प्रदेशलाई प्रहरी र कर्मचारीको अधिकार दिन निधिकाे माग

काठमाडाैँ । पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले तत्काल प्रहरी समायोजन गर्नुपर्ने बताएका छन् । उनले प्रदेश सरकारहरूलाई प्रहरी र कर्मचारीको अधिकार दिइनुपर्ने बताए ।

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनले आयोजना गरेको ‘संविधान संशोधन आवश्यकता र चुनौती’ विषयक अन्तरक्रियामा निधिले भने, ‘बिना प्रहरी र कर्मचारीले सरकार चलाउन असम्भव छ । र, यो मुद्दा देशभरमा उठाउन आवश्यक छ । यदि प्रदेश सरकारलाई आफ्नै प्रहरी र कर्मचारीको अधिकार दिइएन भने संघीयता टिकाउन सक्दैनौँ । यो सब नाटक हो । र, यो नाटक अब रोक्नुपर्ने समय आएको छ ।’

संविधानले नै दिएको अधिकार कार्यान्वयन गर्न कुनै कठिनाइ नरहेको पनि उनले तर्क गरे । ‘संविधानले प्रदेश सरकारलाई आफ्नो प्रहरी र कर्मचारीका लागि अधिकार दिएको छ र यसलाई कार्यान्वयन गर्दा कुनै कठिनाइ नहुने कुरा प्रस्ट छ,’ निधिले भने, ‘केन्द्रका केही दलका नेताहरूका लागि यो मुद्दा महत्त्वपूर्ण नहुन सक्छ । तर, हामीले नै यसलाई मुद्दा बनाउनुपर्छ ।’

संविधान संशोधनबारे निधिले भने, ‘संविधानमा आवश्यक संशोधन नगरी अघि बढ्यौँ भने संघीयता र देशको भविष्यमा प्रश्न उठ्न सक्छ ।’ अहिले संविधान संशोधन आवश्य रहेको उनले बताए ।

प्रतिक्रिया