काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग संयुक्त अरब इमिरेट्स (युएई) का विदेश, अर्थ तथा व्यापार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघले आज ओमानको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
आठौँ हिन्दमहासागरीय सम्मेलनमा सहभागी हुन ओमानको मस्कटमा रहेका उनीहरुबीच आज साइडलाइन भेट भएको हो । भेटका क्रममा उनीहरुबीच नेपाल र संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्धका साथै श्रम, पर्यटन तथा आर्थिक विकासका विविध विषय र जलवायु परिवर्तनका कारण परेको प्रभाव न्यूनीकरणका लागि आवश्यक सहकार्यका विषयमा कुराकानी भएको थियो ।
त्यस अवसरमा मन्त्री डा राणाले नेपाली जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएकामा मन्त्री सायेघमार्फत संयुक्त अरब इमिरेट्स सरकारलाई विशेष धन्यवाद ज्ञापन गरेको उनको सचिवालयले जनाएको छ । मन्त्री सायेघले युएइको आर्थिक सामाजिक विकासमा नेपाली जनशक्तिको ठूलो योगदान रहेको भन्दै प्रशंसा गरेका थिए ।
उनीहरुबीच दुई देशबीच पर्यटन, आर्थिक विकास, व्यापारका क्षेत्रमा आगामी दिनमा गर्न सकिने सहकार्य एवं लगानीका बारेमा पनि छलफल भएको थियो ।
मन्त्री डा देउवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा युएइको दुबईबाट प्रत्यक्ष उडान सुरु गर्न मन्त्री सायेघसँग आग्रह गरेको पनि उनको सचिवालयले जनाएको छ । मन्त्री सायेघले यस विषयमा तत्कालै प्राविधिक अध्ययन थाल्ने र उडान सुरु गर्ने योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
मन्त्री डा देउवाले नेपालले क्षेत्रीय र विश्वव्यापी महत्वका गम्भीर मुद्दाहरुमा छलफल गर्न एक विश्वव्यापी संवाद मञ्चका रुपमा आगामी ‘मे’ मा काठमाडौंमा सगरमाथा संवाद आयोजना गरेको जानकारी गराउँदै जलवायु परिवर्तनबारे केन्द्रित हुने सो संवादमा भाग लिन युएइलाई पनि आमन्त्रण गरिन् ।
प्रतिक्रिया