पूर्वउपराष्ट्रपति पासाङलाई ‘विशेष जिम्मेवारी’

माओवादी केन्द्रको कार्यविभाजन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले नेताहरूको कार्यविभाजन तोकेको छ । माओवादी केन्द्रले आइतबार मातहतको कमिटीमा परिपत्र गर्दै नेताहरूको जिम्मेवारी तोकेको जनाएको छ ।

यससँगै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पार्टीको सक्रिय राजनीतिमा फर्किएका छन् । उनलाई पार्टीले ‘विशेष जिम्मेवारी’ भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज तोकेको छ । कार्यविभाजनअनुसार पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ भने उपप्रमुखको जिम्मेवारी गिरिराजमणि पोखरेलले पाएका छन् ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख अग्निप्रसाद सापकोटा र उपप्रमुखको जिम्मेवारी रेखा शर्मालाई दिइएको छ । पुस्तकालय तथा अभिलेख विभाग प्रमुख गणेशमान पुन, साहित्य, कला तथा संस्कृति विभाग प्रमुख महेश्वर दाहाल र नीति अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी शक्ति बस्नेतलाई दिइएको छ । अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठलाई बनाइएको छ भने उपप्रमुखमा पम्फा भुसाल र सुरेन्द्र कार्कीलाई तोकिएको छ ।

पूर्वसभामुख कृष्णबहादुर महराले राज्य व्यवस्था मामिलाको संयोजकको जिम्मेवारी पाएका छन् भने संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्माले, अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनले पाएका छन् । केन्द्रीय कार्यालयको मुख्यसचिवमा गणेशमान पुनलाई ल्याइएको छ भने सचिव डोरप्रसाद उपाध्यायलाई बनाइएको छ । त्यसैगरी, अध्यक्ष प्रचण्डको सचिवालय प्रमुखको जिम्मेवारी गोविन्द आचार्यलाई दिइएको छ भने सचिवालय सदस्यहरूमा सन्तु दराई, गंगा दाहाल, गोकर्णप्रसाद भट्ट र विश्वदीप पाण्डे छन् ।

प्रतिक्रिया