चितवनमा रविविरुद्ध ठगीको मात्रै अभियोग

काठमाडौँ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा सहकारी ठगी अभियोगमा मुद्दा दर्ता भएको छ । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहित १५ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

सहकारीमार्फत् गोर्खा मिडियामा गएको रकमको चेक काट्ने काममा मात्र रविको संलग्नता भेटिएकाले रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ । तर, अन्य १२ जनालाई भने संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । यससँगै लामिछानेमाथिको मुद्दा चितवन पुग्दासम्म कमजोर भएको देखिएको छ । कास्कीमा संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण गरी ३ वटा कसुरमा मुद्दा दायर भएकामा त्यसपछि काठमाडौँ र रुपन्देहीमा भने उनलाई संगठित अपराध र सहकारी ठगीमा मात्र मुद्दा दायर भएको थियो ।

अहिले चितवन आइपुग्दा सहकारी ठगीमा मात्र सीमित भएको छ । चितवनमा रविविरुद्धको मुद्दा फितलो देखिएपछि यसअघि सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझाएको प्रतिवेदन फिर्ता भएको थियो । अहिले दास्रो प्रयासमा यो मुद्दा दायर भएको हो ।

प्रहरीको अनुसन्धान प्रतिवेदनमा यस सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।

यसअघि लामिछाने ३ जिल्लाका सहकारीको मुद्दाबाट धरौटीमा छुटेका थिए । सुरुमा कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख, त्यसपछि काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६५ लाख र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा १ करोड धरौटी बुझाएर उनी छुटेका हुन् ।

प्रतिक्रिया