बहुमत नपुग्ने भएपछि दुवै सदनमा अध्यादेश पेश गर्ने कार्यसूची हटाइयो

काठमाडौं । सरकारले ल्याएको अध्यादेश निर्णयार्थ पेश गर्ने कार्यसूची हटाइएको छ । कार्यसूची हटाइएसँगै बिहीबारको प्रतिनिधिसभा र राष्ट्रिय बैठकमा अध्यादेश पेश नहुने भएको छ । राष्ट्रियसभामा सत्ता गठबन्धनको बहुमत नपुग्ने भएपछि अध्यादेश पेश गर्ने कार्यसूची हटाइएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई आज अध्यादेश पेश नगर्ने जानकारी गराएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

जनता समाजवादी पार्टी, नेपालले अध्यादेशलाई समर्थन गर्ने वा नगर्ने निर्णय गरिसकेको छैन । प्रतिनिधिसभामा सत्ता गठबन्धनको स्पष्ट बहुमत भए पनि राष्ट्रिय सभामा भने जसपा नेपालको साथ चाहिन्छ ।

कांग्रेस–एमाले गठबन्धनबाट बनेको केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरिरहेको जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशमा असहमति जनाइरहेको छ । अन्य पाँच अध्यादेशमा भने समर्थन गर्ने संकेत जसपा नेपालले गरेको छ ।

अध्यादेश पारित गराउन प्रतिनिधिसभामा सत्तारूढ कांग्रेस र एमालेसँग स्पष्ट बहुमत छ भने राष्ट्रिय सभामा बहुमत पुर्‍याउन जसपा नेपालको साथ चाहिन्छ । संघीय संसद्का दुवै सदनबाट स्वीकार नभए अध्यादेश स्वतः निष्क्रिय हुने संवैधानिक प्रावधान छ ।

राष्ट्रियसभामा ५९ सांसद छन्  । अध्यादेश स्वीकार गर्न बहुमत अर्थात् कम्तीमा ३० सांसदको साथ चाहिन्छ । राष्ट्रियसभामा अध्यादेशको पक्षमा कांग्रेसका १६, एमालेका १०, मनोनीत २ र लोसपाका १ गरी २९ सांसद छन् । विपक्षमा माओवादीका १७, एकीकृत समाजवादीका ८ र राष्ट्रिय जनमोर्चाका १ गरी २६ सांसद छन् ।

आजको प्रतिनिधिसभा बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोवार (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूची तय गरिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेश गरिनेछ । यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रकृति श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९–८०’ पेश गर्ने कार्यसूची छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१–०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदन’ पेश गर्नेछन् ।

प्रतिनिधिसभामा प्रमुखप्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको बैठकलाई सम्बोधन गर्नेछन् । सरकारकातर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि बैठकलाई सम्बोधन गर्ने जनाइएको छ । भ्रष्टाचार र सुरक्षित कारोबारसँग सम्बन्धित प्रतिवेदन पनि सदनमा टेबुल गरिनेछ ।

प्रतिक्रिया