जनकपुरधाम । जनकपुरधाममा शुक्रबार बिहान भएको एक गम्भीर मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटना जनकपुरधामको मधेश भवनको गेट अगाडी भएको हो ।
घटना विवरण अनुसार प्र.२–०२–००४ प ८१९६ नम्बरको मोटरसाइकल मन्त्रालयबाट पिडारी चोकतर्फ तिब्र गतिमा जाँदै थियो । मोटरसाइकल अनियन्त्रित भई विपरित लेनमा पुगेपछि मन्त्रालय भित्र प्रवेश गर्न लागेको ज १ ब ७९५ नम्बरको अर्को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट ज १ ब ७९५ नम्बरको मोटरसाइकल चालक ५० वर्षीय देवन्द्र यादव गम्भीर घाइते भएका थिए । भौतिक पूर्वाधार विकास मन्त्रालयमा गाडी चालकका रूपमा कार्यरत उनी धनुषाको लक्ष्मिनिया गाउँपालिका–१ सोहनीका स्थायी बासिन्दा हुन् । गम्भीर घाइते उनलाई तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो । उपचारको क्रममा बिहान १०ः३० बजे चिकित्सकहरूले मृत घोषणा गरे ।
दुर्घटनामा संलग्न प्र.२–०२–००४ प ८१९६ नम्बरको मोटरसाइकल जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलिया निवासी लक्ष्मण कुमार यादवका १६ वर्षीय छोरा अभिषेक कुमार यादवले चलाएका थिए । उनीसँगै मोटरसाइकलमा पछाडि १६ वर्षीय छोरा जमसाद नदाफ बसेका थिए । दुवै किशोरलाई प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रारम्भिक अनुसन्धानमा चालक अभिषेक कुमार यादवसँग सवारी चालक अनुमतिपत्र नभएको पाइएको छ ।
प्रतिक्रिया