रविविरुद्धको मुद्दामा त्रुटि गरेको भन्दै चितवन जिल्ला न्यायाधिवक्तामाथि छानबिन थालियो

काठमाडौं । साहारा चितवन सहकारी प्रकरणको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा त्रुटि गरेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधिवक्तामाथि छानबिन थालिएको छ ।

जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललाई जिल्ला सरकारी वकिलको कार्यालय चितवनबाट तत्काल महान्याधिवक्ताको कार्यालयमा सरुवा गरेर छानबिन सुरु गरिएको हो ।

सरकारी वकिलको कार्यालयले हिजो सहारा बचत तथा ऋण सहकारीको रकम अपचलनसम्वन्धी मुद्दामा लामिछानेसहित १५ जनामाथि पूरक अभियोजन दर्ता गरेको थियो । उक्त अभियोजनमा लामिछानेलाई ‘संगठित अपराध’ हटाएर ‘ठगी’ को कसुर मात्रै लगाइएकोप्रति महान्यायाधीवक्ताको कार्यालय सन्तुष्ट छैन ।

यही विषयमा लुइँटेललाई चितवनबाट तानेर छानबिन सुरु गरिएको महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता समेत रहेका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए । नायव महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको उनले बताए ।

मंगलबार गठित समितिमा उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहयायाधीवक्ता इश्वरीप्रसाद ढकाल र महान्यायाधीवक्ताको कार्यालयका उपन्यायाधीवक्ता रुद्रप्रसाद आचार्य सदस्य रहेका छन् । समितिले हिजोदेखि नै काम थालेको छ । तर, समितिको कार्यकाल भने यकिन नभएको दाहालले बताए ।

छानबिनबाट प्राप्त हुने तथ्य अनुसार थप प्रक्रिया अघि बढ्ने प्रवक्ता दाहालको भनाइ छ । लुइँटेललाई महान्याधिवक्ताको कार्यालय तानिएसँगै चितवनमा उच्च सरकारी वकिलको कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई ल्याइएको छ ।

लामिछानेले पोखरा र बुटवलबाट आफैँ ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको लुँइटेलले बताएका थिए ।

अभियोग पत्रमा साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोडका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रविको एकल हस्ताक्षरबाट खर्च भएको उल्लेख छ ।

प्रतिक्रिया