काठमाडौँ । सरकारले ल्याएको भूमीसम्बन्धी अध्यादेश पारित गर्न राष्ट्रियसभामा बहुमतको सुनिश्चितता खोज्दा त्यसको असर मधेसी दलमा देखिएको छ । सरकारमा सहभागी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपाल सरकारबाट बाहिरिने र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल भित्रिने सम्भावना बढेको छ ।
भूमीसम्बन्धी अध्यादेशकै कारण लोसपा नेपाल सरकार छाड्ने तयारीमा लागेको छ । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार नैतिक संकटमा रहेको टिप्पणी गर्दै पार्टीबाट सरकारमा गएका मन्त्री शरतसिंह भण्डारीले राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने बताएका छन् ।
उनले आफ्नो पार्टीबाट सरकारमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई राजीनामा दिनका लागि तयार रहन निर्देशन दिएका छन् । भूमिसम्बन्धी अध्यादेश अस्वीकार गरेपछि अध्यक्ष ठाकुरले मन्त्री भण्डारीलाई राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने जानकारी गराइसकेका छन् ।
बिहीबार सर्लाहीमा भएको लोसपा नेपालको जिल्ला कार्यसमिति अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै ठाकुरले भनेका छन्, ‘ हामीले भूमिसम्बन्धी अध्यादेशको विरोध गरेका छौँ । सरकार गिराउन खोजेको होइन, तर नैतिक संकट त आयो । अध्यादेशमा सरकारको विरोध गरेपछि नैतिक संकट छ । हाम्रा मन्त्रीलाई भनिसकेको छ जो एकाध दिनमा गर्ने हो गरिहाल्नू सरकारबाट बाहिरिनुपर्ने हुन्छ ।’ भूमिसम्बन्धी अध्यादेश आफूहरुलाई कुनै पनि हालतमा स्वीकार्य नभएको उनले बताए ।
सम्बोधनका क्रममा ठाकुरले आफूहरु बाहिरिनुपर्ने नत्र ‘उनीहरुले नै हटाइदिन पनि सक्छन्’ भन्ने आशंका पनि व्यक्त गरेका थिए । उनको आशंका कांग्रेस–एमाले मिलेर लोसपालाई हटाएर जसपा नेपाललाई सरकारमा ल्याउन सक्छन् भन्ने पनि हो । भूमीसम्बन्धी अध्यादेशको विपक्षमा जाने लोसपाको निर्णयसँगै कांग्रेस–एमाले गठजोड बरु उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई सरकारमा ल्याउने र उसलाई फकाएर अध्यादेश पास गराउने योजनामा छ ।
लोसपाको निर्णयअघि नै जसपा नेपालले अध्यादेशप्रति विरोध जनाएको थियो । तर, मधेस प्रदेशसँगै केन्द्र सरकारमा उचीत स्थान पाएको खण्डमा अध्यादेशलाई समर्थन गर्नसक्ने सम्भावना अझै रहेको जसपा नेपालकै एक नेताले बताए । सरकार पनि त्यही दाउमा छन् । गठबन्धन घटकलाई पनि सरकारमा लोसपाभन्दा जसपा नेपाल फाइदाजनक छ । अध्यादेशका लागि राष्ट्रियसभामा बहुमत नहुँदा संकटमा परेको २ तिहाइको सरकारलाई ३ सिट भएको जसपा नेपाल उपयुक्त विकल्प हो ।
जसपा नेपालको प्रतिनिधिसभामा ५ र राष्ट्रियसभामा ३ सिट छ । कांग्रेसको १६ र एमालेको १० सिट छ । त्यस्तै, डा. अञ्जान शाक्य एमाले कोटाबाट मनोनित भएकाले बहुमतका लागि आवश्यक ३० सिट पुग्ने देखिन्छ । त्यसैले सरकारबाट लोसपा बाहिरिए पनि जसपा नेपाल भित्रिएमा गठबन्धनलाई फाइदा पुग्ने देखिन्छ । तर यथास्थितिमा जसपा सरकारमा जान्छ जाँदैन त्यो भने हेर्न बाँकी छ ।
प्रतिक्रिया