ट्रम्पको कुरामा जेलेन्स्कीले असहमति जनाएपछि दुवै राष्ट्रपतिबीच भनाभन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भनाभन भएको छ । शुक्रबार ओभल अफिसमा भएको वार्तामा यी दुई राष्ट्रपतिबीच आ–आफ्ना अडान राख्ने क्रममा चर्काचर्की भएको हो । वार्ताका क्रममा दुवै राष्ट्रपतिले आफ्ना धारणा राख्ने क्रममा उनीहरुबीच भनाभनको अवस्था आएको हो ।

वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले भनेको कुरामा असहमति जनाएपछि आक्रोशित ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग भने, ‘तपाईंहरू या त सम्झौता गर्न तयार हुनुपर्छ, अमेरिका युक्रेनलाई सहयोग गर्ने बाटोबाट बाहिरिइसकेको छ ।’

रुसमा अचानक अमेरिकी पहुँचलाई लिएर तनाव कम गर्ने उद्देश्यले भएको बैठकले उनीहरुबीच भनाभनको अवस्था आएको हो । ‘तपाईं लाखौँ मानिसहरुको जीवनसँग जुवा खेल्दै हुनुहुन्छ, तपाईं तेस्रो विश्वयुद्ध निम्त्याउने जुवा खेल्दै हुनुहुन्छ र तपाईंले जे गरिरहनुभएको छ, त्यो यो देशप्रति अपमानजनक छ,’ ट्रम्पले भने ।

अमेरिकी राष्ट्रपति ट्रम्पले हालै आफ्ना युक्रेनी समकक्षीलाई तानाशाहको संज्ञा दिए पनि युक्रेनको खनिज सम्पदा बाँडफाँड गर्ने र रुससँग शान्ति सम्झौताबारे छलफल गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निमन्त्रणामा जेलेन्स्कीले ह्वाइट हाउसको भ्रमण गरेका हुन् ।

फ्रान्स र बेलायतका नेताहरू पनि ह्वाइट हाउसमा आएर ट्रम्पलाई किएभसँगको सहकार्य नछोड्न गरिएको आग्रहपछि यो बैठक भएको हो ।

यद्यपि, उपराष्ट्रपति जेडी भान्सले युद्ध अन्त्यका लागि कूटनीति आवश्यक रहेको बताएपछि आक्रोश चुलिएको थियो । भान्सको भनाइपछि जेलेन्स्कीले ‘कस्तो प्रकारको कूटनीति’ भनेर सोधेको र भान्सले त्यसपछि उनलाई राष्ट्रपतिको कार्यालयमा अपमानजनक भएको आरोप लगाएका थिए ।

विवादपछि निकै अपेक्षा गरिएको अमेरिका र युक्रेनबीच हुने भनिएको खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर भएन र जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति कार्यालयबाट बाहिरिन भनियो ।

राष्ट्रपतिको कार्यालयबाट बाहिरिएपछि फक्स न्यूजसँग कुरा गर्दै जेलेन्स्कीले आफू र ट्रम्पबीच हुन पुगेको विवाद दुवै पक्षका लागि ठीक नभएको प्रतिक्रिया दिए । सो क्रममा उनले पछिल्लो घटनापछि पनि दुई देशबीच सम्बन्ध अगाडि बढ्न सक्ने आफ्नो विश्वास रहेको बताएका छन् ।

वार्ताका क्रममा ट्रम्पले रुससँग लडाइँ गरेर युक्रेनले जित्न नसक्ने बताएको र जेलेन्स्कीले आफूले युद्धविराम चाहेको बताएको अमेरिकी राष्ट्रपतिको कार्यालय निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया