काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेनेबिलिटी’ कार्यक्रममा वक्ताका रूपमा सहभागी हुन सभापति देउवा बिहीबार भारत जाने तयारी थियो । तर, भारतीय संस्थापन पक्षले ‘भाउ’ नदिँदा अन्तिम समयमा आएर देउवा रोकिएका छन् ।
शुक्रबार र शनिबार भारतको प्रयागराजमा हुने कार्यक्रममा उनलाई वक्ताका रूपमा आमन्त्रित गरिएको थियो । जानकारहरूका अनुसार देउवाले यसै मेसोमा भारतीय संस्थापन पक्षका नेताहरूलाई भेट्न चाहेका थिए । तर, उनको चाहनाले मूर्त रूप लिन नसकेपछि उनी कार्यक्रममै अनुपस्थित भएका छन् । सौर्य दैनिकसँग कुरा गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबारका लागि भारत जाने सभापति देउवाको कार्यक्रम स्थगित भएको जानकारी दिए ।
अचानक रोकिए देउवा
बिहीबार बिहानसम्म सभापति देउवा भारत जाने तयारीमै थिए । देउवा निकट स्रोतका अनुसार भारत जानका लागि आवश्यक बन्दोबस्ती सबै भइसकेको थियो । तर, अन्तिम समयमा आएर उनले आफू भारत नजाने सन्देश सुनाए । अचानक स्थगित गर्नुको कारण उनले खोलेका छैनन् । यद्यपि ती नेताका अनुसार भारतीय पक्षसँग कार्यक्रमको सन्दर्भ र उच्च राजनीतिक भेटघाटको सन्दर्भका बीच तारतम्य नमिलेका कारण भ्रमण स्थगित भएको हो ।
उनले भने, ‘स्वाभाविक रूपमा देशको पूर्वप्रधानमन्त्री तथा देशको ठुलो दलको सभापति जाँदा उच्च राजनीतिक भेटघाट गर्ने कुरा भइहाल्छ । सभापतिज्यूको भ्रमण रद्द हुनुमा भेटघाटको विषय नै नमिलेको हुन सक्छ ।’ स्रोतका अनुसार नेपालका लागि भारतीय दूतावासले समेत देउवालाई कार्यक्रममा नजान सुझाव दिएको थियो ।
‘सत्ता गठबन्धन’सँग बेखुस भारत
नेपालको राजनीतिक वृत्तमा देउवाको भारत प्रस्थान अचानक रोकिनुलाई निकै चासोका साथ हेरिएको छ । वर्तमान सत्ता गठबन्धन र सरकारलाई नै भारतले महत्व नदिएको भन्ने विश्लेषण भइरहेका बेला सत्तारुढ दलका नेता तथा भावी प्रधानमन्त्रीलाई समेत भारतीय संस्थापनले भेट नदिनुले उनीहरूले यो गठबन्धनलाई अझै पनि ‘स्वीकार’ नगरेको विश्लेषण भइरहेको छ ।
तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेको नेकपा (एमाले) र तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच गत असार १७ गते ७ बुँदे सहमति भएको थियो । सो सहमतिअनुसार सरकार गठनको मितिले २ वर्षसम्म अर्थात् २०८३ साल असार ३१ गतेसम्म एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् भने २०८३ साउनदेखि २०८४ सालको आमनिर्वाचनसम्म कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।
संसद्का २ ठुला राजनीतिक दलहरू कांग्रेस–एमालेको यो गठबन्धनप्रति भारत पहिलेदेखि नै असन्तुष्ट रहँदै आएको छ । उसले नेपाली कांग्रेसलाई एमालेसँग गठबन्धन नगर्न बारम्बार आग्रह गर्दा पनि कांग्रेसले नमानेको जानकारहरू बताउँछन् । यसर्थ यो गठबन्धनलाई भारतले अझै पनि मान्यता नदिएको हो ।
सौर्य दैनिकसँग कुरा गर्दै परराष्ट्रविद् निश्चलनाथ पाण्डेले नेपालले आफैँले आफैँलाई सस्तो बनाउनु नहुने बताए । आवश्यकता भएमा भ्रमणका लागि बोलाउने र भ्रमण हुने उनको भनाइ छ । उनले भने, ‘हामीले आफैँले आफैँलाई सस्तो बनाउनुहुन्न । आवश्यकता भयो भने भ्रमण हुने, बोलाउने भइहाल्छ ।’
प्रधानमन्त्री ओलीलाई अझै आएन भारत भ्रमणको निम्तो
गत असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले अहिलेसम्म भारत भ्रमणको निम्तो पाएका छैनन् । खास गरी नेपालमा प्रधानमन्त्री नियुक्त हुनासाथ भारत सरकारको पहिलो बधाईसँगै भारत भ्रमणको निम्तो आउने परम्परा छ । अपवादबाहेक नेपालका प्रधानमन्त्रीहरूको पहिलो विदेश भ्रमण भारतकै हुने गरेको छ । तर, ओली नेतृत्वको सरकारको अहिलेसम्म भारत भ्रमण हुन सकेको छैन ।
प्रधानमन्त्री ओलीले पहिलो विदेश भ्रमणका रूपमा चीन भ्रमण गरिसकेका छन् । उनले गत मंसिर १७ गतेदेखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गरिसकेका छन् । यद्यपि, परराष्ट्रमन्त्री आरजु राणा देउवाले गत भदौ २ गतेदेखि ६ गतेसम्म भारतको औपचारिक भ्रमण गरेकी थिइन् । उनले भारतीय समकक्षी एस जयशंकर तथा प्रधानमन्त्री नरेन्द्र मोदी लगायतलाई भेट गरेकी थिइन् । उनलाई भारत सरकारले ‘प्रधानमन्त्री सरह’ को सम्मान दिएको थियो । परराष्ट्रमन्त्री देउवालाई भारतले प्रधानमन्त्रीसरहकै सम्मान दिएर ओलीलाई भ्रमणमै नबोलाउने नीति लिएको भनी उतिबेला कूटनीतिक क्षेत्रमा चर्चा, परिचर्चा भएको थियो ।
त्यसपछि पनि प्रधानमन्त्री ओलीलाई भारत भ्रमण गराउनका लागि नेपालको तर्फबाट औपचारिक, अनौपचारिक माध्यमबाट वार्ता भइरहे पनि हालसम्म भारतले चासो देखाएको छैन । भारत भ्रमणको बारेमा प्रधानमन्त्री ओलीलाई अझै पनि सार्वजनिक रूपमा प्रश्नहरू सोधिने गरेका छन् । विगतमा समय आएपछि भारतको पनि भ्रमण हुने भनेर जबाफ दिने उनले अहिले भने भारत भ्रमणको प्रसंग आउँदा सुनेको नसुनेझैँ गरेर तर्किने गरेका छन् । यसबाट प्रधानमन्त्री ओली पनि अब भारत भ्रमणको प्रयत्न गर्न थाकेको बुझ्न सकिन्छ ।
भारतीय आशीर्वादको प्रतीक्षामा देउवा
सभापति देउवा वर्तमान सत्ता गठबन्धनप्रति भारतीय सदासयता नरहेको कुरामा प्रष्ट छन् । उनले भारतीय पक्षलाई आफूले बाध्यतावश ओलीलाई प्रधानमन्त्री बनाउनुपरेको कुरा बताउने गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अस्थिर स्वभावका कारण आफू वाक्कदिक्क भएको भन्दै उनले पार्टी र देशको आन्तरिक राजनीतिका कारण अहिलेको गठबन्धन नै कांग्रेसका लागि उपयुक्त भएको भन्दै ब्रिफिङ गर्ने गरेका छन् ।
यही गठबन्धनबाटै २०८३ साउनसम्ममा आफू प्रधानमन्त्री बन्नेमा विश्वस्त रहेका देउवाले त्यसबेलासम्ममा भारतलाई आफ्नो र गठबन्धनको पक्षमा पार्ने कसरत स्वाभाविक रूपमा गरिरहेकै छन् । सत्ताको खेलमा ‘दक्षिणको अशीर्वाद’ को शक्तिबारे राम्रो जानकारी भएका देउवा त्यो शक्ति आफूतिर पार्न प्रयासरत छन् ।
प्रतिक्रिया