वासिङ्टन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका तथा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आफ्नो सम्बन्ध अझै सुधार गर्न सकिने बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प र आफूबीच शान्ति स्थापना गर्ने कुरामा चर्काचर्की भएपछि अमेरिकी टेलिभिजन फक्स न्यूजसँग बोल्दै युक्रेनी समकक्षी जेलेन्स्कीले यस्तो बताएका हुन् ।
फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पसँगको सम्बन्धलाई बचाउन सकिन्छ कि ? भनेर सोधिएको प्रश्नमा जेलेन्स्कीले भने, ‘पक्कै पनि ।’ अमेरिका र युक्रेनबीचको सम्बन्ध दुई राष्ट्रपतिभन्दा बढीका लागि रहेको बताउँदै उनले युक्रेनलाई रूसको ठूलो र राम्रो सशस्त्र सेनाविरुद्धको लडाइँमा वासिङ्टनको सहयोगको खाँचो रहेको बताए ।
जेलेन्स्कीले ट्रम्पको मन पर्ने समाचार च्यानल फक्ससँग भने, ‘अमेरिका र ट्रम्पको समर्थन बिना यो यात्रा पक्कै कठिन हुनेछ ।’ राष्ट्रपति ट्रम्पले शुक्रबार पत्रकारसँग कुरा गर्दै जेलेन्स्कीले बढी खेलिरहेको र तत्काल युद्ध अन्त्य गर्न सहमत हुनुपर्ने बताएका थिए ।
तपाईँ ट्रम्पसँग माफी माग्न चाहनुहुन्छ त ? भन्ने प्रश्नमा जेलेन्स्कीले अस्वीकार गर्दै फक्स न्यूजसँग भने, ‘हामीले केही नराम्रो गरेका छौँ भन्ने मलाई लाग्दैन ।’
यद्यपि उनले पत्रकारहरूको अगाडि विवादको विषयलाई धेरै आदानप्रदान नहोस् भन्ने आफूले चाहेको बताएका थिए । यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीएनएनसँगको कुराकानीमा जेलेन्स्कीलाई आफ्नो समय खेर फालेकोमा माफी माग्न आग्रह गरेका छन् ।
प्रतिक्रिया