काठमाडौँ । केही समयका लागि मत्थर भएको ऊर्जामन्त्री र कुलमान घिसिङबीचको विवाद फेरि सतहमा आएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सेलाइसकेको यो विषयलाई फेरि उठान गरेका छन् ।
डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादबाट सुरु भएको मन्त्री खड्का र घिसिङबीचको टकराव सेलाउनै लाग्दा फेरि विवाद बढाउने काम मन्त्री खड्का स्वयंले गरेका हुन् । मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अराजक गतिविधि सरकारले हेरेर नबस्ने टिप्पणी गर्दै घिसिङले सरकारलाई नटेर्ने र सञ्चालक समितिका निर्णयहरू कार्यान्वयन नगर्ने गरेको आरोप लगाए । मन्त्री खड्काले घिसिङप्रति लक्षित गर्दै कुलमान आएपछि लोडसेडिङ मुक्त नएको दाबी गर्दै पहिले नै ट्रान्समिसन लाइन बनेका कारण भारतबाट विद्युत् आयात गरिएकाले लोडसेडिङ अन्त्य भएको बताए ।
प्रतिनिधिसभा बैठकमा बोल्दै खड्काले भने, ‘प्राधिकरणको सञ्चालक समितिले निर्णय गर्छ, उहाँ कार्यान्वयन गर्नुहुन्न, सरकारलाई टेर्नुहुन्न । यस्तो अराजक गतविधिलाई सरकारले सधैँ हेरेर बस्नुहुँदैन । लगाम लगाउनुपर्छ ।’ उनले कुलमानले राम्रो काम गरेको भए विश्लेषण गरेर पुरस्कार गर्न सकिने भए पनि देवता मान्न नहुने बताए । साथै, खड्काले विद्युत्को क्षेत्रमा शतप्रतिशत लगानी सरकारकै भएको उल्लेख गर्दै नेपाल सरकारको एक कर्मचारीको विषयलाई लिएर तथ्यहीन कुरा नगर्न सबैमा आग्रहसमेत गरेका छन् ।
त्यस्तै, जगदुल्ला जलविद्युत् आयोजनाबारे आफूलाई लगाएको आरोप पुष्टि गर्न चुनौती दिँदै खड्काले उक्त आरोप प्रमाणित गरे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको झोला बोक्न तयार भएको बताए । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले पूर्वप्रधानमन्त्री प्रचण्डले सदनबाटै आरोप लगाएको भन्दै आपत्ति जनाए । उनले भने, ‘यो प्रमाणित गर्दिनुभयो भने म दास बनेर उहाँको पछाडि खुरुखुरु झोला बोकेर हिँड्छु ।’ सांसदहरूले पनि राजीनामाको माग गरेकामा आपत्ति जनाउँदै उनले प्रमाणित गर्न चुनौती दिँदै यदि प्रमाणित भए मन्त्रीबाट मात्रै नभएर सांसद पद नै त्याग्ने बताए ।
प्रतिक्रिया