सन्तान नभएका कारण आ–आफ्ना पीर त छँदै थिए । समाजले, अझ जोरीपारीले अपुतो भन्दा उनीहरूको मन अझै कुँडिन्थ्यो । विवाह भएको २० वर्षसम्म पनि सन्तान नभएका केही दम्पती पुसको तेस्रो साता चितवनको भरतपुरमा जम्मा भएका थिए ।
लामो प्रयासपछि सन्तान भएकामध्येका थिए गैँडाकोट नगरपालिका–५ का रिमाल दम्पती । ६ महिनाका २ छोरी काखमा च्यापेर खुसीका आँसु झार्दै थिए उनीहरू । विवाह भएको २० वर्षसम्म बच्चा नभएपछि उनीहरूले देशका ठुला अस्पताल सबै धाए । श्रीमान् ४३ र श्रीमती ३० वर्षका उमेरमा विवाह गरेका उनीहरू क्रमशः ६३ र ५० वर्षमा बाबु आमा बन्न पाए । अस्पताल, धामीझाँक्री सबै भ्याएर आश मारेका उनीहरूले भरतपुरस्थित एक फर्टिलिटी क्लिनिकमा आइभिएफमार्फत् २ छोरी जन्माएका हुन् । करिब १० लाख रुपैयाँ खर्चिएर सन्तान प्राप्त गरेका यी दम्पती अहिले खुसी छन् ।
००००
भरतपुर–४ कै सरला (नाम परिर्वतन)को पनि अवस्था पनि उस्तै छ । सन्तानको लागि मन्दिर पुगिन्, कुखुराका भाले र अन्डा चढाइन् । तर केही गरे पनि सन्तान भएन । उनले पनि आइभिएफकै सहारा लिइन् । उनको काखमा अहिले ७ महिनाको सन्तान छ ।
काठमाडौँ । पछिल्लो समय मान्छेका दैनिकी यति व्यस्त भएको छ कि, खाने सुत्ने मात्रै होइन, सन्तान जन्माउने र हुर्काउनेसमेत फुर्सद हुन छोडेको छ । व्यस्त जीवनकै कारण धेरैजसो दम्पत्ती निःसन्तानपनको समस्याले चिन्तित बन्न थालेका छन् । विवाह भएको वर्षौंसम्म पनि सन्तान नभएका कारण स्वास्थ्य संस्था धाउने दम्पतीको संख्या बढ्दै गएको छ ।
चिकित्सकहरूका अनुसार कडा प्रकारको अस्थायी गर्भनिरोधक साधनको प्रयोगका कारण पनि पछिल्लो समय बाँझोपनको समस्या बढ्दै गएको हो । प्रसूति रोग विशेषज्ञ डा.उमा श्रीवास्तवका अनुसार बिहेपछि काममा बढी लाग्ने, क्यारियर बनाएर सन्तान जन्माउने भनेर लागेका धेरैको पछि सन्तान नभएका घटना छन् । उनले भनिन्, ‘मैले उपचारका क्रममा यस्ता कैयौँ दम्पती भेटेको छु । जो एकदमै ढिला भएपछि सन्तान भएनन् लौन डाक्टर साहेब भन्दै आउने गरेका छन् ।’
यस्तै अस्थायी साधनको सही ढंगले प्रयोग नगर्दा पनि महिनावारीमा गडबड हुने र त्यसले पछि सन्तान हुने क्रमलाई असर पु¥याउने गरेको उनको अनुभव छ । त्यसले गर्भधारणमा ढिलाइ वा समस्या नै हुने गरेको उनले सुनाइन् ।
समाजमा अहिले पनि बाँझोपनको दोष महिलालाई दिने गरिएको छ । तर, स्वास्थ्य विज्ञानले भने त्यसलाई स्वीकार गर्दैन ।
चिकित्सकहरूका अनुसार बाँझोपनका एकतिहाइ केसहरू पुरुष प्रजनन् समस्याका कारण हुन्छन् भने एकतिहाइ महिला प्रजनन् समस्याका कारण हुन्छन् । बाँकी एकतिहाइ केसहरू भने दुवै पक्ष वा अज्ञात कारकको कारणले हुने गरेका छन् ।
बाँझोपन बढ्दै जानुका कारण पछिल्लो समय चर्चा बढी हुन थालेको र त्यस बारेमा परीक्षण गर्ने संस्थाहरू पनि बढेको डा. श्रीवास्तवले बताइन् ।
निःसन्तान हुनेका प्रमुख कारणमा खानपान, मोटोपना र हिँडडुल नगर्ने कारणले हुने गर्छ । ‘मोटोपन र महिनाबारीमा हुने गडबडले अन्डा उत्पादन राम्रो हुँदैन’, उनले भनिन्, ‘अन्डा नै राम्रा नभएपछि फर्टिलाइजेसन हुँदैन । यसले बाँझोपन हुने क्रम बढिरहेको छ’, उनले भनिन् ।
यसै गरी अध्ययन वा वैदेशिक रोजगारीका लागि विदेश जाने युवा युवतीमा पनि यो समस्या देखिएको उनको अनुभव छ । ‘विदेशमा काममा बढी केन्द्रित हुने खानपान समयमा नहुने जस्ता कारणले पनि यो समस्या बढेको छ ।’
अर्का प्रसूति रोग विशेषज्ञ डा. जागेश्वर गौतमको निष्कर्ष पनि लगभग यस्तै छ । उनले वैदेशिक रोजगारीका क्रममा, विशेषगरी खाडी मुलुक गएर आएका पुरुषमा अलि बढी बाँझोपन हुने गरेकोे बताए । ‘पुरुष बस्ने ठाउँकोे तापक्रम ३२ देखि ३३ डिग्री सेल्सियससम्म हुँदा मात्र राम्रो मात्रामा शूक्रकीट बन्छ । तर, मौसम परिवर्तनले गर्मी बढेसँगै शूक्रकीट बन्ने क्रम कम हुन्छ,’ डा. गौतमले भने, ‘जस्तो खाडीमा काम गर्ने पुरुषहरूमा सुक्रकीट घटेर आउँछ । त्यसको कारण हो त्यहाँको तापक्रम ५४ डिग्रीसम्म हुनु । त्यति धेरै तापक्रममा शुक्रकीट बन्न सक्दैन । बने पनि गुणस्तरको हुँदैन र सक्रिय पनि हुँदैन ।
डा.श्रीवास्तवको अनुभवमा निःसन्तान हुनुमा ढिला विवाह गर्नेजस्ता कारण पनि छन् । पहिलो पटकको गर्भपतन गराएर ढिला बच्चा जन्माउन चाहँदा पनि यस्ता समस्या देखिने गरेको र कैयौँ दम्पती दोस्रो विवाह गरेका तर सन्तान नभएका कारण पनि उपचारमा आउने गरेको उनले बताइन् ।
‘कस्तोसम्म छ भने पुरुषको दोस्रो विवाह, महिलाको पहिलो विवाह वा दुवैको दोस्रो विवाह भएको र पहिलोतिर दुवैको सन्तान भएको अहिले फेरि सन्तान चाहेका पनि आउँछन्’, उनले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘अहिले यो प्रकारको समस्या पनि धेरै छ । तर, उनीहरूले चाहेर पनि सन्तान हुन नसकेको अवस्था छ ।’ अहिले उनीसँग उपचार गराइरहेका ३७–४० वर्ष उमेरका दम्पत्तिका समेत त्यस्ता समस्या भएको उल्लेख गर्दै चिन्ता व्यक्त गरिन्, कुनै कुनै दिन त हामी आफ्नै टाउकोमा हात राखेर बस्छौँ समस्या देखेर ।’
महिलामा हुने पाठेघरको मुखको समस्याका कारण पनि बाँझोपन हुनसक्ने उनीहरूको निष्कर्ष छ । राती कम सुत्नु, धूमपान, मद्यपान सेवन, निरन्तरको तनावजस्ता कारण बाँझोपनको समस्या देखिने चिकित्सकहरूको निष्कर्ष छ ।
प्रतिक्रिया