काठमाडौं । सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बयान जिल्ला अदालत चितवनमा सकिएको छ ।
साहारा सहकारीको रकम ठगी प्रकरणको मुद्दामा सभापति लामिछानेको बयान आज (बुधबार) सकिएको हो । उनको बयान आजै सुरु भएको थियो । चितवन अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा लामिछानेको बयान भएको थियो ।
जिल्ला अदालतका सूचना अधिकारी अमृत सुवेदीले सभापति लामिछानेको बयान साढे ३ बजे सकिएको जानकारी दिए । उनको बयान सकिएलगत्तै थुनछेक बहसको तयारी गरिएको छ । बहसमा सहकारी पीडितका तर्फबाट जिल्ला न्यायाधिवक्ता, दुई जना सहन्यायाधिवक्तासहित ७ र रवि तर्फबाट ६ जनाले बहसको लागि वकालतनामा लिएको सूचना अधिकारी सुवेदीले बताए ।
बहसमा सहभागी हुन वकालतनामा दर्ता गराउनेहरुमा सात जना सरकारका तर्फबाट र ६ जना प्रतिवादी तर्फका रहेका थिए । जिल्ला सरकारी वकिलको तर्फबाट आजै सरुवा भएर आएका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, उपन्यायाधिवक्ता बुद्धबहादुर थापा र अमृत सुवेदी रहेका छन् ।
त्यसैगरी सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ र अधिवक्ताहरु रमेश काफ्ले, शम्भु बर्तौला र सुनिता अधिकारीले जिल्ला अदालत चितवनमा वकालतनामा दर्ता गराएका छन् ।
लामिछानेका तर्फबाट बहसको लागि एक जना वरिष्ठ अधिवक्तासहित ६ जनाले वकालतनामा लिएका छन् । जसमा वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ताहरु डा. नारायणदत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा र सञ्जय गोले रहेको बताइएको छ ।
प्रतिक्रिया