प्यालेस्टिनी क्षेत्र । प्यालेस्टिनी लडाकूहरुले शनिबार दुई जना इजरायली बन्धकहरुलाई रिहा गरेका छन् । इजरायली सुरक्षा बलले शनिबार रिहा भएका ती व्यक्तिहरूलाई बुझी इजरायली भूमिमा फिर्ता गरेको इजरायली सेनाले जनाएको छ ।
गत जनवरी १९ बाट सुरु भएको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत बन्धकहरुलाई रिहा गरिएको हो । युद्धविरामको पहिलो चरणअन्तर्गत रिहाइका लागि योग्य अन्तिम जीवित बन्दीहरुमध्ये अन्य चार जनालाई पनि शनिबार नै रिहा गर्ने तयारी भइरहेको हमास निकट स्रोतले बताएको छ ।
लडाकूहरुले शनिबार रिहा भएका ताल सोहम र एवेरु मेन्गिस्टुलाई दक्षिणी गाजाको राफाको एक मञ्चमा लगेर सोहमलाई कालो पहिरनमा सजिएका सशस्त्र र नकाबपोश लडाकुहरुको उपस्थिति रहेको भेलालाई सम्बोधन गर्न लगाइयो भने त्यसपछि दुवै जनालाई रेडक्रसको जिम्मा लगाइएको थियो ।
प्यालेस्टिनी लडाकूहरुले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरेको अकल्पनीय आक्रमणका क्रममा दर्जनौँ बन्दीहरुलाई कब्जामा लिएका थिए । जसका कारण गाजा पट्टीमा १५ महिनाभन्दा बढी युद्ध भएको थियो ।
मध्य गाजामा शनिबार नै एक छुट्टै समारोहबीच अन्य चार जना बन्धकलाई रिहा गरिनेछ । हमासका एक स्रोतले एएफपीलाई बताए अनुसार इस्लामिक समूह हमासले मध्य गाजाको नुसिरातबाट चार जना बन्धकहरुलाई पनि शनिबार नै रिहा गर्नेछ ।
इजरायली अभियान समूह द होस्टेज एण्ड मिसिङ फेमिलीज फोरमले रिहा हुने ६ जना इजरायलीको नाम सार्वजनिक गरेको थियो । यो सूचीमा एलिया कोहेन, ओमेर शेम टोभ, ओमेर वेनकर्ट र हिशाम अल–सैयदका साथै मेन्गिस्तु र सोहम पनि थिए।
प्रतिक्रिया