काठमाडौँ । १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसका रूपमा विश्वभर मनाउने गरिन्छ । विश्वभर मनाइने भ्यालेन्टाइन डेमा गुलाबको ठुलो महत्व छ । यस दिन नेपालमा पनि ठुलो परिमाणमा गुलाब खरिदबिक्री हुन्छ ।
फूलमा आत्मनिर्भर बन्ने भाष्य निर्माण हुँदै गर्दा गुलाबको उत्पादनको अवस्थामा भने सुधार हुन सकेको छैन । पुष्प व्यावसायीहरूको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार यस वर्षको प्रणय दिवस (भ्यालेनटाइन डे) मा देशभर करिब ४ लाख २५ हजार स्टिम गुलाब (डच रोजमात्र) को माग हुने अनुमान छ ।
सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा करिब २ लाख ५५ हजार स्टिम माग हुने अनुमान गरिएको छ । बाँकी १ लाख ७० हजार स्टिम काठमाडौँ उपत्यका बाहिरका जिल्लाहरूमा खपत हुने अनुमान रहेको फ्यानका सचिव राजु तामाङले जानकारी दिए । गत वर्ष ४ लाख १२ हजारभन्दा बढी स्टिम गुलाबको कारोबार भएको उनले बताए ।
भ्यालेनटाइन डेको समयमा नै नेपालमा गुलाबको धेरै कारोबार हुने गर्छ । गुलाब बजार मागको करिब २५ प्रतिशतमात्र आन्तरिक उत्पादनबाट परिपूर्ति हुने तामाङले बताए । यस वर्षको भ्यालेन्टाइन डेमा बजार मागको करिब ७५ प्रतिशत अपुग हुने भएको छ । सचिव तामाङका अनुसार बजारमा सहज आपूर्ति भएको अवस्थामा प्रेम दिवस सप्ताह अवधिभर करिब ४ करोड ६७ लाख रुपैयाँसम्मको व्यावसायिक कारोबार हुने अनुमान गरिएको छ । फूलको गुणस्तरअनुसार प्रतिस्टिम उपभोक्ता मूल्य ९० देखि १२० रुपैयाँसम्म रहेको बताइएको छ । गत वर्ष प्रतिस्टिम ८० देखि १२० रुपैयाँसम्म कारोबार भएको थियो ।
नेपालमा मौसम अनुकूल मात्रै गुलाब उत्पादन हुने र ‘भ्यालेन्टाइन डे’को सिजनमा जाडो मौसम हुने कारण स्थानीय उत्पादन कम हुने गरेको सचिव तामाङले बताए । उनले भने, ‘नेपालमा चाडपर्व बाहेकको सामान्य दिनमा प्रतिदिन सरदर ८ देखि १० हजार स्टिम गुलाबको माग रहने गरेको छ । नेपालमा गुलाबको व्यावसायिक खेती हुने जिल्लाहरूमा मुख्य गरी काठमाडौँ उपत्यकाका ३ जिल्ला साथै चितवन, काभ्रेपलाञ्चोक र रुपन्देही छन् ।
विगत ३१ वर्षदेखि गुलाबको खेती गर्दै आएका पुष्प व्यवसायी राजु शाहीले भने भ्यालेन्टाइन डेको अवसरमा मात्रै नेपाली उत्पादन अभाव हुने गरेको बताए । उनले भने, ‘अन्य महिनामा त खासै धेरै जाँदैन । नेपाली उत्पादनले नै बजार माग धानेको छ ।’ सरकारले सहयोग गरेमा नेपालमा बाह्रै महिना गुलाब फुलाउन सकिने व्यवसायी शाहीले बताए । उनले भने, ‘यदि नेपालमै उत्पादन गर्नुस् भनेर सरकारले प्रविधि र अत्याधुनिक सामग्रीका लागि पहल गरिदिने हो भने बाह्रै महिना गुलाब फुलाउन सकिन्छ ।’
भारतीय गुलाब आयात अनुमति छैन : प्रकाश पौडेल, सूचना अधिकारी प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र
भारतबाट आउने गुलाबको मापदण्ड नपुगेका कारण आयातको अनुमति दिइएको छैन । मन्त्रिपरिषद्ले बिरुवा तथा बिरुवाजन्य वस्तुको आयातमा मापदण्ड तोक्ने अधिकार प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रलाई दिएको छ ।
कुनै पनि बिरुवा स्वस्थ छ वा छैन, नेपालमा प्रवेश पाउँदा ती बिरुवासँगै आएका शत्रु जीव तथा रोग, किराले नेपालमा थप असर गर्छ वा गर्दैन भन्ने कुरा केन्द्रले हेर्ने गरेको छ । जैविक सुरक्षामा असर पर्ने खालका विषादी तथा शत्रु जीवहरू तथा रोग भएका बिरुवा वा बिरुवाजन्य वस्तुलाई नेपाल प्रवेश दिन मिल्दैन ।
भारतबाट गुलाब आयात हुँदा भारतमा रहेका तर नेपालका लागि संवेदनशील मानिएका (नेपालको जैविक सुरक्षाका लागि खतरा मानिएका) अन्य बिरुवामा समेत आक्रमण गर्न सक्ने रोग किराहरूको सूची तयार पारिएको छ ।
ती किरा तथा रोग आफ्नो देशमा उत्पादन भएको गुलाबमा छैनन् भनेर भारतले आफ्नो प्रयोगशालामा परीक्षण गराएर प्रमाणपत्र उपलब्ध गराउन सकेको छैन । निरोगिताको प्रमाणपत्र दिन सकेको छैन ।
भारतले स्वस्थता प्रमाणपत्र दिन नसक्दासम्म आधिकारिक रूपमा नेपालमा गुलाब पठाउन सक्दैन । अन्य मुलुकबाट आउने गुलाब भने क्वारेन्टाइनबाटै अनुमति पाएर आइरहेको छ ।
प्रतिक्रिया