अवैध आप्रवासी लखेटेका ट्रम्पले ५० लाख डलरमा नागरिकता बाँड्दै

काठमाडौँ । २० जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपल लिँदै गर्दा पूवराष्ट्रपति जो बाइडेनले अमेरिका अब कुलिनहरूका लागि मात्र हुने चिन्ता व्यक्त गरेका थिए । आफूले अघि सारेकी डेमोक््रयाट उम्मेदवार कमला ह्यारिस रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पसँग पराजित भएपछि बाइडेनले सो चिन्ता व्यक्त गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले यसपछिका ५ सातामा गरेका हरेक निर्णयले बाइडेनको आशंकालाई पुष्टि गरिरहेका छन् । ‘ग्रेट अमेरिका अगेन’को नारा अघि सारेका ट्रम्पले आप्रवासीलाई अमेरिकामा नराख्ने नीति लिएबाट सुरु भएको ट्रम्पको यो अभियान ‘गोल्डेन भिसा’ तथा ‘गोल्ड कार्ड’ सम्म पुगेको छ । राष्ट्रपति ट्रम्पले मंगलबार ५० लाख अमेरिकी डलर तिरेमा अमेरिकामा विदेशीलाई स्थायी बसोबासको अनुमति दिने तथा नागरिकताको प्रक्रिया समेत सुरु गर्ने बताएका छन् । यो भिसाले अहिले रहेको इबी–५ भिसालाई प्रतिस्थापन गर्ने अनुमान गरिएको छ । राष्ट्रपति ट्रम्पका वाणिज्यमन्त्री हवार्ड लुटिनिकले इबी–५ लाई ‘ननसेन्स’को संज्ञा दिइसकेका छन् ।

‘यो पैसासँग मात्र सरोकार छ,’ गोल्ड भिसाबारे राष्ट्रपति ट्रम्पले भने । वाणिज्यमन्त्री लुटिनिक यसरी रकम तिरेपछि अभूतपूर्व व्यक्ति भएको पुष्टि हुने र अमेरिकी नागरिक हुने योग्यता पूरा हुने बताउँछन् । उनले रुसलगायत सबै देशमा यस्ता राम्रा मानिसहरू भएका कारण उनीहरू अमेरिका आउन चाहेको बताउँछन् । यो नियम लागू गर्नकै लागि अवैध आप्रवासी हटाउने नीतिमा ट्रम्प अझ कठोर हुने अनुमान गरिएको छ । यसबारेमा अर्को २ साता ट्रम्प प्रशासनले थप जानकारी गराउने भएको छ ।

यस किसिमको भिसाको सुरुआत गर्ने अमेरिका पहिलो देश भने होइन । बेलायत, स्पेन र ग्रिसमा पनि गोल्डेन भिसाको प्रचलन छ । माल्टा, इजिप्ट र जोर्डनमा पनि गोल्डेन भिसाको प्रचलन छ । डोमिनिक गणतन्त्र र ग्रेनडालगायत क्यारेबियन देशमा पनि यो प्रचलन छ । यी देशमा २ लाखदेखि ३ लाख अमेरिकी डलरमा गोल्डेन भिसा प्रदान गरिन्छ ।

ब्लुमबर्गको दाबीअनुसार अवैध रकम लुकाउन गोल्डेन भिसामा प्रयोग गर्ने प्रचलन बढेपछि पछिल्लो समय बेलायत, नेदरल्यान्ड्स र ग्रिस यो निर्णयबाट बाहिर आएका हुन् । ट्रम्पको यो नीति पनि विवादरहित भने हुन नसक्ने आकलन गरिएको छ । उनी कंग्रेसलाई बेवास्ता गर्दै यो नीति लागू गर्न चाहन्छन् । ट्रम्प प्रशासनले गरेका कतिपय निर्णय विवादमा रहे । अवैध आप्रवासीलाई डिपोर्ट गर्ने नीतिअनुसार कतिपय देशका आप्रवासीलाई साङ्लोले बाँधेर उनीहरूको देशमा उतारिएको थियो ।

ट्रम्पले ग्वान्टान्माओको बन्दी गृहलाई बढाउने घोषणा पनि गरिसकेका छन् । अमेरिकामा सीमान्तकृत समुदायका लागि भन्दै गरिएको थुप्रै सहयोग रकम उनले अनुत्पादक भन्दै रोकेका छन् । रुस–युक्रेन युद्धको समयमा अमेरिकाले युक्रेनलाई गरेको सहयोगको हिसाब भन्दै अमेरिका–युक्रेन खनिज सम्झौताको नजिक पुगेका छन् ।

गोल्डेन भिसाअन्तर्गत ट्रम्पको लक्ष्य १० लाख जनालाई अमेरिका उतार्ने छ । १० लाख जना उतार्ने क्रममा इबी–५ भिसाको प्रावधान भने हटाइनेछ । इबी–५ ले रोजगारीको ग्यारेन्टी गरेको थियो । ५ साताको ट्रम्प प्रशासनको निर्णयले बाइडेनले लगाएको आरोप जस्तै कुलिनहरूको संसार बनाउँदै लगेको देखिएको छ ।

प्रतिक्रिया