काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरीमा पदभार ग्रहण गरेलगत्तै गरेको मानिसको दुई लैंगिक पहिचान मात्र सत्य रहेको निर्णय र हस्ताक्षर अझै पनि चर्चाको शिखरमै छ । ट्रम्पले नै एलजिबिटिक्यू प्लस (फरक लैंगिक पहिचान भएकाहरू) को अस्तित्व नस्वीकारे पनि अमेरिकामा त्यस्ता व्यक्तिहरूको संख्या अहिलेसम्मकै बढी अर्थात् नेपालको कुल जनसंख्याकै हाराहारी रहेको पाइएको छ ।
राष्ट्रपति ट्रम्पले बेवास्ता गरेको यो जनसंख्याबारे बिहीबार सार्वजनिक ग्याल अप सर्वेक्षणलाई उद्धृत गर्दै सिएनएनले खुलासा गरेको हो । सर्वेक्षणअनुसार अमेरिकामा कुल जनसंख्याको ९ दशमलव ३ प्रतिशत (करिब ३ करोड) एलजिबिटिक्यू प्लस छन् ।
सन् २०२३ मा अनुमान गरिएभन्दा यो १ प्रतिशतको वृद्धि हो । ग्याल अपको दाबी अझ अचम्मलाग्दो छ । सन् १९९७ देखि २००६ को बीचमा जन्मिएका अर्थात् अहिले १८ देखि २७ वर्षका व्यक्तिहरूमध्ये २० प्रतिशतभन्दा बढी एलजिबिटिक्यू प्लसअन्तर्गत छन् । ग्याल अपकै अनुसार सन् २०२० मा यो उमेर समूहका एलजिबिटिक्यू प्लसको संख्या १८ दशमलव ८ प्रतिशत थियो । सन् २०२२ मा यो संख्या बढेर २२ दशमलव ७ प्रतिशत भएको हो । यसरी एलजिबिटिक्यू प्लसको संख्या बढिरहेको समयमा ट्रम्पको सो घोषणा उनकै लागि अप्ठ्यारो सावित पनि हुन सक्ने सर्वेक्षणको दाबी छ ।
एलजिबिटिक्यू प्लस युथका लागि आत्महत्या रोकथाम तथा संकट निवारण संगठनका प्रमुख जेम्स ब्ल्याक अमेरिकामा जुनसुकै कानुन बनेर रोक्न खोजे पनि विगतदेखिको क्रम यथावतै रहिरहने बताउँछन् । सन् २०२४ मा अमेरिकामा १४ हजार १०० जनासँग गरिएको फोन सर्वेक्षणका आधारमा सो रिपोर्ट तयार भएको हो । उसले फोन वार्तामार्फत् उमेर, स्थान र तथा जन्मका आधारमा रहेको लैंगिक पहिचानको सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा पुरुषको तुलनामा महिला बढी एलजिबिटिक्यू प्लस रहेको देखियो भने पछिल्लो समय महिलाहरू नै अर्को महिलातर्फ आकर्षित हुने क्रम बढिरहेको सर्वेक्षणको दाबी छ ।
यसैगरी स्नातक तह र मुनिका कक्षामा अध्ययन गरेका युवामा यो संख्या उस्तै देखिएको छ । राजनीतिक रूपमा भने ट्रम्पको दल रिपब्लिकन समर्थकमा डेमोक््रयाट समर्थकभन्दा एलजिबिटिक्यू प्लसको प्रभाव कम देखिएको छ । अहिले अमेरिकामा एलजिबिटिक्यू प्लससँग सम्बन्धित ३९० वटा विधेयक थाती छन् । यो सर्वेक्षणले कानुन निर्माणमा विधायकहरूलाई सहयोग गर्ने विश्वाससमेत गरिएको छ ।
ट्रम्पले गरेका थुप्रै घोषणालाई यस तथ्यांकले चुनौती दिएको छ । लिंग परिवर्तन गरेर महिला जेलमा रहनेहरूलाई प्रशासनिक आइसोलेसनमा राख्ने निर्णयसमेत ट्रम्पले गरेका थिए । ट्रम्पले ‘डाइभर्सिटी, इक्विलिटी र इन्क्लुसन (डिइआई)’ अन्तर्गतको परियोजनाका लागि सम्पूर्ण रकम रोक्का गर्दै सम्बद्ध कर्मचारीलाई बिदा दिइसकेका छन् ।
प्रतिक्रिया