सरकारलाई बिनिता कठायतको प्रश्न– रविलाई थुन्दैमा सहकारी पीडितको रकम फिर्ता भयो त ?

विधायन विधेयकमाथि छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले पार्टी सभापति रवि लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपाका सांसदहरुले उनको सांसद पद फुकुवा गर्न माग गरेका हुन् ।

रास्वपा सांसद डोलप्रसाद अर्यालले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर झुट्टा मुद्दा लगाएर फसाउन खोजिएको आरोप लगाए । उनले भने, ‘थुनामा नरहेको बेला लामिछानेको सांसद पद तुरुन्त फुकुवा गर्न सभामुखमार्फत आग्रह गर्दछु ।’

रास्वपाकै सांसद बिनिता कठायतले सभापति लामिछानेलाई हिरासतमा राख्दैमा सहकारी पीडितको रकम फिर्ता भयो त ? भन्दै प्रतिप्रश्न गरिन् । सहकारी पीडितको समस्या समाधानमा बेवास्ता गरेको भन्दै उनले आपत्ति जनाइन् ।

सांसद कठायतले भनिन्, ‘सहकारी समस्या समाधान भयो त ?’, म सरकारलाई प्रश्न सोध्न चाहन्छु, बचतकर्ताको ३ सय अरब रकम हिनामिना भएको भनिएको छ, पीडित बचतकर्ताको रकम फिर्ता गर्ने कुरा कहाँ पुग्यो ? ।’ कठायतले सरकारले पीडितलाई न्याय दिने भन्दा पनि सभापति लामिछानेलाई प्रतिशोध साँध्ने हिसाबले बयानका नाममा जिल्ला जिल्ला घुमाइएको आरोप लगाइन् ।

उनले भनिन्, ‘के यसैगरी जिल्ला जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ ? हुन्छ भनिदियोस् सरकारले । हाम्रो सभापति दुई तिन जिल्ला मात्र होइन ७७ वटै जिल्ला घुम्न तयार हुनुहुन्छ ।’ शून्य समयमा सांसदहरुले आ–आफ्नो क्षेत्रमा देखिएका समस्या उजागर गरेका थिए । सो क्रममा सांसद ठाकुरप्रसाद गेरैले बुटवल–पाल्पा सडकको बाँकी काम समयमै सम्पन्न हुने गरी काम गर्न सुझाव दिए ।

सांसद तारा लामा तामाङले उखु किसानले समयमै भुक्तानी पाउनुपर्ने माग गरिन् । कञ्चनपुरमा हात्ती आतंकका कारण कृषिमा क्षति पुगेको भन्दै उनले किसानलाई उचित क्षतिपूर्तिको माग गरिन् ।

सांसद डा तोसिमा कार्कीले ललितपुरका नागरिकले टिपर आतंकका कारण दुःख पाइरहेको गुनासो गरिन् । नख्खु–भैँसीपाटी सडकमा ट्याक्टर आतंकले दुर्घटना बढेकाले बस्ती भएको क्षेत्रमा ट्याक्टर चलाउन निषेध गर्नुपर्ने उनले बताइन् ।

सांसद दामोदर पौडेल बैरागीले दु्रतगतिमा जनतालाई सेवा दिनेगरी विधेयक बनेको भन्दै पोखरा अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्र र पोखरामा मुटु उपचार केन्द्रको आवश्यकता रहेको बताए । सांसद दुर्गा राईले पाथीभरामा केबलकार निर्माणको विषयमा ताप्लेजुङ अशान्त रहेकाले सहमति नलीइकन काम गर्न खोजेको आपत्ति जनाइन्।

सांसद देवेन्द्र पौडेलले बाङलुङको ढोरपाटनमा जिल्लास्तरीय अस्पताल बनाउने निर्णय भए पनि आवश्यक चिकित्सक र स्वास्थ्य सेवा उपलब्ध गराउन अनुरोध गरे । सांसद धनराज गुरुङले बुटवल सिद्धार्थ राजमार्गको स्तरोन्नतिलाई दु्रत गतिमा अगाडि बढाउन माग गरे ।

सांसदहरु धुव्रबहादुर प्रधान, नारायणप्रकाश साउद, नारायणप्रसाद आचार्य, दीपा शर्मा, नारायणी शर्मा, निर्मला कोइराला, निशा डाँगी, नैनकला थापा, पुष्पबहादुर शाह, पूर्णबहादुर घर्तिमगर, प्रकाश ज्वाला, प्रतिमा गौतम, प्रभु हजारा, पे्रमबहादुर आले, प्रेमबहादुर महर्जन, वासुदेव घिमिरे र विन्दवासिनी कङ्सकारले शून्य समयमा विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए ।

विधायन विधेयकमाथि छलफल

प्रतिनिधिसभाको आजको बैठकमा ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ माथि छलफल भएको छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको हो ।

विधेयकमाथि छलफलका क्रममा सांसद पूर्णबहादुर घर्तीले यो विधेयकले कानुनी शासन स्थापनाका साथै कानुन निर्माणलाई सुव्यवस्थित र पारदर्शी बनाउन मद्दत पुर्याउने बताए । सांसद अच्युतप्रसाद मैनालीले यो कानुन बन्दा कोही व्यक्ति वा समूहको स्वार्थपूर्ति हुने गरी कानुन निर्माण हुने परिपाटीको अन्त्य हुने विश्वास व्यक्त गरे ।

सांसद विराजभक्त श्रेष्ठले विधेयकलाई जनमुखी बनाउने, संसद्लाई बिजनेस दिने र कार्यान्वयनयोग्य कानुन बनाउनका लागि यो विधेयकले भूमिका खेल्ने बताए । विधेयकमाथि सांसदहरु डा चन्दा कार्की भण्डारी, किरणकुमार साह, सुमना श्रेष्ठ, प्रेम सुवाल, हितराज पाण्डे, सुशीला थिङलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

विधायनको निर्माण, अभिलेख, प्रकाशन तथा व्यवस्थापनसम्बन्धी कामलाई थप व्ययस्थित गर्ने विषयहरु यो विधयेकले समेटेको छ । संघीय संसदबाट निर्माण हुने कानुनलाई गुणस्तरीय बनाइ कानुन निर्माणमा एकरुपता कायम गर्ने, जारी भएका ऐनको व्यवस्थित अभिलेख राख्ने, प्रत्यायोजित विधायनको सीमा तोक्नेलगायत व्यवस्था गर्न सरकारले यो विधेयक ल्याएको हो ।

त्यस्तै, ऐनबाट प्रत्यायोजित अधिकार प्रयोग गरी सरकार वा अन्य निकायले बनाउने प्रत्यायोजित विधायन मूल विधानको उद्देश्य विपरीत भए–नभएको जाँच गर्न पनि यो विधेयकले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २७ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया