बैतडी । मुख्य पुजारी दलित समुदायबाट हुने परम्परा रहेको बैतडीको बनारसीधाम विश्वनाथ ज्योतिर्लिंग मन्दिरको अस्तित्व नै संकटमा पर्न थालेको भन्दै स्थानीय तथा सरोकारवाला यसको जगेर्नामा जुटेका छन् । ज्योतिषाचार्य पण्डित गणेशराज पन्तका अनुसार बैतडी जिल्लाको पाटन नगरपालिका–३ मा रहेको सो मन्दिरमा वि.सं. १६६४ देखि मूख्य पुजारी नै दलित समुदायबाट रहने परम्परा चल्दै आएको छ । त्यस क्षेत्रका तत्कालीन महाराजा मानुक चन्दले याे परम्परा चलाएका हुन् ।
पन्तले भने, ‘त्यो समयभन्दा अगाडी नगाडी भट्ट, पन्त, अवस्थी, जाेशी लगायतका पुजारी भए पनि पछिल्लो समय वयनी लुहार जातिका व्यक्ति मुख्य पुजारी छन् ।’ राजा महेन्द्रले पनि आफ्नो कार्यकालमा एकपटक त्यहाँ पुगेर टीका लगाएको पन्तले बताए । पन्तका अनुसार हाल ६ जना दलित समुदायका पुजारी छन् । हाल मूख्य पुजारी धिरे लुहार हुन् । पहिले लावण र भुल थरका व्यक्तिसमेत पुजारी भइसकेको उनले बताए ।
महत्वपूर्ण तथा जातीय भेदभाव विरुद्धको सशक्त स्थल सो मन्दिर हेर्न आउने थुप्रै भए पनि सरकारको नजर भने नपरेको पन्तको गुनासो छ । उनले भने, ‘उक्त मन्दिरमा हेर्ने थुप्रै आए, समाचार पनि धेरै आए तर मन्दिरको उत्थान तथा भौतिक संरचना बनाउनका लागि खासै सहयोग भएको छैन ।’
भौतिक पूर्वाधारको अवस्था नाजुक रहेको सो धाममा अहिलेसम्म शौचालयसमेत बनाउन नसकिएको पन्तको गुनासो छ । उनले भने, ‘स्थानीय जनता गरिब भएको कारण चन्दा उठाउन पनि सम्भव छैन । स्थानीय सरकारले पनि विकास नै गर्नेगरी सहयोग गर्न सकेको छैन ।’
सो बनारसी धाममा प्यागोडा शैलीको ७५ फिट अग्लो एउटा मन्दिर रहेको उनले पन्तले सुनाए । मूलथान, स्नानघाट, ब्रह्मनाल, ५२ फिट गहिरो तलाउ थियो भने, २२ वटा तालसमेत भएको त्यो स्थानमा २०२७ सालमा ठुलो बाढी आउँदा त्यो तलाउ पुरिएको बताइन्छ । अहिले १ मिटर गहिरो तलाउमा पुजारी तथा पण्डितहरू नुहाउने गर्छन् ।’
भौतिक विकासको लागि सहयोग माग्दै ज्योतिषाचार्य पण्डित गणेशराज पन्त सरकारी निकाय तथा नेता, सांसद, मन्त्री तथा पूर्वप्रधानमन्त्रीहरूसँग भेटघाट गरिरहेका छन् । विगत लामो समयदेखि मन्दिरको भौतिक विकासको लागि खटिँदै आएका पण्डित पन्तका अनुसार उनले धेरैलाई भेटिसकेका छन् ।
धामको पुनर्निमाणका लागि १ करोड ८० लाख व्यक्तिगत खर्च भए पनि १२ लाख रुपैयाँ मात्र खर्च दिएको उनले सुनाए । ‘हालसम्म जम्मा १२ लाख रुपैयाँ सरकारबाट आएको छ । पहिले नै काम गरेका मजदुरहरूको रकम १२ लाख ८० हजार तिर्न बाँकी छ’, उनले भने, ‘त्यतिबेला प्रत्येक मजदुरले २० दिनको पारिश्रमिक चन्दाको रूपमा छोडेका थिए । दर्शनार्थी तथा हामी स्थानीय मिलेर उठाएको रकमले पूजापाठ गर्ने लगायतको सामान्य खर्च चलिरहेको छ ।’
पन्तको अनुसार मन्दिर व्यवस्थापनका लागि श्री बनारसीधाम विश्वनाथ सेवा समाज नामको समिति बनाएर काम भइरहेको छ । सो समितिले ४७ अर्ब रुपैयाँ बराबर खर्च हुने गरी डिपिआर बनाएको छ, भने १ अर्ब ८० करोडको डिपिआर पालिका, वडा र इन्जिनियरहरूबाट प्रमाणित (भेरिफाइ) समेत भइसकेको उनले सुनाए । उनले २० वटा महिला र २० वटा पुरुष शौचालय बनाउनदेखि स्नान घरसम्मका भौतिक संरचना बनाउन जरुरी रहेको उनले सुनाए ।
भौतिक संरचना निर्माणका लागि पन्तले हालसम्म सयौँ मानिसलाई भेटिसकेका छन् । उनले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, हालका पर्यटनमन्त्री बद्री पाण्डेलाई काठमाडौँमा आएर सहयोगको अपिल गरिरहेका पन्तले भेटिसेकपछि पर्यटन मन्त्री बद्री पाण्डेले त्यहाँको सत्यतथ्य पत्ता लगाउन पुरातत्वका प्रतिनिधि पठाए ।
राजा वीरेन्द्रको आधा कार्यकालसम्म वर्षमा ५ देखि १० हजार रुपैयाँसम्म राजदरबारले रकम पठाए पनि पछिल्लो समय बन्द भएको थियो । गणतन्त्र स्थापनादेखि अहिलेसम्म जम्मा १२ लाख रुपैयाँ धामलाई प्राप्त भएको उनले बताए । गत वर्ष २० हजार रुपैयाँ गुठीसंस्थानबाट आएको उनले सुनाए । साथै स्थानीयबाट १५ लाख रूपैयाँ चन्दा संकलन गरिएकाे पनि पन्तले बताए ।
सरकारी रकम दिँदा कमिसन माग्ने गरेकोसमेत उनले गुनासो गरे । ‘पाइलापाइलामा कमिसन कति आउँछ भनेर भन्नेहरू पनि भेटिए । १ करोड हाल्दा १० लाख माग्ने गरेका छन्’, उनले भने, ‘सरकारले १० लाखको कुरा गर्छ हामीलाई करोड चाहिएको छ ।’
त्यो धाममा पूजा गर्न तथा दर्शन गर्न नेपाल भारतका विभिन्न ठाउँबाट मानिसहरू आउने गरेको उनले बताए । भक्तजनबाट केही रकम संकलन भइरहेको पनि उनले बताए । त्यो धामको प्रचार प्रसार तथा विकास गर्नसके जातीय विभेदमुक्त गराउने मुख्य थलो बन्ने र समाजमा सबै प्राणी बराबर हुन भन्ने तथ्य स्थापित हुने उनले सुनाए । सूनर्या नदीको किनारमा रहेको सो धामको विकास गर्नसके पर्यटकीय हिसाबले पनि उत्तम हुने उनले सुनाए ।
त्यो मन्दिरसँग ६६६ रोपनी जग्गा छ । त्यो जग्गा स्थानीय गुठीमा रहेको उनले बताए । उनले सरकारसँग तत्कालको लागि १० करोड अपेक्षा गरेको सुनाए । कोटीहोम महायज्ञ गर्ने तयारी रहेकोले सहयोग गर्न उनले सबैदाताहरूलाई अपिल गरेका छन् ।
बनारसी धाम विश्वनाथ सेवा समाजका अध्यक्ष उत्तरबहादुर चन्दको अध्यक्षतामा कात्तिक २० गते मंगलबार बसेको बैठकले स्रोत साधन र समयअनुसार आर्थिक अवस्था हेरी उपयुक्त हुने धार्मिक अनुष्ठान, यज्ञ सञ्चालन गर्ने निर्णय गरेको थियो ।
महत्वपूर्ण सम्पदा रहेछ , संरक्षण सम्बद्र्धन गर्न जरुरी – राजेश परियार, पुरातत्व अधिकृत
पुरातत्वबाट प्रतिनिधिको रूपमा अध्ययन गर्न पुगेका पुरातत्वका प्रतिनिधि राजेश परियारले सांस्कृतिक तथा धार्मिक हिसाबले बनारसीधाम विश्वनाथ ज्योतिर्लिंग मन्दिर एकदमै महत्वपूर्ण रहेको बताए । सौर्य दैनिकसँग कुरा गर्दै परियारले सो धामप्रति ठुलो धार्मिक आस्था रहेको बताए । ‘हमीले प्राचीन स्मारक ऐन २०१३ अन्तर्गत रहेर सम्पदाहरू, मानवनिर्मित स्मारकहरूको संरक्षण र अध्ययन गर्ने गर्दछौँ । यसै सिलसिलामा बैतडीको बनारसी धाममा पुगेका थियौँ ।’ उनले भने, ‘त्यो ठाउँ पुरातत्वभन्दा पनि अमूर्त सम्पदाको लागि महत्वपूर्ण रहेछ । धार्मिक आस्थाको केन्द्र त्यो ठाउँमा हुने परम्परागत पूजा र अन्य कामहरू एकदमै महत्वपूर्ण छन् ।’
उक्त धाम प्राकृतिक तथा सांस्कृतिक संयोजनको केन्द्र रहेको पनि उनले सुनाए । ‘प्रकृति र समुदायको संयोजनसँगै झन् महत्वपूर्ण त्यहाँको जातिगत मेल पनि छ । जातीय भेदभावको हिसाबले पनि त्यो धाम एकदमै सकारात्मक सन्देश प्रवाह गर्ने खालको छ ।’ परियारले भने, ‘मूख्य पुजारी नै दलित समुदायबाट हुने र अरू समुदायबाट पनि उत्तिकै सहयोग छ । एकदमै विशिष्ट खालको अभ्यास भएको देखिन्छ ।’ त्यहाँ मूर्ति नभई प्राकृतिक शिलालाई नै पूजा गर्ने परम्परा छ । त्यहाँ मस्टो संस्कृतिकै विशिष्ट खालको परम्परा रहेको परियारले बताए । लामो समयदेखि रहँदै आएको आस्था र हुँदै आएको अभ्यास पक्कै महत्वपूर्ण छ ।
प्रतिक्रिया