केजरीवाललाई हराउँदै २७ वर्षपछि दिल्लीको सत्तामा फर्कियो भाजपा

काठमाडौं । भारतमा अरविन्द केजरीवाललाई हराउँदै २७ वर्षपछि दिल्लीमा फेरि भारतीय जनता पार्टी (भाजपा) सत्तामा फर्किएको छ । भारतको राजधानी दिल्लीमा बुधबारबाट विधानसभा निर्वाचन सुरु भएको छ ।

यस निर्वाचनमा केजरीवालको हार भएसँगै भाजपाको सरकार बन्ने भएको हो । तीन करोडभन्दा बढी जनसंख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनको आम आदमी पार्टी (आप) को शासन रहेको थियो ।

भारतको निर्वाचन आयोगका अनुसार, विधानसभा निर्वाचनमा भाजपा २ सिट जितिसकेको छ र ४६ सिटमा अग्रता लिएको छ, जसको कुल संख्या ४८ छ । आम आदमी पार्टी (आप) ले पनि २ सिट जितेको छ भने २० सिटमा अग्रता लिएको छ, जसको कुल संख्या २२ पुगेको छ । कांग्रेसले कुनै सिट जित्न सकेको छैन ।

यो नतिजाले ठूलो राजनीतिक परिवर्तन देखाएको छ । आपका नेता अरविन्द केजरीवाल नयाँ दिल्लीबाट पराजित भएका छन् भने मनीष सिसोदिया पनि जंगपुरामा पराजित भएका छन् । तर, मुख्यमन्त्री आतिशी कालकाजीबाट विजयी भएकी छन् । अर्का नेता सत्येन्द्र जैनले पनि चुनाव हारेका छन् ।

यसैबीच, केजरीवाललाई हराउने भाजपा उम्मेदवार प्रवेश वर्मा अमित शाहलाई भेट्न पुगेका छन् । दिल्लीमा भाजपा मुख्यालयमा विजयोत्सव मनाइरहेको भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ७ बजे पार्टी मुख्यालय पुगेर कार्यकर्ताहरूलाई सम्बोधन गर्ने बताइएको छ ।

सन् २०२० मा भाजपाले जम्मा ८ सिट मात्र जितेको थियो, तर सन् २०२५ मा ६ गुणा बढी जित निकाल्दै ४८ सिट जित्नेतर्फ अगाडि बढेको छ । केजरीवालको नयाँ दिल्ली सिटमा २० जना उम्मेदवारको जमानत जफत भएको छ । उनीहरूले अत्यन्तै कम मत प्राप्त गरेका छन् ।

केजरीवाल प्रवेश बर्मासँग ३ हजार मतले हारेका छन् । उता सन्दीप दीक्षितले केवल ३ हजार ८७३ भोट मात्र पाए । सन् २०२० को तुलनामा भाजपाले ३९ सिट थप्ने देखिएको छ भने आपले ३९ सिट गुमाउने सम्भावना देखिएको छ ।

प्रतिक्रिया