माओवादीमा गुटैगुट

सबै गुटको होड प्रचण्डको उत्तराधिकारी बन्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) भित्र चलिरहेको गुटबन्दी भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा छताछुल्ल भयो । गत असोज महिनामा सुरु भएको क्रान्तिकारीको निर्वाचन सम्पन्न हुन माघ महिनासम्म कुर्नुप¥यो । क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लागेपछि गत १८ माघमा चुनावी प्रक्रियामार्फत निर्वाचन सम्पन्न भयो । यो निर्वाचनले आमजनमानसमा देखिनेगरी माओवादी केन्द्रभित्रको गुटगत राजनीतिको पर्दाफास गरेको छ । यस निर्वाचनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वीकृति लिएर उपमहासचिव शक्ति बस्नेतले विजय प्रकाश शर्मा सापकोटाको नेतृत्वमा प्यानल बनाएर निर्वाचन लडाए भने अर्का उपमहासचिव जनार्दन शर्माले पनि अध्यक्ष हेमन्त राईको नेतृत्वमा तलसम्मै प्यानल बनाए ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपदेश कुमार यादवको अध्यक्षतामा सम्भव भएसम्म प्यानल नै बनाए । यता अर्का उपमहासचिव वर्षमान पुनको समर्थन अध्यक्ष सुदिन पौडेललाई रहेको थियो । अध्यक्षका अर्का उम्मेदवार योगेन्द्रबहादुर बुढालाई भने देखिने गरी कुनै नेताले बोकेका थिएनन् । क्रान्तिकारीको अध्यक्षमा उपमहासचिव शक्ति बस्नेतका उम्मेदवार विजय प्रकाश शर्मा सापकोटा ६८६ मत ल्याएर निर्वाचित भए भने निकटतम प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत ल्याए । पदाधिकारीमा उपमहासचिव शर्मा पक्षीय प्यानलले बहुमत नै हासिल ग¥यो । यो परिणामले पार्टीका तल्ला तहसम्मै शर्माको पकड रहेको संकेत गर्यो ।

पछिल्लो समयमा माओवादीमा देखिनेगरी ४ गुट बनेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा उपमहासचिव शक्ति बस्नेतले गुट खडा गरेका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले भने यसअघि नै गुटको अभ्यास गर्दै आएका थिए । विगतमा पार्टीको केन्द्रदेखि जिल्ला तहसम्म र जनवर्गीय संगठनहरूमा निर्वाचन नहुने गरेकोले उनीहरूले आ–आफ्नो भाग लिने गरेका थिए । यसपटक भने उनीहरूले निर्वाचनमार्फत नै आ–आफ्नो शक्ति परीक्षण गरेका छन् । उपमहासचिव जनार्दन शर्मा आगामी दिनमा हुने पार्टीका सबै तह र तप्काको निर्वाचनमा आफ्नो गुट बनाएर जाने तयारीमा देखिएका छन् । अन्य नेताहरू पनि आपसमा भिडेरै जाने तयारीमा देखिएका छन् ।

सौर्य दैनिकसँग कुरा गर्दै नेकपा(माओवादी केन्द्र)का केन्द्रीय कमिटी सदस्य लेखनाथ न्यौपानेले पार्टीभित्रको गुटबन्दी विद्यार्थीको निर्वाचनसम्म आइपुग्दा सार्वजनिक रूपमा छताछुल्ल भएको बताए । यसले पार्टीको दैनिक जीवनलाई नराम्ररी प्रभावित पार्ने दावी गर्दै उनले भने, ‘पदाधिकारी तहबाटै गुटबन्दी भइरहेको कुरा त छर्लंगै छ । तर पार्टीका अन्य जनवर्गीय संगठनहरूको निर्वाचनमा पनि यो रोग सर्ने देखिन्छ ।’

पुनलाई ल्याउने प्रचण्ड कसरत अन्योलमा

अध्यक्ष प्रचण्डले पार्टीको सक्रिय राजनीतिमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई ल्याउन चाहेका थिए । उनकै चाहना बमोजिम पुन पार्टी पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा समेत सहभागी भइसकेका थिए । तर पार्टीभित्रैबाट आलोचना भएपछि उनलाई पार्टी जिम्मेवारी दिइएको छैन । गत २१ देखि २३ पुससम्म चलेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पुन आफैँ राजनीतिमा फर्किन चाहेको भन्ने अभिव्यक्ति दिएसँगै पूर्वउपराष्ट्रपति पुन अध्यक्ष प्रचण्डसँग रिसाएका एक नेताले जानकारी दिए ।

एकअर्काको त्रासका कारण गुटको जन्म

माओवादी केन्द्रमा गुटगत राजनीति मौलाउँदै गए पनि अध्यक्ष प्रचण्डलाई भने कसैले चुनौती दिएका छैनन् । पार्टीको आठौँ महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष निर्वाचित भएका उनलाई आगामी महाधिवेशनमा पनि अध्यक्षमा टक्कर दिनेगरी हालसम्म कसैले पनि तयारी गरेको देखिँदैन । तर माओवादी केन्द्रभित्र प्रचण्डको उत्तराधिकारी बन्ने होडमा नेताहरू लाग्दा गुटबन्दी मौलाएको देखिन्छ ।

पार्टीको आठौँ महाधिवेशनमा महासचिवको उम्मेदवार बनेका नेताहरू वर्षमान पुन र जनार्दन शर्मालाई महासचिव नबनाई पार्टीले देव गुरुङलाई महासचिव बनाएपछि जनार्दन शर्माले गुटगत राजनीतिको अभ्यास गरेका हुन् । विगतमा वर्षमान पुन र शर्मा अध्यक्ष प्रचण्डको परिपुरक भए पनि दुवैलाई महासचिव नबनाई तेस्रो व्यक्ति खोजिएपछि उनीहरू प्रचण्डबाट बिच्किएका हुन् । पछिल्लो समय आफ्नो गुटलाई चलाइरहेका पुनले अध्यक्ष प्रचण्डको नजिक रहेको सन्देश दिन खोज्ने गरेको माओवादी स्रोतहरूको भनाइ छ । यता शर्मा स्वयंले भने आफू अध्यक्षको विकल्पको रूपमा प्रस्तुत नभएको जिकिर गरे पनि अध्यक्षपछिको पुस्ता तयार हुनुपर्ने बताउने गरेका छन् । विगतमा सैद्धान्तिक, वैचारिक रूपमा असहमति राखेर माओवादी केन्द्र छोडेका र पछि माओवादीमै फर्किएका उपाध्यक्ष पम्फा भुसाल र महासचिव देव गुरुङले पनि पार्टीमा छुट्टै गुट चलाइरहेका छन् । उनीहरूले पनि अध्यक्ष प्रचण्डसँगै नजिक रहेको कुरा नेता कार्यकर्ताहरूलाई बताउने गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफू अध्यक्ष प्रचण्डमा एकाकार नभए पनि उनको नेतृत्वलाई मानेर जाने तर अरू कसैलाई मान्न नसकिने भनि आन्तरिक बैठकहरूमा भन्ने गरेका छन् । उपमहासचिव हरिबोल गजुरेलले भने आफूले पार्टीमा गुट नबनाउने र गुट बनाउनेलाई नसहने भन्दै सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् ।

सौर्य दैनिकसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले सिंगो पार्टी अध्यक्ष प्रचण्डको वरिपरि गोलबद्ध हुने बताए । उनले पार्टीमा प्रचण्डको नेतृत्व निर्विकल्प भएको भन्दै प्रचण्डको विकल्प खोज्ने सिद्धिने प्रतिक्रिया दिए । उनले मूल रूपमा पार्टीमा गुटबन्दी नभए पनि एकअर्कामा कान फुकेर गुट बनाउने प्रयत्न गरिएको भन्दै त्यो अस्थायी भएको दावी गरे । प्रचण्डको नेतृत्व स्वीकार गर्ने र एकले अर्कोलाई स्वीकार नगर्ने प्रवृत्तिका कारण माओवादीमा अझै गुटगत राजनीति बढ्ने देखिन्छ ।

शक्ति गुट अस्थायी बार मात्र

पछिल्लो विद्यार्थीको निर्वाचनमा उपमहासचिव शक्ति बस्नेतको गुट भनेर प्रचार गरिए पनि उनी अध्यक्ष प्रचण्डको अस्थायी रक्षाकवच मात्रै बनेको माओवादी वृत्तभित्र चर्चा छ । ‘तत्कालका लागि शक्तिजीले हेडक्वार्टरको प्रतिनिधिको रूपमा जिम्मेवारी पाउनुभएको हो’, माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘यदि अध्यक्षले साँच्चै गुट बनाउन चाहेको दिन अन्य पात्रले नै नेतृत्व गर्नेछन् ।’

पदाधिकारी तहबाटै गुट बनाउने शर्माको प्रयास असफल

उपमहासचिव शर्माले केही समय अघिको स्थायी कमिटी बैठकमा संयुक्त रूपमा जानका लागि केही स्थायी कमिटी सदस्यहरूलाई प्रस्ताव गरेका थिए । तर उनको प्रस्ताव स्थायी कमिटी सदस्यहरूले नमानेपछि उनी एक्लै अगाडि बढेका छन् । स्थायी कमिटी बैठकमा शर्माको पक्षमा खुलेर कोही नलागे पनि केन्द्रीय कमिटी तहमा भने शर्माको पक्षमा खुलेको देखिन्छ ।

प्रतिक्रिया