काठमाडौँ । ऊर्जा सवारी निर्माता कम्पनी बिवाइडीले आफ्नो मुख्यालय सेनझेनमा डिपाइलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम (डिपाइलट सिस्टम) सार्वजनिक गरेको छ । डिपाइलट ६००, डिपाइलट ३००, र डिपाइलट १०० सहितको यो सिस्टमले सबै ग्राहकहरूका लागि उच्चस्तरीय स्मार्ट ड्राइभिङ प्रविधिलाई सहज बनाउन बिवाइडीको प्रतिबद्धता देखाउँछ । यसले सवारी उद्योगको प्रविधिगत रूपान्तरणलाई निकै तीव्र बनाउनेछ ।
बिवाइडीले भने यो सुविधा आफ्ना सबै मोडलमा बिना कुनै अतिरिक्त शुल्क दिने जनाएको छ । सबैभन्दा कम मूल्यको मोडल सिगलमा समेत यो सुविधा उपलब्ध हुनेछ, जसको मूल्य ९ हजार ५५५ डलर मात्र रहेको छ । कम्पनीले नयाँ प्रविधिसँगै ग्राहकहरूलाई सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
अहिलेसम्म, सेन्सर र क्यामेराजस्ता उच्च प्रविधि भएका सेल्फ ड्राइभिङ सिस्टमहरू महँगा गाडीहरूमा मात्र उपलब्ध हुने गथ्र्यो । तर बिवाइडीले अब यो परिवर्तन गर्दै यस्ता प्रविधि केवल महँगा गाडीहरूमा सीमित नराखी, सबैलाई सहज रूपमा उपलब्ध गराउँदै छ । बिवाइडीका सिइओ वाङ छुवान्फुले भने, ‘राम्रो प्रविधिमा सबैको पहुँचमा हुनुपर्छ ।’ डिपाइलट सिस्टम ३ भिन्न संस्करणहरूमा उपलब्ध छ । डिपाइलट ६०० मा ३ वटा लिडार छन्, जसलाई मुख्यतः याङवाङ मोडेलहरूमा प्रयोग गरिनेछ ।
डिपाइलट ३०० मा एउटा लिडार छ, जुन मुख्य रूपमा डेन्जा र केही बिवाइडी मोडेलहरूमा प्रयोग गरिनेछ । त्यस्तै, डिपाइलट १०० मा ३ वटा क्यामेरा छन्, जुन बिवाइडीका विभिन्न मोडेलहरूमा प्रयोग गरिनेछ । विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी निर्माताको रूपमा, बिवाइडीले ‘सुखद् जीवनका लागि प्रविधिगत नवप्रवर्तन’ लाई आफ्नो मूल सिद्धान्त बनाएको छ ।
प्रतिक्रिया