्यकारी धाराका कारण अमेरिका पनि बाँधिनेछ ।
प्रतिक्रिया