काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रियामा अंक तोडमोड गरिएको विषय सार्वजनिक भएको भन्दै विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति खोज तथा सिफारिस समितिको ध्यानाकर्षण गराएका छन् ।
काठमाडौँ विश्वविद्यालयका १३ जना पदाधिकारीले संयुक्त रूपमा पत्र पठाउँदै विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया विश्वसनीय तरिकाले यथाशीघ्र टुंग्याउन ध्यानाकर्षण गराएका हुन् । ‘उपकुलपति छनोट प्रक्रियामा सहभागी भई प्रस्तुति र अन्तर्वार्ता दिने उम्मेदवारहरूले पाएको अंकलाई तोडमोड गरिएको, प्रक्रिया सुरु भइसकेपछि नाम सिफारिसका लागि वस्तुपरक नदेखिने किसिम नयाँ सर्त अघि सारिँदा समितिमा अन्य सदस्यलाई अप्ठ्यारो परेको भन्ने विषयहरू सञ्चारमाध्याममा आइरहेका छन्,’ संयुक्त ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘यसलाई गलत सावित गरी समिति आफैँले स्वीकृत गरेको प्रक्रिया र मापदण्डमा आधारित भई ३ जनाको नाम यथाशीघ्र सिफारिस हुनेमा हामी सबै आशावादी छौँ ।’
उपकुलपति सिफारिसमा ढिलाइ हुँदा समितिको कार्यक्षमता एवं निष्पक्षतामाथि समेत प्रश्न उठ्न थालेकाले यो प्रक्रिया यथाशीघ्र टुंग्याउनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ । उपकुलपति छनोटका लागि बनाइएको कार्यविधि तथा मापदण्डका आधारमा ३ जनाको नाम कुलपतिसमक्ष सिफारिस हुने विश्वास पनि व्यक्त गरिएको छ ।
ध्यानाकर्षणपत्रमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बालचन्द्र लुइँटेल, एसोसिएट डिनद्वय प्रा.डा प्रकाशचन्द्र भट्टराई र प्रा.डा हेमराज काफ्ले, स्कुल अफ आर्टस्का कायममुकायम डिन एक्कुमाया पुन, एसोसिएट डिन डा. उद्धव प्याकुरेल, स्कुल अफ म्यानेजमेन्टका डिन प्रा.डा विजय केसी, एसोसिएट डिन डा खगेन्द्र आचार्यलगायतको हस्ताक्षर छ ।
त्यस्तै, स्कुल अफ मेडिकल साइन्सेज डिन प्रा.डा. मनोज हुमागाईं, स्कुल अफ साइन्सका कायममुकायम डिन प्रा.डा. उज्ज्वलमान जोशी, स्कुल अफ लका डिन प्रा.डा. ऋशिकेश वाग्ले, एसोसिएट डिन डा. शिवकुमार गिरी र स्कुल अफ इन्जिनियरिङका एसोसिएट डिनद्वय डा. श्यामसुन्दर खड्का र प्रा.डा. बालकृष्ण बलको हस्ताक्षर छ ।
उपकुलपति सिफारिसका लागि काठमाडौँ विश्वविद्यालय सभाले संस्थापक तथा पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिका सदस्यमा डा. अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल छन् ।
प्रतिक्रिया