रुस–अमेरिका वार्तापछि युक्रेन मनाउन अमेरिकी दूत किभ जाने

किभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका रुस र युक्रेनका दूत केइथ केलुग बिहीबार युक्रेन भ्रमणमा जाने जनाइएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले २० फेब्रुअरीमा केलोग युक्रेन आउने अपेक्षा गरेका हुन् । उनले केलोगलाई युद्धको फ्रन्ट लाइन भ्रमण गराउने योजना बनाएका छन् ।

जेलेन्सकीले वार्ताका लागि युरोपेलीको पनि भूमिका हुन सक्ने बताएका छन् । ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फोन वार्ता गरेपछि जेलेन्सकीले युक्रेनबिना भएको युद्धविराम वार्ता स्वीकार्य नहुने बताइसकेका छन् ।

जेलेन्सकीको यो प्रतिक्रिया सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्पले दूतको युक्रेन भ्रमण तय गरेको बताइएको छ ।
मंगलबार नै साउदी अरेबियामा अमेरिकी र रुसी अधिकारीकाबीच युद्ध विरामका लागि वार्ता भएको छ । युक्रेनी राष्ट्रपति जेलेन्सकीले सो वार्ताका बारे आफूहरूलाई कुनै जानकारी नभएको बताए । अमेरिकी विदेश मन्त्री मार्क रुबियो तथा रुसी विदेश मन्त्री सर्जी लाबरोभ वार्तामा सहभागी थिए । अमेरिकाको तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्व दूत स्टिभ विकोफ सहभागी थिए । रुसको तर्फबाट राष्ट्रपतिका निकटस्थ युरी उसाकोभ र वेल्थ फन्ड प्रमुख किरिल डिमिट्रिभ उपस्थित थिए ।

थुप्रै विज्ञहरूले अमेरिका र रुसको सो वार्तामा युक्रेन नरहनुको मतलब रुसले चाहे अनुसारको सहमति हुन सक्ने बताएको छ । युक्रेनी राष्ट्रपति भालोडिमर जेलेन्सकीले युक्रेनमा रहेका खनिजहरूको सुरक्षाको ग्यारेन्टी गर्न सकेमा सहमति पत्रमा हस्ताक्षर गर्ने जनाएका छन् । रुसले पनि अमेरिकासँगको वार्ताको क्रममा युक्रेन युरापेली युनियनमा आवद्ध हुने कुरामा आफ्नो असहमत नभएको जनाएका छन् । तर सैन्य गठबन्धन मात्र आफ्नो सरोकारको विषय भएको रुसले जनाएको छ ।

बेलायती रक्षामन्त्री जाने हेलीले भने अहिले भइरहेको युद्धविरामको प्रयासलाई ‘चुनौतीको नयाँ अध्ययाको सुरुआत’को संज्ञा दिएका छन् । उनले यी चुनौतीहरूको सामना गर्न फरक प्रयासको पनि आवश्यकता रहेको बताए ।

अमेरिका र रुसको यो प्रयासले नयाँ तरंग ल्याएको छ । चीनले पनि २ देशको कारण मात्र हुने युद्धविराम सही हुन नसक्ने धारणा राखेको छ । चीनले युक्रेन र युरोपेली पनि यस युद्धमा सरिक भएका कारण वार्तामा सहभागी हुन आवश्यक रहेको जनाएको हो ।

यसरी वार्ता भइरहेको समयमा पनि रुसले आक्रमण गर्न भने छाडेको छैन । युक्रेनको हवाइ सेनाको अनुसार रुसले रातभरी ड्रोन प्रहार गरेको थियो ।
पछिल्लो समय विश्व राजनीतिमा साउदी अरेबियाको चासो र उपस्थिति बढी नै रहेको छ । यसअघि अमेरिकी राष्ट्रपती जो बाइडेनको कार्यकालमा पनि साउदी अरेबियाले विभिन्न किसिमका वार्ता र सहकार्यमा चासो दिएको छ । मध्यपूर्वमा शान्ति स्थापनामा पनि चासो दिने साउदी अरेबियाले अमेरिकामा डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि पनि वार्ताको आयोजना गरेको छ । यसै वार्तामार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो प्रभाव बिस्तार गर्ने साउदी योजना रहेको धेरैको मत छ ।

प्रतिक्रिया