एआई नीति सुधारका लागि क्यान महासंघले बुझायो सुझाव

काठमाडौँ । नेपालमा पहिलोपटक बन्न लागेको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीतिका लागि कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्ना महत्वपूर्ण सुझावसहितको अवधारणापत्र सरकारलाई बुझाएको छ । आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटी महासंघको प्रतिनिधिमण्डलले उक्त अवधारणापत्र बुझाएको हो ।

‘नेपालमा एआईको प्रयोग र अभ्यास’ शीर्षकको अवधारणापत्र महासंघका एआई संयोजक तथा उपाध्यक्ष चिरञ्जीवी अधिकारी, प्राडा सुदन झा, अधिवक्ता दीक्षा राउत र गंगा भण्डारीको समीक्षात्मक अध्ययन तथा सिफारिसमा तयार गरिएको हो । उक्त दस्तावेजमा प्रविधि नवप्रवर्तन, एआई अनुसन्धान, नैतिक एआई विकास, डेटा सुरक्षा तथा नियमनजस्ता विषयलाई केन्द्रमा राख्दै विभिन्न सिफारिस प्रस्तुत गरिएको छ ।

नेपालले नयाँ प्रविधिहरूको विकास तथा अनुसन्धानलाई प्रवद्र्धन गरेमा एआई क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सक्ने र विश्वव्यापी प्रतिस्पर्धामा उत्रन सक्ने महासंघको धारणा छ । साथै, एआई प्रविधिको विकास गर्दा नैतिक मूल्यहरूलाई उच्च प्राथमिकता दिनुपर्ने, डिजिटल समावेशीकरण तथा मानव अधिकारको रक्षा गरिनुपर्ने सुझाव दिइएको छ ।

त्यसैगरी, एआई प्रविधिको विकास गर्दा नैतिकतालाई पनि उत्तिकै ध्यान दिनुपर्ने कुरामा क्यान महासंघले जोड दिएको छ । एआईको प्रयोगले कसैलाई पनि हानि नपु¥याओस् भन्ने कुरा सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । यसका साथै, एआईको प्रयोगका लागि आवश्यक डेटाको सुरक्षाका लागि बलियो प्रणाली बनाउनुपर्नेमा पनि महासंघले सुझाव दिएको छ । डेटाको दुरुपयोग हुनबाट रोक्नका लागि कडा नियमहरू बनाउनुपर्ने कुरा उठाइएको छ ।

एआई प्रविधिको प्रयोगलाई नियमन गर्नका लागि स्पष्ट नीति र कानुन बनाउनुपर्ने सुझाव पनि क्यान महासंघले दिएको छ । त्यस्तै एआईको विकास र प्रयोगलाई प्रभावकारी बनाउनका लागि विभिन्न क्षेत्रहरूबीच सहकार्य आवश्यक रहेको कुरामा पनि जोड दिइएको छ । अवधारणापत्रमा सरकार, निजी क्षेत्र, शैक्षिक संस्थाहरू र अन्य सरोकारवालाहरू मिलेर काम गर्नुपर्ने सुझाव समावेश गरिएको छ ।

प्रतिक्रिया