कुम्भमेलामा भएको भागदौडमा कम्तीमा ३० जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागिरहेको कुम्भमेलामा मंगलबार राति भागदौड मच्चिँदा कम्तीमा ३० जनाको ज्यान गएको जनाइएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अन्य दर्जनौँ भक्तजन घाइते भएका छन् ।

मौनी आमावस्या (औँसी) को अवसरमा अमृत स्नानको समयमा ठेलमठेल हुँदा उक्त घटना भएको बताइएको छ । भागदौडमा मृत्यु हुने र घाइते हुनेको एकिन संख्या भने प्राप्त भएको छैन । भागदौडपछि भक्तजनका सरसामान यत्रतत्र छरिएको देखिएको छ । भागदौडपछि अमृत स्नान कार्यक्रम स्थगित गरिएको थियो । कति मानिस हराइरहेका छन् भन्ने पनि जानकारी छैन ।

सरकारी अधिकारीहरूका अनुसार कुम्भमेलामा बुधबार मात्रै १० करोड भक्तजनले स्नान गरेका थिए । घटना भारतीय समयअनुसार रातको १ बजेदेखि २ बजेको बीचमा भएको जनाइएको छ ।

यो मेला भारतका ४ राज्यमा लाग्ने गरेको छ । प्रयागराज, हरिद्वार, उज्जैन र नासिकमा कुम्भमेला लाग्ने गरेको छ । तीमध्येको सबैभन्दा ठुलो भने प्रयागराजमा लाग्ने मेला हो । प्रयागमा हरेक १२ वर्षमा गंगा र यमुनाको किनारमा लाग्छ । यस वर्षको जस्तो कुम्भमेला भने १४४ वर्षपछि लागेको बताइएको छ ।

कुम्भमेलाका लागि नेपालबाट समेत हजारौँको संख्यामा प्रयागराज पुगेका छन् । सो घटनामा कुनै नेपाली परे÷नपरेको भने पुष्टि हुन सकेको छैन । यति ठुलो मेलामा सुरक्षा अव्यवस्थाका कारण दुर्घटना भएको बताइएको छ ।

घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् । उनले मृतकको संख्याबारे भने केही खुलाएका छैनन् । यसैगरी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दर्जनौँ भक्तजन घाइते भएको र संख्या एकिन नभएको बताएका छन् ।

प्रतिक्रिया