मदन भण्डारीले चीनमा रहँदा कुन कुन नेतासँग भेटघाट भयो ? उनीहरूसँग के के कुराहरू भयो ? भन्ने विवरणहरू आफ्नो निजी डायरीमा उल्लेख गरेका थिए । त्यो डायरी बारेमा अहिलेका प्रधानमन्त्री ओलीलाई थाहा थियो भनिन्छ । पछि त्यो डायरी हरायो । हराएको त्यो डायरी पछि सिआइआएको हातमा पुगेको र त्यहि डायरी मदन भण्डारीको हत्याको कारण बनेको जानकारहरू बताउँछन् ।
२०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश नै हुने गरी दरबार हत्याकाण्ड भएको थियो । यो हत्याकाण्ड भएको २३ वर्ष भइसकेको छ । तर अहिलेसम्म यो घटनाको वास्तविकता सार्वजनिक भएको छैन । जे चाहि सार्वजनिक भएका छन् ती कुराहरू मात्र छन् ।
त्यो घटना भएको बेला राजा वीरेन्द्र देशको राष्ट्र प्रमुख थिए । राष्ट्र प्रमुखको यस्तो रहस्यमय हत्याकाण्डको विषयमा सत्यतथ्य सार्वजनिक हुन नसक्नु मुलुककै लागि दुर्भाग्यपूर्ण हो । यो घटना गराउन तत्कालीन पूर्व युवराज दीपेन्द्र शाहको प्रत्यक्ष संलग्नता भएको देखाउने कसरत धेरै भए । तर घटनाक्रम सबैलाई हेर्दा दीपेन्द्रले नै घटना गराएको भन्ने कुरामा विश्वासिलो आधार देखिँदैन ।
दीपेन्द्रले आफ्ना बाबुआमा लगायतका सबैको ज्यान जाने गरी गरेको हत्याकाण्डको कारणका रूपमा भनिएको छ, ‘उनी पशुपति शमशेर जबराकी छोरी दिब्यानी राणालाई विवाह गर्न चाहन्थे तर त्यो चाहना राजारानीबाट अवरोध भयो, त्यसैको आक्रोश स्वरूप उनले परिवार नै समाप्त गरिदिए, आफूलाई पनि समाप्त गरे ।’ यो दावीलाई धेरैले पत्याएका छैनन् । कसैले पनि सामान्य कारणले कसैको पनि हत्या गर्दैन । हत्याको पछाडि निकै गम्भीर कारण हुनुपर्नेछ । दीपेन्द्रले विवाहकै कारण हत्या गरेको भए त्यो हत्याकाण्डपछि दिब्यानीसँग विवाह गर्न झन् असम्भव हुन्थ्यो । दिब्यानीलाई भगाएर पनि विवाह गरेर बस्न सक्थे उनी । उनी युवराज थिए । वीरेन्द्रपछि उनी राजा हुन्थे । त्यतिवेला पनि विवाह गर्न सक्दथे । तर यति सामान्य कुरामा बाबु आमालगायत सबै परिवार समाप्त हुने गरी हत्याकाण्ड गराएका होलान् भनेर विश्वास गर्न सकिँदैन ।
यति धेरै गोली चल्दा दरबारको सुरक्षामा रहेका सुरक्षाकर्मीले के हेरेर बसे ? उनीहरूले बचाउने, सुरक्षा दिने कोशिस नगर्नुले पनि यो काण्डलाई थप रहस्यमय बनाएको छ । परिवारका सबै सदस्य मारीसकेपछि अन्तिममा आफूले आफँैलाई गोली हानी आत्महत्या दीपेन्द्रले गरेको भनेर झुठो हल्ला फिजाइएको थियो । तर, घटनाको प्रकृति त्यस्तो देखिएको छैन । दीपेन्द्रले आफैँले आफैँलाई गोली हानेको पुष्टि हुँदैन । टाउकोको जुन साइडमा गोली लागेको छ, त्यहाँ आफैँले गाली हान्न सम्भव हुँदैन । अरूले हानेको भन्ने देखिन्छ ।
घटनाको प्रकृतिले त के देखाउँछ भने आफ्नो कोठामा सुतिरहेका दीपेन्द्रलाई सर्वप्रथम गोली हानी मारियो । अनि पार्टी भएको ठाउँमा गोली बर्साउन थालियो । रानी ऐश्वर्या आत्तिएर छोरालाई बोलाउन गइन्, त्यही बेला भर्याङमा रहेको व्यक्तिले माथिबाट रानीमाथि गोली हानिदिए । रानीको टाउको छताछुल्ल भएको अवस्थामा भेटिएकोले यसले पनि यहि कुरा पुष्टि गर्छ । जानकारहरूको भनाइ के छ भने, समयमा नै अस्पताल पुर्याएको भए राजा वीरेन्द्र र निराजन बाँच्न सक्ने अवस्था थियो । तर समयमा नै अस्पताल पुर्याउने कोशिस भएन । यो कोशिस किन भएन ? भन्ने प्रश्नले पनि दीपेन्द्रले नै यो हत्याकाण्ड गराएको थिए भन्न सकिने अवस्था छैन ।
यो काण्डमा गोली लागी धेरै सदस्य मरेका छन् । उनीहरूको जहाँ जहाँ गोली लागेको छ, त्यस घटना हेर्दा पनि एकै व्यक्तिले गोली हानेको देखिँदैन । यस्ता ठुला हत्याकाण्डमा परिवेश र अन्य कारण पनि निर्णायक हुन्छन् । यसतर्फ आमजनमानसमा चर्चा हुने गर्छ । यो हत्याकाण्ड भएको बेलाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशलाई पनि वस्तुनिष्ठ ढंगले विश्लेषण गर्नुपर्ने हुन्छ । त्यतिबेला अमेरिकी गुप्तचर निकाय सिआइएले दरबारभित्र आफ्नो अनुकूलता खडा गरेको थियो र राजाका निजी सचिवसम्म आर्मीका प्रमुख सिआइएबाट सञ्चालित कार्टर सेन्टरसँग सम्बन्धित थिए भनिन्छ ।
साथै माओवादी ‘जनयुद्ध’ यो हत्याकाण्ड भएको वेला छैठौँ वर्षमा प्रवेश गरेको थियो । यसले देशभित्र भयावह अवस्था खडा गरेको थियो । खास गरेर अमेरिकीहरू माओवादी र राजबीच सशस्त्र द्वन्द्व चर्काउन लागिपरेका थिए । अमेरिकाले खडा गरेको दरबारभित्रको सेन्टरले सेनालाई मात्र होइन आफ्नो बनी माओवादीका कति कमान्डहरूलाई प्रभावमा पारेको थियो । जुन कमान्डरहरू अहिले माओवादीभित्र पश्चिमा परस्त भनी चिनिन्छन् ।
अहिले पनि उनीहरूको सम्बन्ध अमेरिकी पावर सेन्टर छ भनिन्छ । माओवादीलाई दमन गर्नका लागि नेपाली सेनालाई प्रति आतंकवादी तालिम दिन अमेरिकी सेना नेपालमा कार्यरत थियो । अमेरिकीहरू राज्य र माओवादीलाई उचालेर भीषण युद्ध गराएर युएनको शान्ति सेना नेपाल ल्याउने योजनामा थिए भनिन्छ । राजा वीरेन्द्र माओवादीलाई दमन गर्नाले स्थायी शान्ति हुँदैन भन्ने पक्षमा थिए, उनीहरूलाई शान्तिपूर्ण निकास दिनुपर्छ भन्ने पक्षमा थिए भनिन्छ । माओवादीले पनि नोकरसँग होइन मालिकसँग कुरा गर्ने भन्दै आएका थिए । युएनका शान्ति सेनाको आवरणमा नाटो सेना नेपाल उर्ताने अमेरिकी योजना थाहा पाएर राजा वीरेन्द्रलाई चीनले ओहावो सम्मेलनमा बोलाएको थियो र उच्च सम्मान पनि दिएको थियो ।
राजा वीरेन्द्रलाई त्यतिबेला चिनियाँ उच्चतहका नेताहरूले माओवादीलाई दमन गरेर होइन शान्तिपूर्ण निकास दिनुपर्ने र शान्ति सेनाका नाममा अमेरिकी सेना ल्याउने योजना असफल गराउने सल्लाह दिएको थियो भनी जानकारहरू बताउँछन् ।
राज्य र माओवादी द्वन्द्व चरम उत्कर्षमा पुर्याएर युएनको अवधारणमा नेपालमा अमेरिकी वा नाटोका सेना उतार्ने योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको बेला दरबार हत्याकाण्ड भएकोबाट के देख्न सकिन्छ भने राजाको चीन भ्रमणपछि राज्य र माओवादी द्वन्द्व चर्काएर शान्ति स्थापनाको नाममा युएनको ब्यानरमा अमेरिकी वा नाटो सेना ल्याउन नसकिने निष्कर्षमा पुगेको अमेरिकी गुप्तचर संस्थाले हत्याको योजना बनाएको र कार्यान्वयन गर्न उसले दरबार भित्रको पश्चिमा सेन्टर, पश्चिमासँग निकट सम्बन्ध रहेका माथिल्लो तहको सेनाका अधिकारी र भारतीय गुप्तचर संस्था ‘रअ’को सहयोग लिएको भन्ने जानकारहरू बताउँछन् । घटनाक्रमले पनि त्यस्तै देखाउँछ ।
केही समय अघि हालका प्रधानमन्त्री केपी शर्मा ओलीले उमेश गिरीको हवला दिँदै मदन भण्डारीको हत्यामा गिरीजाप्रसाद कोइरालाको हात रहेको थियो भन्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो भन्ने । यसबाट पुनः मदन भण्डारीको जिप दुर्घटना र रहस्यमय मृत्युमा कसको हात थियो भन्ने प्रश्न गम्भीर भएर उठेको छ ।
२०४६ सालपछि नेपाली राज्यसत्ता पूर्णरूपमा भारतबाट नियन्त्रित रहेको थियो । त्यस्तै प्रभाव पश्चिमाहरूको पनि रहेको थियो । सारांशमा त्यतिवेला नेपाली राजनीति पश्चिमाहरूद्वारा नियन्त्रित थियोभन्दा हुन्छ । छिमेकी भूमिमा भारत र पश्चिमा हावी हुँदा आफ्नो देशको राष्ट्रिय सुरक्षामा चुनौती थपिने महसुस गरी ४६ सालपछि उदाएका एमालेका नेता मदन भण्डारीलाई आफू अनुकूल बनाउन चीनले प्रयास गरेको थियो । भारत अमेरिकाको षडयन्त्र असफल बनाउन मदन भण्डारीलाई चीनले बोलाएर उच्च स्तरको भेटघाट गरेको थियो । मदन भण्डारीले चीनमा रहँदा कुन कुन नेतासँग भेटघाट भयो ? उनीहरूसँग के के कुराहरू भयो ? भन्ने विवरणहरू आफ्नो निजी डायरीमा उल्लेख गरेका थिए । त्यो डायरी बारेमा अहिलेका प्रम ओलीलाई थाहा थियो भनिन्छ । पछि त्यो डायरी हरायो ।
हराएको त्यो डायरी पछि सिआइआएको आतमा पुगेको र त्यहि डायरी मदन भण्डारीको हत्याको कारण बनेको जानकारहरू बताउँछन् । हुन त यो काण्ड दुर्घटना नै हो भन्ने सुरुदेखि नै पुष्टि गर्न कसरत गरेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफू निकटका पत्रकारहरूलाई बोलाएर यो दुर्घटना नै हो भन्ने समाचार प्रसारित गर्नु भनी खाम दिएको भनिन्छ । त्यतिवेला कोइराला निकटले प्रकाशन गरेका पत्रिका हेर्दा पनि यो संकेत देखिन्छ ।
२०४८ सालमा कृष्णप्रसाद भट्टराईलाई षडयन्त्रपूर्वक हराएर शक्तिशाली बनेका कोइराला निरन्तर प्रधानमन्त्री हुन चाहन्थे । तर मदन भण्डारी त्यो चाहाना पूरा गर्न वाधक हुन सक्ने उनको मूल्यांकन रहेको कोइराला निकटका व्यक्तिहरू बताउँछन् । यस दुर्घटनामा कोइरालाको पनि हात हुन सक्ने उनीहरू बताउँछन् ।
प्रतिक्रिया