कम उमेरमै फैलिँदै क्यान्सरको जालो

काठमाडौँ । क्यान्सरजस्तो प्राणघातक रोग पाको उमेर भएकालाई बढी लाग्छ र यस्ता रोग लागेपछि जीवन नै समाप्त हुन्छ भन्ने आमधारणामा परिवर्तन आएको छ । पछिल्ला वर्षमा क्यान्सर लागेर पनि समयमै उपचार भए लामो समय बाँच्न सकिन्छ भन्ने विज्ञानले सिद्ध गरेको छ ।

मंगलबार विश्वभर क्यान्सर दिवस मनाइरहँदा नेपालमा भने क्यान्सरको नाम सुन्नेबित्तिकै तर्सिने उत्तिकै छन् । अझ पछिल्लो समय साना उमेरका केटाकेटीमा पनि क्यान्सर रोग प्रशस्त देखिन थालेको छ । यसको उपचार पद्धति महँगो भएकाले पनि मान्छेमा रोगसँगै चिन्ताले सताउने गर्छ । कैयौँ व्यक्ति रोग लुकाएर उपचार नै गराउँदैनन् र अकालमै जीवन गुमाउँछन् ।

सुरुआती चरणमै रोग पहिचान भए निको हुन सक्ने चिकित्सकहरू बताउँछन् । ‘क्यान्सर लाग्दैमा डराउनुपर्दैन, प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुन्छ,’ चिकित्सक राजेन्द्र बराल भन्छन्, ‘क्यान्सरले उमेर पनि भन्दैन । उपचारका क्रममा भर्खरै जन्मिएका शिशुलाई पनि क्यान्सर लागेको भेटेका छौँ ।’ उपचारका क्रममा भर्खर जन्मिएको शिशुदेखि १०५ वर्षको उमेरका व्यक्तिलाई पनि क्यान्सर लागेको भेटेको उनले सुनाए । सबै क्यान्सर खानपानका कारण मात्रै नहुने डा. बरालको भनाइ छ । ‘साना बच्चाले धूमपान, मद्यपान नगर्ने भए पनि उनीहरूलाई पनि क्यान्सर लाग्न सक्छ,’ उनले भने, ‘त्यसकोे कारण हामीले दैनिक खाने खाना र वंशानुगत धेरै हुन्छ ।’

पछिल्लो समयमा नेपालमा खाइने फास्ट फुडलगायत दैनिक खाना स्वस्थकर नहुनु पनि क्यान्सरको एक कारण रहेको उनले सुनाए । ‘बिहान सानो किनेको लौका बेलुका ठुलो हुन्छ । स्याउ तातो पानीमा राख्दा मैनबत्ती निस्कन्छ । हरियो करेला, परबलजस्ता तरकारीमा रङ हालेर आकर्षक बनाइएको हुन्छ । त्यस्ता खाना खाने गरिएको छ,’ उनले भने । क्यान्सर जस्ता रोग निम्त्याउन त्यस्ता खानाले पनि असर गर्ने उनले सुनाए ।

साना बच्चाहरूमा क्यान्सर देखिनुमा चाहिँ वंशानुगत कारण रहेको उनको अनुभव छ । रेडिएसन (विकिरण) प्रयोगका कारण पनि क्यान्सरको जोखिम हुने भन्दै उनले भने, ‘जापानको नागासाकी र हिरोसिमामा अमेरिकाले वर्षौं पहिला हानेको बमको प्रभावले अहिले जन्मिएका बच्चामा क्यान्सर देखिएको छ ।’ बच्चामा लाग्ने क्यान्सर भने राम्रोसँग उपचार गरेमा ९० प्रतिशतभन्दा माथि निको हुने उनले दाबी गरे । ठुलो मान्छेमा भन्दा सानो बच्चालाई लागेको क्यान्सर छिटो निको हुने उनको अनुभव छ ।

जनचेतनाका कुरा जति गरे पनि ठुलो मान्छेमा लागेको क्यान्सर भने तेस्रो वा चौथो स्टेजमा पुगेपछि मात्रै ७५ प्रतिशत बिरामी उपचारका लागि अस्पताल आउने गरेको उनले बताए । तर, समयमै उपचार गराउन सके ठुलो मान्छेको भन्दा साना बिरामीको उपचार निको हुने भए पनि कम उमेरमै क्यान्सर देखिने क्रम बढ्दो रहेकामा उनले चिन्ता व्यक्त गरे ।

भारतको मुम्बईमा चिकित्साशास्त्र पढेका उनले अध्ययन र उपचारका क्रममा भेटिएका नेपालीको अवस्था सुनाए । ‘३० वर्षअघिको कुरा हो, ब्लड क्यान्सर भएका १६–१७ वर्षका २ जना केटाकेटी उपचारका लागि आए । एउटै कोठामा एउटै डाक्टरले उपचार गर्ने एउटै रोगका उनीहरूमा एकअर्काप्रति आकर्षण भएछ । हामी बिहे गर्छौं भने, परिवारले पनि समर्थन गरे, अस्पतालमै बिहे गरे । अहिले ३० वर्ष भयो बच्चा पनि राम्रो जन्मिए, राम्रो जीवन बिताइरहेका छन् ।’

क्यान्सर लागेर सबैले ज्यान नगुमाएको सुनाउँदै उनले भने, ‘सानोमा क्यान्सर लागेर उपचार गरेकाहरू आज क्यान्सरकै डाक्टर भएका छन् । ‘क्यान्सर ह्याज नो एन्सर’ (क्यान्सरको जबाफ छैन) भन्थे, आज त्यो होइन । अहिले हामी ‘क्यान्सर ह्याज मल्टिपल एन्सर’ (क्यान्सरका थुप्रै जबाफ छन्) भन्छौँ ।’
उनले नेपालमा मात्रै होइन, सार्कका ८ वटै देशमा क्यान्सर रोगको उपचारमा अनुभव सँगालेका छन् । उनका अनुसार क्यान्सर निको नहुने रोग होइन, यो अन्य सुगर, प्रेसर जस्तै हो । तर, बेलैमा पहिचान गरेर उपचार गर्नुपर्ने उनले बताए ।

हरेक वर्ष लाखौँ मानिसको क्यान्सरका कारण हुने मृत्यु जागरण र उपचारका माध्यमबाट जोगाउने उद्देश्यले फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाइन्छ । केही वर्षअघिसम्म डरलाग्दो र ज्यानमारा रोगका रूपमा हेरिने क्यान्सरलाई पछिल्लो समय सामान्य रूपमा हेर्न थालिएको छ । उपचारमै पनि प्रविधिको प्रयोगले ठुलो फट्को मारेको छ । आधुनिक युगसँगै क्यान्सरका बारेमा नयाँ–नयाँ खोज अनुसन्धान भएका छन् । समयक्रममा उपचार पद्धतिमा सहजता थपिएको चिकित्सकहरू बताउँछन् ।

सुरुआती अवस्थामा सीमित स्रोतसाधन र जनशक्तिले मात्रै उपचार गरिरहेको क्यान्सरको उपचारको दायरा फराकिलो भएको छ । पछिल्लो अवसर र सुविधाले पीडितको आयु थपिने गरेको छ । तर, अहिले पनि क्यान्सरको उपचारका लागि कतिपय बिरामी नेपालबाहिर जानुपर्ने अवस्था रहेकाले सरकारले यसमा लगानी बढाएर नेपालमै उपचार गर्ने अवस्था बनाउन आवश्यक रहेको चिकित्सकहरूको जोड छ ।

प्रतिक्रिया