‘उपलब्धि देखाऊ, नत्र जागिर माया मार’

सरकारी कर्मचारीलाई मस्कको इमेल

काठमाडौँ । एलन मस्क नेतृत्वको डिपार्टमन्ट अफ गभर्मन्ट इफिसेन्सी (डोग)ले इमेलमार्फत् अमेरिकाका सरकारी कर्मचारीहरूलाई गत साताका उपलब्धिहरू सूचीबद्ध गर्न वा राजीनामा दिन भनेपछि त्यहाँका सरकारी कर्मचारीहरू एलन मस्क र ट्रम्प प्रशासनप्रति आक्रोशित बनेका छन् ।

एलन मस्क नेतृत्वको डोगको चाहनामा अमेरिकाको अफिस अफ पर्सनल म्यानेजमेन्ट (ओपिएम) बाट उक्त इमेल पठाइएको बताइएको छ । इमेलमा कर्मचारीहरूलाई उनीहरूले गत साता गरेका कामको विवरण तथा उपलब्धिहरू सूचीबद्ध गर्न वा राजीनामा दिन भनिएको छ । इमेल पठाउनुअघि मस्कले ट्विट गर्दै गत साता उनीहरूले के गरे भन्ने बुझ्नका लागि कर्मचारीहरूले चाँडै इमेल पाउने र जबाफ नदिए त्यसलाई राजीनामाका रूपमा लिइने बताएका थिए ।

तर, शनिबार पठाइएको इमेलमा भने जबाफ नपठाउनुलाई राजीनामाको रूपमा लिने वा नलिने भन्नेबारे खुलाइएको छैन । बिबिसीका अनुसार उसले प्राप्त गरेको इमेलको प्रतिलिपिमा कर्मचारीहरूलाई ५ वटा बुँदामा गत साता कर्मचारीहरूले गरेका काम तथा उपलब्धि उल्लेख गर्न भनिएको छ । साथै, इमेलमा आगामी कदम के हुन्छ भन्ने निर्णय ट्रम्प प्रशासनका निकायहरूले निर्धारण गर्ने पनि स्पष्ट पारिएको छ ।

मस्कले सरकारी खर्च कटौतीका लागि आक्रामक रूपमा विभिन्न कोषहरूलाई निलम्बन गर्ने तथा कर्मचारीहरूलाई हटाउने प्रयास गर्दै आएका छन् । यसलाई पनि त्यसै प्रयासका रूपमा हेरिएको छ । उक्त इमेल पठाइएको अघिल्लो दिन ट्रम्पले एक सार्वजनिक कार्यक्रममा संघीय कर्मचारीहरूले गर्नुपर्ने जति काम नगरेको आरोप लगाउँदै कर्मचारीहरूले कार्यालयमा उपस्थित नभई काम गर्ने गरेको बताएका थिए । उनले भनेका थिए, ‘हामी संघीय जनशक्तिमा रहेका सबै अनावश्यक, अयोग्य र भ्रष्ट कर्मचारीहरूलाई हटाइरहेका छौँ । हामी सरकारलाई छरितो र प्रभावकारी बनाउन चाहन्छौँ र सबैभन्दा राम्रा मान्छे राख्न चाहन्छौँ ।’

इमेलको जबाफ नदिन कर्मचारी युनियनको आग्रह

अमेरिकाको सबैभन्दा ठुलो संघीय कर्मचारी युनियन ‘अमेरिकन फेडेरेसन अफ गभर्नमेन्ट इम्प्लोइज (एएफजिई) ले वक्तव्य जारी गर्दै कुनै पनि गैरकानुनी बर्खास्तीलाई चुनौती दिने प्रतिबद्धता जनाएको छ । संघीय कर्मचारीहरूको प्रतिनिधित्व गर्ने उक्त युनियनले मस्क र ट्रम्पको सो कदमलाई ‘क्रूर र अनादरपूर्ण’ भनेर आलोचना गरेको छ भने संघीय सेवाका कर्मचारीहरूलाई गैरकानुनी रूपमा हटाउने कदमविरुद्ध कानुनी उपचारमा जाने बताइसकेको छ ।

युनियनका अध्यक्ष एभरेट केलीले विज्ञप्तिमार्फत् भनेका छन्, ‘एक पटक फेरि एलन मस्क र ट्रम्प प्रशासनले संघीय कर्मचारीहरू र उनीहरूले अमेरिकी जनतालाई प्रदान गर्ने महत्वपूर्ण सेवालाई घोर अपहेलना गरेका छन् ।’ साथै, विभिन्न युनियनहरूले इमेलको जबाफ नदिन र थप निर्देशनको प्रतीक्षा गर्न सल्लाह दिएका छन् । आन्तरिक राजस्व सेवा, पेन्टागन र संघीय उड्डयन प्रशासनलगायत कैयौँ निकायबाट हालै मात्र हजारौँ सरकारी कर्मचारीलाई बर्खास्त गरिएको छ ।

प्रतिक्रिया