अहिले बच्चा नभएर उपचार गर्नेको संख्या बढ्दो छ । बच्चा नहुनुमा ढिला बिहे गर्नुको कारण पनि एक हो । जलवायु परिर्वतनले भएका प्रभाव त्यसले मौसम र हाम्रो वातावरणमा पार्ने प्रभावले हाम्रो जीवन र आउने जीवनमा प्रभाव पारेको छ ।
जलवायु परिवर्तनका कारण महिला र पुरुष दुवैको प्रजनन क्षमतामा असर पुर्याउन थालेको छ । पृथ्वीको बढ्दो तामक्रमका कारण पुरुषको शुक्रकीट बन्ने प्रक्रियामा असर पुर्याउँछ । शुक्रकीट बन्ने पुरुष रहेको ठाउँको तापक्रम ३२ देखि ३३ डिग्री सेल्सियस हुनुपर्छ । त्यस्तो स्थानमा अण्डाशयमा शुक्रकीट बन्छ । तर, मौसम परिवर्तनले गर्मी बढेसँगै शुक्रकीट बन्ने क्रम कम हुन्छ । जस्तो, खाडीमा काम गर्ने पुरुषहरूमा शुक्रकीट घटेर आउँछ । त्यसको कारण हो त्यहाँको तापक्रम ५४ डिग्रीसम्म हुनु । त्यति धेरै तापक्रममा शुक्रकीट बन्न सक्दैन । बने पनि गुणस्तरको हुँदैन र सक्रिय पनि हुँदैन । यसले प्रजनन प्रणालीमा असर पुर्याउँछ ।
मौसममा आएको बद्लावले तापक्रम घटबढ हुने गरेको छ । पछिल्लो समय निरन्तर तापक्रम बढेको छ । यसले पनि शुक्रकीट बन्ने प्रक्रियामा असर गर्छ । अर्को कुरा, हावामा अक्सिजनको मात्रा पनि घट्दो छ । त्यसले पनि शुक्रकीटको उत्पादनमा असर गर्छ ।
मौसम परिर्वतन भएकै कारणले चाहिँ वर्षा हुने प्रक्रिया फरक छ । हिँउ पर्ने प्रक्रिया पनि फरक हुँदै गएको छ । यी सबै कारणले तापक्रम पनि अलग प्रकारले बढ्दै गएको छ । यसले पनि मान्छेको समग्र स्वास्थ्य जीवनमा फरक पार्छ । जस्तै पुरुषको शुक्रकीट बन्नका लागि ३ महिना लाग्छ । बन्न सुरु गरेको ३ महिनामा बल्ल शुक्रकीट परिपक्व भएर निस्कन्छ । त्यसका लागि मौसम, खानपीनको प्रभाव यसमा पर्छ ।
पुरुषहरूमा जुन गतिमा बच्चा ढीलो हुने समस्या देखिनु वा हुँदै नहुने डर बढेर गएको छ । यो अहिले निकै नै समस्या भएर गएको छ । यो प्रक्रिया पुरुषसँगै महिलामा पनि बढेर गएको छ । जस्तो छोरीहरूलाई होस्टलमा राख्यो भने उनीहरूको महिनावारी हुने प्रक्रिया गडबड हुन्छ । त्यो मनोविज्ञानका कारण हो । सोचाइका कारण, तनावजस्ता कारणले पनि त्यस्तो हुन्छ ।
अहिले चाहिँ मौसम पहिलाको भन्दा तापक्रम, हावा पानी फरक छ । वनस्पति, मान्छे, जनावरलाई चाहिने वातावरण अहिले मौसम परिवर्तनका कारण परिवर्तन भएको छ । पहिला जस्तो पाउँथ्यौँ, अहिले त्यो छैन । त्यस कारण अण्डाशयमा फुल बन्ने प्रक्रियामा गडबड हुने गरेको छ । फुल बनिहाल्यो भने पनि त्यसको गुणस्तर राम्रो हुँदैन । जुन जतिमा फुल बन्नु पर्ने हो, बनिसक्नु पर्ने हो त्यसमा पनि असर पर्ने गरको छ ।
अर्कोतर्फ जिवाश्म इन्धनको अत्यधिक प्रयोगले हावामा सिसाको मात्रा बढ्दै गएको छ । कार्बन मोनोअक्साइन जस्तो घातक ग्याँसको मात्रा बढेर गएको छ । फेरिडिकल पनि बढेको छ । जसले पानी, हावामा भएको कणहरू त्यसको मात्रा पनि परिवर्तन भएको छ । यसले गर्दा पनि महिलाको गर्भाशयमा फुल बन्ने प्रक्रियामा असर पर्छ । अर्को कुरा, फुल मात्रै बनेर भएन । फालिनपीन ट्युबहरू बन्द हुने सम्भावना बढी हुन्छ । संक्रमणको सम्भावना पनि यसले बढी हुन्छ । बढ्दो तापक्रम, अप्रत्यासित चिसो, जस्ता मौसममा आएको बद्लावले संक्रमणको सम्भावना पनि बढेको हो । अहिले कुनै पनि मौसम पहिलाजस्तो छैन । त्यसले समग्र मानव जीवनलाई प्रभाव पारेको छ ।
पहिला सहजै पाइने प्रांगारिक चिज अहिले पाइँदैन । ती सबैमा परिवर्तन भएको छ । हामीले प्रयोग गर्ने अर्गानिक चिज निमिट्यान्न भएर गएका छन् । त्यसले गर्दाचाहिँ पाठेघरभित्र हुने ब्याक्टेरियाहरूको संख्यामा पनि परिवर्तन आएको छ । त्यसले गर्दा पनि आमाको पेटमा बच्चा हुर्किने कुरामा असर पुर्याउन थालेको छ ।
अर्को कुरा, पाठेघरभित्र प्रवेश गरेको शुक्रकीट पाठेघरमा टाँसिनुपर्ने हुन्छ । अहिले विभिन्न प्रकारका संक्रमणका कारण यो टाँसिने प्रक्रिया पनि फरक परेको छ । पहिलाचाहिँ धेरैजसो क्षयरोग ९टिबी०का कारण हुन्थ्यो, अहिले टिबीको मात्रा त कम भएर गयो तर मौसम परिवर्तनका कारण ब्याक्टेरिया, भाइरसहरू, क्याइमेडिया भन्ने भाइरसको जीवाणु, किटाणु आदिको संक्रमणचाहिँ बढेर गएको छ । त्यसले पाठेघरभित्र शुक्रकीट टाँसिएर बस्ने क्रममा कमी भएको छ । यी कारणहरूले गर्दा पनि पछिल्लो समय प्रजनन दरमा फरक परेको छ । प्रजनन् स्वास्थ्य भन्नाले प्रसूतिको मात्रै कुरा हुँदैन । यसका पछाडि धेरै कारण र प्रभाव छन् । जसलाई समग्र रूपमा वैश्विक तापक्रम वृद्धिले प्रभाव पारेको छ ।
यस्तै गरी संक्रमणको पनि कुरा छ । पछिल्लो समय संक्रमणको दर बढेर गएको छ । हावा, पानी, खानेकुरामा भएको विषाणुले समग्र मान्छेको स्वास्थ्यमा त असर पारेको छ नै, मान्छेको सोचाइमा पनि असर पारेको छ । महिलाको महिनावारीमा असर गरेको छ । फुल बन्ने प्रक्रियामा असर गरेको छ । फुल त बन्यो, गर्भाधान पनि भयो । तर, गर्भपतनको सम्भावना उत्तिकै बढी हुने गरेको छ यस्तो अवस्थामा । यो सबै जलवायु परिर्वतनका कारण हुने असर हो । त्यस बाहेक हामीले खाने खानामा पनि मौसम परिर्वतनका कारण गुणस्तरमा फरक परेको छ । यसलाई मल्टिफ्याक्टर असर भनिन्छ । यस्ता कुरामा एकै तरिकाबाट मात्रै आक्रमण गर्दैन । विभिन्न किसिमले विभिन्न तरिकाबाट असर पारिरहेको हुन्छ । मौसमले चाहिँ हावा, पानी, जीवाणुमा असर पार्ने हुनाले प्रजनन स्वास्थ्यमा पनि यसले असर गरेको छ ।
पहिला महिला गर्भवती भएर प्रसूति हुने समय ४० हप्तासम्म पनि पाठेघरमा बच्चा खेल्ने पानीको मात्रा राम्रो हुन्थ्यो । बच्चालाई चाहिने पानी पाउँथे । तर, अहिले त्यो दर घटेको छ । ४० हप्ता हुँदा पानीको मात्रा एकदम नै घटेर गएको हुन्छ । त्यसले गर्दा पनि जीवित बच्चा पाउने क्रममा पनि त्यसले असर गरिरहेको छ । यसको कारण पनि जलवायु परिर्वनका कारण वातावरणमा परेको बहुपक्षीय असर नै हो ।
मान्छेले सोच्दा मौसम परिवर्तनले हिमालहरू नांगा भए, काला भए मात्रै भनेका छौँ । कुरा त्यति मात्रै होइन, मौसम परिवर्तन र जलवायु परिवर्तनका कारण हिमाल मात्रै होइन, हाम्रो शरीर पनि हरेक किसिमले नांगा भएका छन् । यसले हाम्रो जीवनचक्रमा पनि असर पारेको छ । त्यो कुरा हामीले ख्याल गरेका छैनौँ । त्यसलाई हामी कतिले बुझेका छौँ वा छैनौँ त्यो आफ्नै ठाउँमा छ । यसमा पनि ध्यान जानुपर्छ ।
मौसमका कारण हाम्रो खानपानमा परिवर्तन भएको छ । अहिले हामी अर्गानिक खाना खान पाउँदैनौँ । उत्पादन नै हुन छाडेपछि कसरी खान पाउने त १ किरा मार्ने नाममा अर्गानिक उत्पादन नै हुन छाडेको छ । हामीले अहिले खाने खाना मिश्रित छ । त्यसमा विषादी हुन सक्छ । जीवाणु हुनसक्छ । केमिकल हुनसक्छ । त्यस्ता खानेकुराले पनि असर गरेको छ । त्यसका कारण पनि मान्छेको प्रजनन क्षमतामा ह्रास आएको छ । यी सबै कारणले अहिले बच्चा नभएर उपचार गर्नेको संख्या बढ्दो छ । बच्चा नहुनमा ढिला बिहे गर्नुको कारण पनि एक हो । तर, त्यो मात्रै कारण होइन, मौसममा आएको बदलाव र गडबडी प्रमुख कारण छ । जलवायु परिर्वतनले भएका प्रभाव त्यसले मौसम र हाम्रो वातावरणमा पार्ने प्रभावले हाम्रो जीवन र आउने जीवनमा प्रभाव पारेको छ । यो समग्र मानव जातिकै लागि समस्या बनेको छ ।
(प्रसूति तथा स्त्रीरोग विज्ञ प्राडा जागेश्वर गौतमसँगको कुराकानी ।)
प्रतिक्रिया