दिल्लीमा २७ वर्षपछि भाजपा फर्किएपछि मोदीले भने– सुशासनको जित भएको छ

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा अरविन्द केजरीवाललाई हराउँदै २७ वर्षपछिे भाजपा फेरि सत्तामा फर्किएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सुशासनको जित भएको बताएका छन् । भारतको राजधानी प्रान्त दिल्लीमा बुधबारदेखि विधानसभा निर्वाचन सुरु भएको छ ।

निर्वाचनमा प्रधानमन्त्री मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) उनको प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासरत थियो । तीन करोडभन्दा बढी जनसंख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनको आम आदमी पार्टी (आप) को शासन रहेको थियो ।

निर्वाचन आयोगको प्रारम्भिक प्रवृत्तिका अनुसार भारतीय जनता पार्टीले दिल्ली विधानसभा चुनावको नतिजामा बहुमतको सिट पार गरेको छ । भाजपा अहिले ३८ सिटमा अगाडि छ भने आप २७ सिटमा अगाडि छ । राष्ट्रिय राजधानीमा सरकार गठनका लागि बहुमतको सिट ३६ रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली प्रान्तमा विकासको जित सुरु भएको बताए ।

प्रधानमन्त्री मोदीले भने, ‘यो जित विकासको हो, सुशासनको जित हो ।’ ‘हामी दिल्लीको समग्र विकास सुनिश्चित गर्न र त्यहाँका बासिन्दाहरूको जीवन राम्रो बनाउन कुनै कसर छोड्नेछौं,” मोदीले सामाजिक सञ्जाल पोस्टमा उल्लेख गरेका छन् ।

भाजपाका तर्फबाट दिल्लीमा पछिल्लो पटक सन् १९९८ मा सुस्मा स्वराज मुख्यमन्त्री बनेकी थिइन् । सन् १९९८ डिसेम्बर ३ मा मुख्यमन्त्री बनेकी शिला दिक्षितले तीन कार्यकाल चलाएकी थिइन् । त्यसपछि केजरीवालले दुई कार्यकाल शासन गरेका थिए । दिल्लीमा निर्वाचनमा लगातार जित्दै आएको आम आदमी पार्टी यसपटकको चुनावमा निकै कमजोर देखिएको हो ।

यस वर्षको चुनावमा मतगणना अझै चलिरहेको छ, तर दिल्लीका पूर्व मुख्यमन्त्री तथा आप प्रमुख अरविन्द केजरीवाल बीजेपी उम्मेदवार प्रवेश बर्मासँग पराजित भए । ‘हामी फैसला स्वीकार गर्छौँ र भाजपालाई बधाई दिन्छौँ, केजरीवालले एक भिडियो वक्तव्यमा भनेका छन् ।

प्रतिक्रिया