काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई ‘तानाशाह’को संज्ञा दिएपछि वैश्विक राजनीतिमा रुस–युक्रेन विवादको विषयले नयाँ मोड लिएको छ । ट्रम्पकोे उक्त अभिव्यक्तिले अहिले अर्को बहस छेडेको छ ।
युक्रेनको अनुपस्थितिमा रुसी प्रतिनिधिमण्डल र अमेरिकी प्रतिनिधिमण्डलबीच युद्धविरामका लागि साउदी अरेबियामा केही दिनअघि वार्ता भएको थियो । वार्तापछि ट्रम्पले जेलेन्स्कीबारे उक्त अभिव्यक्ति दिएका हुन् । जेलेन्स्कीले रुसविरूद्ध कहिल्यै जित्न नसक्ने युद्ध लडेको र त्यसका लागि खर्च गर्ने भनेर अमेरिकासँग ३५० अर्ब डलर मागेको भनेर जेलेन्स्कीलाई मामुली कमेडियनको संज्ञा दिँदै ट्रम्पले भनेका छन्, ‘मलाई युक्रेन मन पर्छ । तर, जेलेन्स्कीले भयानक काम गर्दा त्यो देश चकनाचुर भएको छ ।’
यसका साथै रुसविरूद्धको युद्धमा अमेरिकाले युरोपेलीहरूले भन्दा २०० अर्ब डलर बढी खर्च गरेको दाबी ट्रम्पको छ । अमेरिकाले गरेको उक्त लगानी निरर्थक रहेको टिप्पणी ट्रम्पको छ । उनले भनेका छन् ‘युरोपेली मुलुकहरूले उनीहरूले गरेको खर्चको भरपाई पाउँछन्, तर अमेरिकाले केही पाउँदैन ।’
यसअघि बुधबार जेलेन्स्कीले ‘रुसले सञ्चालन गरेको झुटको संसारमा अमेरिकी राष्ट्रपति रमाएको’ अभिव्यक्ति दिएका थिए । त्यसको १ घन्टापछि नै अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमार्फत् जेलेन्स्कीलाई ‘तानाशाह’को संज्ञा दिएका हुन् ।
ट्रम्पको उक्त अभिव्यक्ति कतै न कतै ट्रम्पकै (अमेरिका) स्वार्थले अभिप्रेरित देखिन्छ । यसअघि ट्रम्पले युक्रेनमा रहेको दुर्लभ खनिजहरूमा आफ्नो पहुँच हुनुपर्ने प्रस्ताव राखेका थिए । तर, ट्रम्पको उक्त प्रस्ताव युक्रेनले खारेज ग¥यो । जेलेन्स्कीले भनेका थिए, ‘म मेरो देश बेच्न सक्दिनँ ।’ त्यसपछि ट्रम्पले जेलेन्स्कीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्दै उक्त अभिव्यक्ति दिएका हुन् ।
गत साता रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० मिनेट लामो फोन संवादपछि साउदी अरेबियामा २ देशका विदेशमन्त्रीबीच वार्ता भएको थियो । पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनको नेतृत्वमा अमेरिका युक्रेनको सबैभन्दा ठुलो सहयोगी थियो । विकसित घटनाक्रमले ट्रम्प प्रशासनले बिनासर्त युक्रेनलाई सहयोग पठाउने कुनै सम्भावना नरहेको जनाइसकेको छ ।
ट्रम्पले त्यसपछि बिनानिर्वाचन सैन्य शासनको आडमा जेलेन्स्की सत्तामा रहेको बताउँदै उनको वैधानिकतामाथि नै प्रश्न उठाएका थिए । जेलेन्स्की सन् २०१९ मा भएको निर्वाचनको दोस्रो चरणमा ७३ प्रतिशत मत पाउँदै विजयी भएका थिए । मे २०, २०२४ मा राष्ट्रपति जेलेन्स्कीको कार्यकाल सकिए पनि युक्रेनमा अहिले सैन्य शासन छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अहिले युद्धविरामको कार्ड रुससँग रहेको र मस्कोले युक्रेनको धेरै भूभाग लिएका कारण युद्ध रुसको चाहनाले मात्र रोकिने बताएका छन् ।
बेलायतलगायत यूरोपेली देशको विरोध
ट्रम्पको उक्त अभिव्यक्तिप्रति बेलायती प्रधानमन्त्री केइर स्टेइमरले प्रतिक्रिया जनाउँदै युक्रेनको पक्षमा आफ्नो मत व्यक्त गरेका छन् । उनले जेलेन्स्कीको व्यक्तिगत चाहनाभन्दा पनि त्यहाँ जारी युद्धका कारण युक्रेनमा निर्वाचन हुन नसकेको बताए । स्टेइमरले जेलेन्स्कीसँगको फोन वार्तामा सहयोग गर्न तयार रहेको समेत उल्लेख गरेका छन् ।
त्यस्तै, स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसन तथा जर्मन चान्सलर ओलाफ स्कोल्जले पनि ट्रम्पको उक्त अभिव्यक्तिको खण्डन गरेका छन् । उनीहरूले ट्रम्पको अभिव्यक्तिलाई डरलाग्दो र गलत भनेका छन् । ट्रम्पको पहिलो कार्यकालका उपराष्ट्रपति माइक पेन्सले समेत सो अभिव्यक्तिको विरोध गरेका छन् ।
युद्धविरामका लागि वार्ता चलिरहँदा बेलायतले युक्रेन–रुस सीमामा आफ्नो सेना पठाउन तयार भएको समेत बताइसकेको छ । रुसले भने बेलायतको उक्त प्रस्तावलाई ठाडै अस्वीकार गरेको छ । बेलायतका लागि रुसी राजदूतले त आफूले कब्जा गरेको कुनै पनि भूमि युक्रेनलाई फिर्ता नगर्ने बताएका छन् ।
प्रतिक्रिया