काठमाडौँ । अमेरिकाले आप्रवासी डिपोर्ट नीतिलाई कडाइपूर्वक लागू गर्न सुरु गरेको छ । आइतबार र सोमबार कोलम्बिया र अमेरिकाबीच यस विषयमा तनाव पनि भएको छ । आइतबार साँझ आप्रवासी बोकेर कोलम्बियाको बोगटा विमानस्थल पुगेका अमेरिकाका दुइटा सैन्य विमान कोलम्बियाले ‘आप्रवासीलाई अपराधीझैँ व्यवहार गरिएको’ भन्दै अवतरण गर्न दिएको थिएन ।
त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेड्रो दुवै सामाजिक सञ्जालमै आरोप–प्रत्यारोपमा उत्रेका थिए । ट्रम्पले कोलम्बियाको सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाउने र थप प्रतिबन्धको घोषणासमेत गरे । पेड्रोले पनि अमेरिकी सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरे । ट्रम्पले कोलम्बियाका अधिकारीहरूलाई यात्रा प्रतिबन्ध तथा भिसा रद्द गर्ने चेतावनी दिएपछि कोलम्बिया र अमेरिकाबीचमा सहमति भएको हो ।
सो वार्तामा कोलम्बियाले डिपोर्ट भएका आप्रवासीलाई कुनै अवरोधबिना स्वीकार गर्ने भएपछि अमेरिकाले पनि अतिरिक्त करको निर्णय हटाएको छ । कोलम्बियाका राष्ट्रपति पेड्रोले वार्तामा नागरिकलाई सम्मानजनक व्यवहारसहित कोलम्बियामा छाडिने सहमति भएको बताए । ह्वाइट हाउसले भने ट्रम्पको तर्फबाट पूरै कागजात तयार भएको जनाउँदै कोलम्बियाले सहमतिमा अटेर गरे थप कदम चाल्ने बताएको छ । अमेरिकामा १५ हजार ६६६ जना अवैध कोलम्बियाली आप्रवासी छन् ।
कोलम्बिया आफ्नो निर्णयबाट फिर्ता भएपछि अमेरिकी राष्ट्रपतिका प्रेस सेक्रेटरी क्यारोलिन लियाभिटले अमेरिका अझै ‘सुपेरियर’ भएको पुष्टि भएको बताइन् । उनले संसारका अन्य देशबाट पनि राष्ट्रपति ट्रम्पले अवैध आप्रवासी डिपोटको कामलाई सहज बनाउन सहयोग हुने विश्वास राखेको बताइन् । बर्सेनि दसौँ हजार अवैध आप्रवासी दक्षिण अमेरिकाको बाटो हुँदै अमेरिका पुग्ने गरेका छन् ।
यसमा कोलम्बियाको बाटो समेत प्रयोग हुने गरेको छ । यसरी अवैध आप्रवासी प्रवेश गराउने आपराधिक गिरोह नै संलग्न भएको जनाइन्छ । ट्रम्प प्रशासनले केही दिनदेखि अमेरिकाका विभिन्न सहरमा अवैध आप्रवासी गिरफ्तार समेत गरेको छ ।
गत बिहीबार मात्र ५३८ जनालाई गिरफ्तार गरेर ट्रम्प प्रशासनले सो कामको सुरुआत गरेको हो । ट्रम्पले इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसिई) लाई यस वर्ष धेरै अवैध आप्रवासीलाई गिरफ्तार गर्न तथा फिर्ता पठाउन निर्देशन दिइसकेका छन् । यसअघि ट्रम्पले मेक्सिकोको सीमामा संकटकाल घोषणा गरेका थिए ।
ग्रिनल्यान्डमा ट्रम्पको चासो
पनामा नहर अमेरिकाको नियन्त्रणमा हुनुपर्ने जिकिर गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा पनि चासो बढाएका छन् । डेनमार्ककको स्वायत्त टापुका रूपमा रहेको ग्रिनल्यान्ड नियन्त्रणमा लिन ट्रम्पले चासो देखाइरहेका छन् । उनले राष्ट्रपतिको पदभार सम्हाल्नेबित्तिकै यस विषयमा बोलेका थिए ।
सो टापुमा ५७ हजार घर छन् ।
ती हरेक घरका बासिन्दाले अमेरिकी हुन चाहेको ट्रम्पको दाबी छ । डेनिस प्रधानमन्त्री मिट फ्रेडेरिक्सनले सो टापु कसैको फोन कलका भरमा बेचिने नभएको बताएकी छिन् । सन् २०१९ मा पहिलो कार्यकाल बिताइरहेका ट्रम्पले सो समयमा पनि ग्रिनल्यान्ड किन्न चाहेका थिए । अहिले भने उनले सुरक्षाका लागि पनि ग्रिनल्यान्ड अमेरिकाको हुनुपर्ने जिकिर गरिरहेका हुन् ।
‘मलाई लाग्छ, त्यहाँका जनता हामीसँग रहन चाहिरहेका छन्,’ ट्रम्पले भने । उनले संसारबाट ग्रिनल्यान्डलाई सुरक्षित र स्वतन्त्र राख्न डेनमार्कले अवरोध गरे नराम्रो हुने समेत बताए । ट्रम्पले यति धेरै विश्वास राखे पनि ग्रिनल्यान्डका प्रधानमन्त्रीले भने सो टापु बेच्नका लागि नभएको बताउँदै आएका छन् । ग्रिनल्यान्डका प्रधानमन्त्री म्युट एजले आन्तरिक मामला भएको बताउँदै सुरक्षाका लागि आवश्यक परे अमेरिकासँग सम्पर्क गर्ने बताए ।
प्रतिक्रिया