नेपाली पर्यटनको सकारात्मक दिशा र ‘१० लाख नाघेका ४ वर्ष’

वर्षको २० खर्ब रुपैयाँ तिरेर विदेशी बस्तु आयात गर्छौं, तर विदेशमा साढे २ खर्बको मात्रै नेपाली बस्तु बिक्री गर्छौं । विदेशमा बिक्री गर्ने नेपाली बस्तुहरू पनि अधिकांश स्वदेशी उत्पादन होइनन् । व्यापार घाटाको यो कहालीलाग्दो स्थितिले नेपालको अर्थतन्त्र धरासायी भइसकेको छ । वैदेशिक रोजगारीमा गएका युवाको रगत पसिनाको कमाइबाहेक हामीसँग विदेशी मुद्रा आर्जनको स्रोत छैन ।

हालै आएको पछिल्लो तथ्यांकअनुसार सन् २०२५ को पहिलो महिना अर्थात् जनवरीमा ७९ हजार ९९१ जना विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आएका छन् । तथ्यांक मात्रै हेर्ने हो भने, यो भनेको सन् २०२४ को जनवरी महिनामा भन्दा केवल केही संख्या मात्रै बढी संख्या देखिन्छ । किनभने, सन् २०२४ को पहिलो महिना अर्थात् जनवरीमा ७९ हजार १०० जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका थिए ।

नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याको कुरो गर्दा हालसम्म वार्षिक रूपमा विदेशी पर्यटकको संख्या १० लाख नाघेको भनेको जम्मा ४ वर्ष हो । जस्तो कि, ‘सन् २०१९, सन् २०१८, सन् २०२३ र सन् २०२४ ।’ यी ४ वर्षबाहेक नेपालमा वार्षिक औसतमा साढे ६–७ लाख आएका छन् । अझ त्यसमा पनि सबैभन्दा धेरै संख्यामा विदेशी पर्यटक नेपाल आएको चाहिँ वर्षचाहिँ ‘सन् २०१९ हो । स्मरणीय छ, सो वर्ष अर्थात् सन् ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । त्यस्तै गरेर सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ भने, सन् २०२४ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको संख्या ११ लाख ४७ हजार ५६७ जना रहेको छ ।

सन् २०२३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको संख्या १० लाख १४ हजार ८७६ जना पुगेको थियो । जुन संख्या हाम्रालागि धेरै ठुलो उपलब्धिका रूपमा रहेको थियो । किनभने, सन् २०१९ को डिसेम्बर अन्तिम ताका सुरु भएको विश्वव्यापी कोरोना महामारीपछि नेपाली पर्यटनले छलाङ मार्दै सन् (लगभग ३ वर्षमा) २०२३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको संख्या १० लाख नाघेको थियो । सन् २०२४ को १२ महिनामा मासिक रूपमा आएका विदेशी पर्यटकहरूको तथ्यांक यस्तो छ ।

१, जनवरी महिनामा ७९ हजार १०० जना । २, फेब्रुअरी महिनामा ९४ हजार ४२६ जना । ३, मार्चमा १ लाख २८ हजार १६७ जना । ४, अप्रिल महिनामा १ लाख ११ हजार ३७६ जना । ५, मे महिनामा ९० हजार २११ जना । ६, जुन महिनामा ७६ हजार ७३६ जना । ७, जुलाई महिनामा ६४ हजार ५९९ जना । ८, अगस्ट महिनामा ७२ हजार ७१९ जना । ९, सेप्टेम्बर महिनामा ९६ हजार ३०५ जना । १०, अक्टोबर महिनामा १ लाख २४ हजार ३९३ जना । ११, नोभेम्बर महिनामा १ लाख १४ हजार ५०१ जना । १२, डिसेम्बर महिनामा ९२ हजार ३४ हजार जना । यसरी तथ्यांक हेर्दाखेरि सन् २०२४ को १२ महिनामा जम्मा ११ लाख ४७ हजार ५६७ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गर्न आएका छन् ।

साथै नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको हालसम्मको वार्षिक आगमन संख्या (तथ्यांक) हेर्ने हो भने, माथि नै भनिएझैँ अहिलेसम्म नेपाल भ्रमण गर्न आएका पर्यटक संख्याले जम्मा ४ वर्ष मात्रै १० लाख नाघेको देखिन्छ । हुन त आजभोलि नेपालमा मात्रै नभएर विश्वका प्रायः सबै देशमा पर्यटकीय गतिविधि बढेको अवस्था छ, पर्यटकीय गतिविधिहरू चलायमान रहेको छ । फलतः सन् २०२५–२६ देखि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या १२ लाख ६०–७० हजारदेखि १३ लाख १०–१५ सम्म हजार पुग्ने र क्रमशः १४, १५, १६, लाख नाघ्ने आशा गर्न सकिन्छ । त्यसो त विश्व पर्यटन गतिविधिका सम्बन्धमा विश्व पर्यटन संगठन (डब्लुटिओ) ले पहिले नै (सन् २०२० मा) ‘विश्व पर्यटन उद्योग’ सन् २०१९ को स्थितिमा पुग्न सन् २०२५–२६ सम्म लाग्ने अनुमान गरेको थियो ।

सन् २०१८ मा नेपाल भ्रमण गर्न आएका ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकको संख्या भनेको अघिल्लो वर्ष अर्थात् सन् २०१७ को तुलनामा २४ दशमलव ८ प्रतिशत बढी रहेको थियो । त्यस्तै सन् २०१७ मा ९ लाख ४० हजार २१८ जनाले विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । यो भनेको सन्् अघिल्लो वर्ष अर्थात् सन् २०१६ को तुलनामा २४ दशमलव ८ प्रतिशतले बढी संख्या रहेको थियो । रोचक पक्ष के छ भने नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या वृद्धि दर सन् २०१७ र सन् २०१८ मा बराबर जस्तै रहेको थियो ।

सन् २०१६ चाहिँ ७ लाख ५३ हजार २ जना विदेशी पर्यटकहरूले मात्रै नेपालको भ्रमण गरेका थिए भने यो संख्या भनेको सन् २०१५ को तुलनामा माइनस शून्य दशमलव ९ प्रतिशतले कमी रहेको थियो । त्यस्तै सन् २०१५ मा चाहिँ केवल ५ लाख ३८ हजार ९७० जना विदेशी पर्यटकहरूले मात्रै नेपाल भ्रमण गरेका थिए । त्यसको खास कारणचाहिँ नेपालमा भूकम्प जानु र भारत सरकारले नेपालमाथि नाकाबन्दी लगाउनुरहेको थियो । हुन पनि सो वर्ष ठूलो पैमानामा नेपालमा विदेशी पर्यटकको आगमन दरमा कमी आयो । अर्थात् एकैचोटि लगभग एकतिहाइले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या घटेको थियो ।

तथ्यांककै आधारमा भन्नुपर्दा सन् २०१५ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या सन् २०१४ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तुलनामा माईनस ३१ प्रतिशतले कमी रहेको थियो । उता सन् २०१४ मा भने ७ लाख ९० हजार ९२ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए भने सो संख्या सन् २०१३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याको तुलनामा शून्य दशमलव ९ प्रतिशतले मात्रै कमि रहेको थियो । त्यस्तै गरेर सन् २०१३ मा चाहिँ ७ लाख ९७ हजार ६१६ जना विदेशी पर्यटकहरूले नेपालको भ्रमण गरेका थिए ।

यो तथ्यांक हेर्दा सन् २०१३ र सन् २०१४ मा (२ वर्ष नै) लगभग हाराहारी संख्यामा विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । तर सन् २०१२ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यासँग तुलना गरेर हेर्दा शून्य दशमलव ७ प्रतिशत कमी रहेको थियो । तथ्यांकअनुसार सन् २०१२ मा ८ लाख ३ हजार ९२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो संख्या भनेको सन् २०११ को तुलनामा ९ दशमलव १ प्रतिशतले बढोत्तरी भएको थियो ।

यसरी नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तथ्य–तथ्यांक हेर्दाखेरि सन् २०१३ देखि सन् २०२४ को १२ वर्ष लामो अवधिमा बल्लतल्ल ८२ लाख चानचुन पुगेको देखिन्छ भने उनीहरूको नेपाल बसाईं अवधिचाहिँ लगभग १३ दिनभन्दा घटेको छैन । जस्तै नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको प्रतिदिन प्रतिव्यक्ति बसार्इं अविध सन् २०१३ मा १२ दशमलव ६ दिन, सन् २०१४ मा १२ दशमलव ४४ दिन, सन् २०१५ मा १३ दशमलव १६ दिन, सन् २०१६ मा १३ दशमलव ४ दिन, सन् २०१७ मा १२ दशमलव ६ दिन, सन् २०१८ मा १२ दशमलव ४ दिन, सन् २०१९ मा १२ दशमलव ७ दिन, सन् २०२० मा १५ दशमलव १ दिन, सन् २०२१ मा १५ दशमलव ५ दिन र सन् २०२२ मा १३ दशमलव १ दिन रहेको भने, सन् २०२३ मा १३ दशमलव १ दिन रहेको थियो ।

गत वर्ष (सन् २०२४) को भने नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको नेपाल बसार्इं अवधि प्रतिव्यक्ति प्रतिदिन कति दिन रह्यो ? भन्ने सम्बन्धमा तथ्यांक आइसकेको छैन । सूचना, सञ्चार र प्रविधिले असाध्यै फड्को मारेको वर्तमान समयमा जुन देशको सरकार र पर्यटन व्यवसायीले आफ्नो देशका पर्यटकीय गतिविधिबारे छिटो र छरितो ढंगले सूचना, सञ्चार र प्रविधिको प्रयोग गर्छन्, ती देशले बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सक्छन् भन्ने देखिन्छ । जुनसुकै देशको सरकार र पर्यटन व्यवसायीले पनि आफ्नो देशका पर्यटकीय गतिविधिबारे छिटो र छरितो ढंगले सूचना, सञ्चार र प्रविधिको प्रयोग गर्छन्, ती देशमा विदेशी पर्यटकहरूको आगमनमा विविधता पनि आउन सक्ने देखिन्छ ।

आजभोलि सूचना, सञ्चार र प्रविधि विकासले गर्दा विश्व नै एक गाउँ (ग्लोबल भिलेज) भइसकेको छ । त्यसैले अब हामी नेपालीले पनि पछिल्लोपटक विकसित भएको सूचना, सञ्चार र प्रविधिको विकासलाई सही सदुपयोग गरेर धेरैभन्दा धेरै देशका पर्यटकहरूलाई धेरैभन्दा धेरै संख्यामा नेपाल भ्रमण गराउन लागी पर्नुपर्ने देखिन्छ । यसका लागि नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड (एनटिबी) र निजी क्षेत्रका पर्यटन व्यवसायी तथा संघसंस्थाहरूले पहल गर्नुपर्ने देखिन्छ ।

चिनियाँ पर्यटकको आगमन अपेक्षाकृत हुन नसक्दा मध्यमस्तरका होटलहरू संकटमा छन् । यति मात्रै होइन चिनियाँ भाषा सिकेका पथप्रदर्शकहरू पलायन हुने अवस्थामा छन् । ५–७ वर्षअघि चिनियाँ पर्यटकको संख्या ह्वात्तै बढेका कारण चिनियाँ भाषा जान्ने पथप्रदर्शक उत्पादनमा पर्यटन व्यवसायीहरूले ठुलै लगानी गरेका थिए । चिनियाँ पर्यटकहरूको संख्या न्यून हुँदा नेपालले बेहोर्नुपर्ने सबैभन्दा ठूलो समस्या भनेको चीनसँगको व्यापार घाटा हो । चीनबाट नेपालले वार्षिक करिब ३ खर्ब रुपैयाँ बराबरको उपभोग्य बस्तु आयात गर्छ । तर निर्यात भने १ अर्ब रुपैयाँ बराबर पनि छैन । चीनसँगको यो कहालीलाग्दो व्यापार घाटालाई कम गर्ने एक मात्रै उपाय भनेको जतिसक्दो धेरै चिनियाँ पर्यटक नेपाल भित्र्याउनु हो ।

एउटा भनाइ नै छ, संकट सँगसँगै अवसर पनि आउँछ । अवसरलाई समात्न जान्ने हो भने संकट पार लाग्छ, अवसरलाई समात्न नसक्ने हो भने संकटले सिध्याइदिन्छ । यतिबेला हाम्रो मुलुक यस्तै संकट र अवसरको दोसाँधमा छ । पहिलो कुरा त हामीसँग निर्यात गर्न सकिने बस्तु खासै छैन । वर्षको २० खर्ब रुपैयाँ तिरेर विदेशी बस्तु आयात गर्छौं, तर विदेशमा साढे २ खर्बको मात्रै नेपाली बस्तु बिक्री गर्छौं । विदेशमा बिक्री गर्ने नेपाली बस्तुहरू पनि अधिकांश स्वदेशी उत्पादन होइनन् । व्यापार घाटाको यो कहालीलाग्दो स्थितिले नेपालको अर्थतन्त्र धरासायी भइसकेको छ । वैदेशिक रोजगारीमा गएका युवाको रगत पसिनाको कमाइबाहेक हामीसँग विदेशी मुद्रा आर्जनको स्रोत छैन ।

हाम्रो मुलुकमा उद्योगका लागि कच्चा पदार्थ छैन । विदेशबाट कच्चा पदार्थ ल्याएर औद्योगिक उत्पादन निर्यात गर्न सकिने अवस्था छैन । किनकी हाम्रो मुलुक भूपरिवेष्टित हो । जनतालाई सबैभन्दा बढी कर लगाउने मुलुक मध्ये हाम्रो मुलुक विश्वमा सबैभन्दा अगाडि छ, तर यति हुँदाहुँदै पनि हाम्रो मुलुकको राजस्वले कर्मचारीसमेत पाल्न पुगेको छैन । विकास निर्माणका लागि विदेशीसँग ऋण लिनुबाहेक अर्को विकल्प छैन । नेपालमा पर्यटन क्षेत्रको संभावना निकै ठुलो छ । पर्यटन व्यवसायको प्रवद्र्धन र उपयोग गर्न जान्ने हो भने नेपालको समृद्धि टाढा छैन ।

प्रतिक्रिया