मर्चवार क्षेत्रको महदेई सबस्टेशन निर्माण कार्य ४० प्रतिशत सम्पन्न

क्षेत्रीय विद्युत समस्यामा सुधार आउने आशा

लुम्बिनी । रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत सबस्टेशनको काम ४० प्रतिशत पूरा भएको छ । तीनवटा पालिकालाई लक्षित गरी निर्माण भइरहेको मर्चवारस्थित महदेई सबस्टेशनको निर्माणकार्य पूरा भएपछि क्षेत्रको विद्युत समस्यामा स्थायी सुधार आउने प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणका ईन्जिनियर जगदीशराज बरालका अनुसार, मर्चवारस्थित महदेई सबस्टेशनको सिभिल संरचनामा ३५ प्रतिशत र विद्युतीकरणमा ४० प्रतिशत काम सम्पन्न भइसकेको छ । परियोजनाको बाँकी काम एक वर्षभित्र पूरा हुनेगरी तीब्र गतीमा अगाडी बढीरहेको उनले बताए ।

निर्माणका लागि इथोस पावर एसआईपीएस जेभीसँग २०७९ सालको फागुन महिनामा सम्झौता भएको उनले बताए । ‘अब केही दिनमै सकिन लागेको सो म्याद पुनः म्याद थप गरेर आगामी एक वर्षभित्र यो परियोजना पूरागरि सबस्टेशन सञ्चालनमा ल्याउने योजनामा हामी छौँ’, उनले भने ।

साइटमा माटो परीक्षण, कागजी प्रक्रिया र विभिन्न सामग्रीको अभावका कारण निर्माण कार्यमा केही ढिलाइ भएको भन्दै प्राधिकरणका इन्जिनियर बरालले भने, ‘सब श्टेशन निर्माणका लागी चाहिने अधिकांश सामग्रीको व्यवस्थापन भइसकेर अहिले सबै कामहरू तीव्र गतिमा अगाडी बढेको छ ।’

निर्माण कम्पनीका योजना प्रबन्धक मुकुल सिंहले परियोजनाको डिजाइनमा ढिलाइ भएकाले निर्माण कार्य समयमै पूरा हुन नसकेको बताए । उनले भने, ‘डिजाइन प्राप्त भएपछि ४० जनाको टोलीले तीव्र गतिमा काम गर्दै हालसम्म ८ सय ५० ओटा विद्युत पोलको जडान सम्पन्न गरीसकेका छौँ ।’

योजना प्रबन्धक सिंहका अनुसार, अबको केही दिनमै पोलमा तार तान्ने काम गरिनेछ । तारपोलको व्यवस्थापन भइसकेपछि ट्रान्सफार्मरको व्यवस्था गरि लो–भोल्टेज र विद्युत कटौतीको समस्या पनि समाधान हुनेछ ।

बारम्बार बत्ती जानु र लाइन ट्रिप हुनुका कारण उपभोक्ताका दैनिक गतिविधिहरू प्रभावित हुने गरेको सम्मरीमाइ गाउँपालिका– ७ का वडाध्यक्ष राधेश्याम कुर्मीले बताए । उनले भने, ‘समृद्धिको सम्भावना राख्ने क्षेत्रमा विद्युतको नयाँ संरचना निर्माण र विस्तारका लागि भइरहेका कामहरू ढिलो हुँदै आएका छन् ।’

मर्चवार क्षेत्रको महदेइमा विद्युत सबस्टेशनको निर्माणपछि तीनवटै गाउँपालिका सम्मरीमाई, कोटहीमाई र मर्चवारीमा विकासको नयाँ अध्याय सुरु हुने लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाले बताए । उनले भने, ‘यहाँ लो भोल्टेज र अनियमित बिद्युत कटौतीको समस्या छ । बिद्युत प्रवाहमा गुणस्तरीय सुधारका लागी सब–स्टेशनको गुणस्तरीय निर्माण कार्यलाई तीव्रता दिन निरन्तर अनुगमन गरिरहेको उनले बताए ।

प्रतिक्रिया