ट्रम्प–जेलेन्स्की चर्काचर्की : विश्व ध्रुवीकरणको ‘टर्निङ प्वाइन्ट’ बन्ने त्रास !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार खनिज सम्झौताका लागि भएको वार्तामा चर्काचर्की भएपछि सिंगो संसार अहिले २ ध्रुवमा विभाजित भएको छ । २० जनवरीमा दोस्रो कार्यकालका लागि ट्रम्प ह्वाइट हाउस प्रवेश गरेपछि उनले करिब ३ वर्षदेखि जारी रुस–युक्रेनबीचको युद्ध तत्काल अन्त्य गर्ने घोषणा गरेका थिए ।

२ साताअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन वार्ता गर्दै युद्धविरामको प्रस्ताव अघि बढाएका थिए । १७ फेब्रुअरीमा युक्रेनको अनुपस्थितिमै अमेरिका र रुसबीच साउदी अरेबियामा वार्ता भएको थियो । लगत्तै युरोपेली देशले शान्ति प्रक्रियामा आफ्नो भूमिकाको खोजी गर्दै युक्रेनको सुरक्षाको ग्यारेन्टीसमेत माग गरे ।

रुस–युक्रेन युद्धका कारण युरोप र अमेरिकाबीच दुरी बढिरहेको समयमा फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रो र बेलायती प्रधानमन्त्री केइर स्टेइमरको अमेरिका भ्रमण भएको थियो । अमेरिकाले युक्रेनको खनिज माग गर्दा यसलाई राष्ट्रपति जेलेन्स्कीले अस्वीकार गरेपछि ट्रम्पले ‘तानाशाही’को संज्ञा दिएका थिए । लगत्तैजसो जेलेन्स्की खनिज सम्झौतामा सकारात्मक हुँदै वार्ताका लागि शुक्रबार अमेरिका गएका थिए ।

शुक्रबारको भेटले युक्रेनको तत्कालै सुरक्षा सुनिश्चितता नगरे पनि भविष्यको हितका लागि उसको खनिजमा अमेरिकालाई वास्तविक हिस्सा दिने टुंगो लगाउने अपेक्षा गरिएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनलाई आफ्नो देशले गरिरहेको सहयोगका लागि कृतज्ञता देखाउन माग गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की विश्वभरिका सञ्चारमाध्यमकै अगाडि चर्काचर्कीमा उत्रिएका हुन् । त्यसमा अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले उनी ‘अनादरपूर्वक’ प्रस्तुत भएको प्रतिक्रिया दिए ।

उपराष्ट्रपति भान्सले ‘कूटनीतिक माध्यमबाट शान्ति र समृद्धिको बाटो खोज्न सकिने र ट्रम्पले त्यही गरिरहेको’ बताएपछि त्यही विन्दुबाट तनाव सुरु भएको थियो । जेलेन्स्कीले सन् २०१९ को असफल युद्धविरामको सन्दर्भ निकाल्दै पुटिनलाई लक्षित गर्दै भनेका थिए, ‘उनलाई कसैले रोकेन ।’

अमेरिकी उपराष्ट्रपतिले जेलेन्स्कीलाई आदरार्थी नभएको र अमेरिकी सञ्चारमाध्यमका अगाडि परिस्थितिबारे बहस चलाएको आरोप लगाए । भान्सले पुटिनसँग कुरा गरेर ट्रम्पले युद्ध अन्त्य गराउन अपनाएका शैलीको प्रतिरक्षा गरेका थिए । उनले युक्रेनलाई पनि तत्कालै युद्धविराम गर्न दबाब दिएपछि उनी र युक्रेनका राष्ट्रपतिबीच विवाद भयो ।

भान्सले युक्रेनले सामना गरिरहेको सैन्य अभाव र सेनामा भर्ती हुने मानिसहरूको अभावबारे कुरा उठाएपछि जेलेन्स्कीले त्यसमा प्रतिक्रिया दिँदै भनेका थिए, ‘युद्धको समयमा सबैलाई समस्या हुन्छ । तपाईँहरूलाई पनि हुन्छ । तर, तपाईँहरूसँग राम्रा समुद्रहरू भएका कारण त्यो अहिले महसुस गर्नुहुन्न । तर, भविष्यमा महसुस हुन्छ ।’ यो प्रतिक्रियाबाट आक्रोशित ट्रम्प वादविवादमा मिसिएका हुन् ।

ट्रम्पले यो युद्धलाई २ पक्षबीचको मात्रै भएको अर्थ लगाउँदै दुवै पक्षले त्यसको भार र क्षति बहन गर्नुपर्ने बताउने गरेका छन् । जेलेन्स्कीले यो सोचले विनाशकारी परिणाम ल्याउने चेतावनी दिइरहेका थिए । जेलेन्स्कीले ओभल अफिसमा ट्रम्पलाई भनिरहेका थिए, ‘रुसलाई खुसी पार, युद्ध सीधै तिमीतर्फ आउनेछ ।’

कुराकानीकै क्रममा ट्रम्प आवेशमा आएर युक्रेनमा जारी युद्ध अमेरिकी करदाताहरूमाथिको बोझका रूपमा व्याख्या गर्दै प्रस्तुत भए । ट्रम्पले भने, ‘तपाईँ एक्लो हुनुभएको छैन । हामीले तपाईँलाई ती मूर्ख राष्ट्रपति (जो बाइडेन) मार्फत् ३ खर्ब ५० अर्ब दिएका छौँ,’ बाइडेनकालमा युक्रेनलाई अमेरिकाले गरेको सहयोगप्रति संकेत गर्दै ट्रम्पले भने ।

भान्सले जेलेन्स्कीलाई गत नोभेम्बरमा भएको अमेरिकी निर्वाचनमा विपक्षी (डेमोक््रयाट) हरूलाई भोट मागेको आरोप लगाए । अमेरिकालाई धन्यवाद दिए÷नदिएको विषयमा भान्सको प्रश्नपछि जेलेन्स्कीले भनेका थिए, ‘के तपाईँलाई मात्रै यो युद्धबारे चर्को बोल्नुपर्छ भन्ने लागेको छ ?’ त्यसपछि ट्रम्पले युक्रेन ठुलो समस्यामा रहेको बताउँदै मनोवृत्तिमा परिवर्तन जरुरी भएको बताए । अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले जेलेन्स्कीलाई एउटा बिन्दुमा हप्काएपछि विवाद अझ बढेको हो । फेरि छलफल युद्धविरामतर्फ मोडिएको थियो । ट्रम्पले युद्धविरामका लागि पनि आग्रह गरेको भिडियोमा देखिन्छ ।

घटनापछि संसारका अन्य देशले जेलेन्स्कीको तारिफ गरे पनि युद्धले लिने दिशा र युद्धमा ट्रम्पसँगको खराब सम्बन्ध कालान्तरमा पुटिनसँगको हारको कारक बन्न सक्ने विश्लेषण गरिएको छ ।

घटनालगत्तै ट्रम्प ट्रुथ सोसलमा, जेलेन्स्की फक्स न्युजमा

घटनापछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले माफी माग्नुपर्ने आवाज अमेरिकी विदेशमन्त्री मार्क रुबियोले राखे पनि जेलेन्स्कीले यसलाई अस्वीकार गर्दै आफूले कुनै गल्ती नगरेको बताए । उनले युद्धमा गरेको सहयोगका कारण अमेरिकालाई धन्यवाद दिन भने फक्स न्युजसँगको अन्तर्वार्तामा समेत हिचकिचाएनन् ।

अमेरिकाबाट जेलेन्स्की आइतबार हुने युरोपेली नेताहरूको बैठकमा सहभागी हुन लन्डन प्रस्थान गरेका छन् । लन्डनको स्ट्यानसेड एअरपोर्टमा विमानवाट उत्रिनेवित्तिकै सामाजिक सञ्जालमार्फत् जेलेन्स्कीले विवादका बाबजुद अमेरिका र युक्रेन रणनीतिक पार्टनर भएको उल्लेख गरेका छन् ।

ट्रम्पले शुक्रबार नै पत्रकारहरूसँग खनिज वार्ता हुन सक्ने बताएका थिए । ट्रम्पले जेलेन्स्कीले शान्ति नचाहेको र तेस्रो विश्वयुद्धलाई प्रेरित गरेको आरोपसमेत लगाएका छन् । उनले सोसल मिडिया ‘ट्रुथ’मार्फत् जेलेन्स्की पुनः वार्तामा फर्किने विश्वाससमेत व्यक्त गरेका छन् ।

ट्रम्प–जेलेन्स्की चर्काचर्कीको विश्वव्यापी तरंग

ट्रम्प–जेलेन्स्की चर्काचर्कीलगत्तै संसारभरबाट प्रतिक्रिया आउने क्रम जारी छ । युरोपेली नेताहरूले यसै विषयमा सल्लाह गर्नका लागि आइतबार भेटघाट तय गरेका छन् । घटना लगत्तै नर्वेका प्रधानमन्त्री जोनस गास्टोरले ह्वाइट हाउसको घटनाले मुटुमै चोट परेको प्रतिक्रिया दिए ।

चेक गणतन्त्रका राष्ट्रपति पिटर पावेलले आफू जेलेन्स्कीको पक्षमा रहेको बताउँदै युरोपेली नेताहरूलाई थप केही गर्न आवश्यक रहेको बताएका छन् । मोल्दोभाका राष्ट्रपति माइसा सान्डुले पनि आफ्नो स्वतन्त्रताको पक्षमा उभिएको युक्रेनको पक्षमा रहँदै उसलाई साथ दिन आवश्यक रहेको बताएका छन् ।

यता, हंगेरीका प्रधानमन्त्री भिक्टर उर्बानले भने सामाजिक सञ्जालमा ट्रम्पको पक्षमा लेखेका छन्, ‘बलियो व्यक्ति शान्ति पक्षमा उभिँदा कमजोर नै युद्धको पक्षमा छ ।’ अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजलाई उद्धृत गर्दै अल जजिराले भनेको छ, ‘हामी लामो समयदेखि सँगै रहँदै आएको युक्रेनको पक्षमा छौँ । यो प्रजातान्त्रिक देश र भ्लादिमिर पुटिनको नेतृत्वमा रहेको तानाशाही सत्ताविरुद्धको लडाइँ हो ।’

पूर्वरुसी राष्ट्रपति भ्लादिमिर मेदभेदले ह्वाइट हाउसमा भएको घटनालाई ‘क्रूरता मञ्चन’को संज्ञा दिएका छन् । इटालीका उपप्रधानमन्त्री माटियो साल्भिनीले भने आफूलाई ट्रम्पको पक्षमा उभ्याएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एम फर पिस, स्टप दिस वार कम अन डोनाल्ड ट्रम्प ।’

जर्मनीमा चान्सलर बन्ने प्रबल सम्भावना रहेका फ्रेडरिच मर्जले आफू युक्रेनको पक्षमा रहने बताए । युद्धपीडित र आक्रमणकारीबीचको विभेद छुट्याउन गल्ती गर्न नहुने उनले बताए । लिथुवानियाका राष्ट्रपति टिनास साउसेडाले पनि सामाजिक सञ्जालमा युक्रेन एक्लो नभएको कुरा उल्लेख गरेका छन् ।

लात्भियाकी प्रधानमन्त्री इरिका सिलिनाले पनि आफ्नो देश युक्रेनको पक्षमा उभिने बताएकी छिन् । पोर्चुगलका प्रधानमन्त्री लुइस मानेन्टेनेग्रोले पनि पोर्चुगल सधैँ युक्रेनको साथमा रहने बताए ।

पछिल्लो समयमा बेलायत र इटालीको भने फरक भूमिका छ । बेलायतका प्रधानमन्त्री केइर स्टेइमरले घटनालगत्तै दुवै राष्ट्रपति ट्रम्प र जेलेन्स्कीसँग सम्पर्क गर्दै युक्रेनको सुरक्षा ग्यारेन्टीसहित युद्धविरामको बाटो खोज्न आवश्यक रहेको बिबिसीले उद्धृत गरेको छ । पछिल्लो समय ट्रम्पको निकटस्थ मानिएकी इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले पनि यो विभाजनले पश्चिमा देशहरूलाई कमजोर बनाउने प्रतिक्रिया दिइन् ।

घटनापछि जेलेन्स्कीले फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रो तथा युरोपेली काउन्सिलका प्रमुख एन्टेनियो कोस्टासँग ट्रम्पसँग भएको घटनाको जानकारी गराएका थिए । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रेडेउ पनि युक्रेनको पक्षमा उभिएका छन् ।

अमेरिकी नेता विभाजित, युक्रेन एकमत

घटनापछि अमेरिकाका १४ जना डेमोक्र्याट गभर्नरहरूले जेलेन्स्कीको पक्षमा आफूलाई उभ्याउँदै राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्स प्रजातान्त्रिक मूल्यभन्दा बाहिर गएको आरोप लगाए । कुनै पनि देशले आफ्नो सुरक्षाको माग राख्न पाउने बताउँदै जेलेन्स्कीसँगको वार्तामा रुसबाट सञ्चालित झैँ देखिएको उनीहरूको आरोप छ ।

युक्रेनी संसद्को वैदेशिक मामला समिति प्रमुख अलेक्जेन्डर मेरेज्कोलेले आफ्नो देशको राष्ट्रपतिलाई बहादुरको संज्ञा दिएका छन् । प्रतिपक्षी होलोस पार्टीकी सांसद इना सोभसुनले जेलेन्स्कीले आफ्नो राष्ट्रको पक्षमा बोलिरहँदा अमेरिकी समकक्षी ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले वातावरण उत्तेजित बनाएको आरोप लगाइन् । उनले युद्ध मच्चाउने र अर्को देशमाथि आक्रमण गर्ने रुसमाथि ट्रम्प र भान्स लचिलो भएको तथा पीडित पक्षप्रति नै आक्रमण र कठोर भएको आरोप लगाइन् । घटनापछि अमेरिकी राष्ट्रपति ट्रम्पले भने अझै पनि युद्धविरामको बाटो खुला भएको बताएका छन् ।

नेटोको भविष्य अन्योलमा

अमेरिका र युक्रेनबीचको सम्बन्धले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को भविष्य पनि अन्योलमा परेको छ । यसअघि नै अमेरिकी राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई तानाशाहीको आरोप लगाउनुका साथै युक्रेन नेटोको सदस्य हुनु व्यावहारिक नभएको आरोप लगाएका थिए । लगत्तै अमेरिकाको अन्य नेटो राष्ट्रहरूसँग सम्बन्ध बिग्रिएको थियो ।

नेपालले पाठ सिक्न जरुरी छ : रमेशनाथ पाण्डे, परराष्ट्रविद्

अमेरिकाले व्यापारिक लाभमुखी कूटनीतिको अभ्यास प्रचलनमा ल्याउन थालेको छ । भूगोलको अधिक उपयोग अथवा दुरुपयोग संवेदनशील भू–स्थापन भएको देशका लागि आत्मघाती हुन्छ भन्ने पाठ नेपालले सिक्नुपर्छ । परराष्ट्र मामला र कूटनीतिको अभ्यासमा हेलचेत्रक््रयाइँ गर्नु नोक्सानदायी हुन्छ भन्ने नेपालले सिक्नुपर्छ ।

छिमेकीसँगको सम्बन्ध बिगार्नु घातक हुने रहेछ : शंकर पोखरेल, एमाले महासचिव

हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ । छिमेकीसँगको सम्बन्ध बिग्रिँदा ठुला र शक्तिशाली देशले पनि दुःख पाउनु पर्दोरहेछ । छिमेकविरुद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदोरहेछ । रुस र युक्रेन दुवैका लागि युद्ध घाँडो भएको छ । तर, युद्ध अन्त्यका लागि उनीहरूले निकै ठुलो मूल्य चुकाउनुपर्ने अवस्था देखिँदै छ ।

प्रतिक्रिया