निलम्बित रवि लामिछानेको सांसद पद तत्काल फुकुवा गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा निलम्बित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद तत्काल फुकुवा गर्न माग गरिएको छ ।

आज जारी संसद बैठकमा रास्वपाका सांसद डोलप्रसाद अर्यालले समय लिएर आफ्नै पार्टीका सभापति लामिछानेको संसद पद तत्काल निलम्बन फुकुवा गर्न माग गरेका हुन् ।

सहकारीको रकम ठगीको आरोप लागेपछि निलम्बनमा परेका सभापति लामिछानेलाई सरकारले आरोप लगाएर दुःख दिइरहेको भन्दै सांसद अर्यालले निलम्बन फुकुवाको माग गरे ।

प्रतिनिधिसभाको शुक्रबारको शून्य समयमा रास्वपाका कार्यवाहक सभापतिसमेत रहेका अर्यालले सभामुख देवराज घिमिरेलाई लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेका हुन् । उनले सरकारले मात्रै नभई संसद्‌ले पनि लामिछानेमाथि प्रतिशोध साँधेको आरोप लगाए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साँध्यो साँध्यो, सार्वभौम संसद्ले पन सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ’, अर्यालले भने ।

सभापति लामिछाने सहकारी प्रकरणको मुद्दामा पोखरा, काठमाडौं, बुटवल र चितवनबाट धरौटी बुझाएर रिहा भइसकेका छन् ।

प्रतिक्रिया