सम्पादकीय
नेपालकै सबैभन्दा ठूलो र मनरोम तालका रूपमा मुगुको राराताल प्रख्यात छ । रारा क्षेत्र पुग्नेहरू यति सुन्दर पर्यटकीय गन्तव्य नेपालमा अर्को नभएको अनुभव लिएर फर्कन्छन् । यति हुँदाहुँदै पनि रारा क्षेत्रले पर्यटक तान्न सकिरहेको छैन । अहिलेसम्मको अवस्था हेर्दा नेपालका पर्यटकीय गन्तव्यमध्ये सबैभन्दा थोरै पर्यटक पुग्ने गन्तव्यमध्ये एक हो, रारा । यति सुन्दर भइकन पनि किन रारा क्षेत्रमा अपेक्षित पर्यटक पुग्न सकेनन् ? भन्ने प्रश्नको उत्तर सिधा छ । पहिलो कुरा त रारा पुग्न जोखिम र कठिन छ । दोस्रो कुरा, पर्यटकका लागि खाने बस्ने स्तरीय पूर्वाधारहरू रारा क्षेत्रमा छैनन् ।
यसै अवस्थालाई मध्यनजर गर्दै निजी क्षेत्रले राराताल नजिकै मुर्माटपमा चारतारे रिर्सोट निर्माण सुरु गरेको छ । समुन्द्री सतहदेखि ३ हजार ३०० मिटरको उचाइमा रहेको मुर्माटपबाट राराको अलौकिक दृष्यावलोकन गर्न सकिन्छ । साथै काञ्जिरोवा, सिस्ने र सैपाल हिमाल आँखै अगाडि देखिन्छन् । रारा घुम्न जानेमध्ये करिब ९० प्रतिशत पर्यटक मुर्माटप पुग्ने गर्छन् । तर ८५ घरधुरी रहेको मुर्माटप नेपालकै सबैभन्दा पिछडिएका गाउँमध्येको हो । मुर्माटपबासीले राराको पर्यटनबाट खासै लाभ लिन सकेका छैनन् ।
अहिले चारतारे रिसोर्ट बन्ने भएपछि मुर्माबासी थप उत्साहित बनेका छन् । रिसोर्टले विकास ल्याउने आशा उनीहरूलाई छ । किनकी लामो समयसम्म प्रयास गर्दा पनि गाउँमा बिजुली आउन सकेको थिएन । तर रिसोर्ट बन्ने तरखरैसँगै गत भदौमा मुर्माबासीले बिजुली बत्ती बाल्ने सौभाग्यसमेत प्राप्त गरेका छन् । अब रोजगारी पाइने र आफ्ना कृषि उपज बिक्री हुने आशामा उनीहरू छन् ।
चारतारे रिसोर्टले मात्रै मुर्माबासीको यो अपेक्षा पूरा होला त ? भन्ने प्रश्न गम्भीर छ । रारा क्षेत्रले अपेक्षित रूपमा पर्यटक तान्न नसक्नुमा १–२ वटा मात्रै कारण छैनन् । कर्णाली राजमार्ग निर्माण सम्पन्न हुनु अघिसम्म त रारामा नगन्य पर्यटकहरू पुग्थे । २ दशकअघि सुर्खेतदेखि जुम्लासम्म कर्णाली राजमार्ग सञ्चालनमा आएपछि रारा जाने पर्यटकको संख्या बढ्न थालेको हो । १ दिन सवारी र अर्को दिन पैदल यात्रा गरेर रारा पुग्न सकिने अवस्था बनेसँगै पर्यटकहरूको वृद्धि हुन थालेको हो ।
यो वृद्धि देखेर मुनाफा आर्जन गर्न सकिने अनुमानका साथ निजी क्षेत्रले यति ठूलो लगानी गरेको हो । रिसोर्ट सञ्चालनमा आएपछि पर्यटकको संख्या अझै बढ्ने निश्चितजस्तै छ । तर कर्णाली राजमार्गलाई सुधार नगर्ने हो भने अपेक्षा गरिएअनुसार लाभ लिन सकिने अवस्था छैन । किनकी सबैभन्दा बढी दुर्घटना हुने कर्णाली राजमार्गका रूपमा दुर्नाम छ ।
६ वर्षअघि २०७५ वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राराताल पुगेर पर्यटन वर्ष शुभारम्भ भएको घोषणा गरेका थिए । पिछडिएको कर्णालीलाई देशकै मुख्य पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ रारालाई छनौट गरिएको दावी त्यतिबेला प्रधानमन्त्री ओलीको थियो । यसका लागि ओलीले रारातालदेखि मुर्माटपसम्म केबुलकार निर्माण गर्ने घोषणासमेत गरेका थिए ।
त्यही घोषणाअनुसार कर्णाली प्रदेश सरकारले हरेक वर्ष आफ्नो नीति तथा कार्यक्रममा यो योजना उल्लेख गर्न थाल्यो । तर, संघीय सरकारले वास्ता नै नगरेपछि प्रदेश सरकारले पनि गत वर्षदेखि आफ्नो नीति तथा कार्यक्रममा यो योजनाबारे उल्लेख गर्न छोड्यो । अब निजी क्षेत्रले रिसोर्ट बनाइसकेपछि रारा–मुर्माटप केबुलकार आयोजनामा सरकारको लगानी जटिल बन्ने पो हो कि भन्ने आशंका पनि उत्पन्न भएको छ ।
किनकी निजी क्षेत्रलाई फाइदा पुग्ने गरी केबुलकार बनाउन खोजिएको आरोप लाग्नेछ । रारातालको पुरै क्षेत्र १८० डिग्रीको कोणबाट देख्न सकिने एक मात्रै ठाउँ मुर्माटप हो । तर राराबाट मुर्माटप पुग्न ३ घण्टा पैदल हिँड्नु पर्छ । रिसोर्ट निर्माणपछि खर्चालु पर्यटकहरू समेत रारा क्षेत्र पुग्ने मार्गप्रशस्त हुनेछ । तर कर्णाली राजमार्ग सुधार नभएसम्म र रारा–मुर्माटप केबुलकार नबन्दासम्म धेरै ठूलो अपेक्षा गर्न सकिने अवस्था छैन ।
प्रतिक्रिया