संसद्लाई प्रभावकारी बनाउन सबैको भूमिका महत्वपूर्ण

विगत साढे ३ दशकयता नेपालमा संसदीय व्यवस्था सक्रिय छ । नेपाली जनतालाई पनि यस व्यवस्थामाथि अत्यधिक विश्वास छ । केवल संसद्को समुचित सदुपयोगबाट मात्रै यसको विरुद्धमा फैलाइएका केही अफवाहहरूको खण्डन सम्भव हुन सक्नेछ । संसद्लाई छलेर जथाभावी अध्यादेश ल्याई संसद्को अपमान गर्नु पनि सरकारको मनपरि नै मानिन्छ

श्रीमन नारायण

संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै सर्वोत्तम शासन प्रणाली मानिन्छ । विश्व राजनीतिको इतिहासमा अहिलेसम्म प्रचलनमा आएका शासन व्यवस्थाहरू मध्ये यस भन्दा बढी अग्रगामी, लोकतान्त्रिक, समावेशी, उदार र सहिष्णु अर्को कुनै शासन प्रणाली आएको छैन । यसको विकल्प खोज्नेहरू पश्चगमनका अनुयायी सावित हुनेछन् । शासन प्रणालीलाई बलियो बनाउने तथा यसप्रति जनताको विश्वास प्रगााढ बनाउने काम जननिर्वाचित संसद्को हो । जनताको अमूल्य मत लिएर देशको सर्वोच्च विधायिकामा प्रवेश गर्ने अवसर हासिल गरेका माननीय सांसदहरू मध्ये संसद्मा बहुमत प्राप्त दलले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्छ जबकी संसद्को उपयोग गर्ने अवसर विपक्षी राजनीतिक दलहरूलाई पनि प्राप्त हुन्छ । सरकार र विपक्ष सबैको सकारात्मक सहयोगवाट नै संसदीय व्यवस्था बलियो हुन सक्छ ।

कुनै पनि राजनीतिक दलको प्रमुख कर्तव्य नै, देश र जनताको हितमा काम गर्नु हो । निर्वाचनमा जनताले पत्यार गरी बहुमत प्रदान गरेका दललाई सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुन्छ । कुनै एउटा राजनीतिक दललाई बहुमत प्राप्त नरहेको अवस्थामा केही खास खास बुँदामा सहमत भई अथवा साझा न्युनत्तम कार्यक्रमलाई आधार मानी दुई वा दुई भन्दा बढी दलहरू मिलेर पनि सरकारको सन्चालन गर्छन् । सरकारमा जाने अवसर प्राप्त नभएका दलहरू आफनो महत्वपूर्ण सुझाव र सल्लाह मार्फत सरकारलाई राम्रो काम गर्न सहयोग पु¥याउने गर्छन्, जसलाई विपक्षी दलहरूको सकारात्मक भूमिका भन्ने गरिन्छ ।

विपक्षी दलहरूको सकारात्मक भूमिकाले सरकारलाई नयाँ नयाँ कानुनको निर्माण गर्नमा र महत्वपूर्ण, ठुला एवं सहसिलो निर्णय लिनमा पनि सहयोग प्राप्त भईरहेको हुन्छ । यसको ठिक विपरीत विरोधको लागि मात्रै विरोध गर्ने अथवा सरकारमा सधैं भरि आफनो हिस्सा खोजी रहने विपक्षी दलको प्रवृतिले लोकतन्त्रलाई कमजोर बनाउँछ । राजनीतिक दलहरूको अभिष्ट भनेको सत्तामा पुग्नु नै रहेको हुन्छ, यसमा असहमती जनाउने कारण छैन तर २४ घण्टै र ३६५ दिन नै सत्तामा कसरी पुग्ने ? भन्ने मानसिकताले राजनीति गर्नुलाई जायज मान्न सकिदैन । यदि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र अथवा संसदीय व्यवस्थाको औचित्यमाथि प्रश्न उठाउने काम कसैवाट भईरहेको छ, भन्ने यसको मुल कारण हाम्रो विधायिका बढी सक्रिय नहुनु हो । संसद्को व्यापक उपयोग हुनुपर्छ ।

जनता आफना प्रतिनिधीको आवाज सुन्न चाहन्छन् । यहाँसम्म की पंचायती व्यवस्थामा पनि आफना प्रतिनिधिीले संसद्मा के बोलेका छन् स्थानीय समस्यालाई प्रभावकारी रुपमा उठाएका छन् कि छैनन् भन्ने कुराको जानकारी लिन जनता, रेडियो तथा समाचार पत्रको सहारा लिन्थे । रेडियो नेपाल र नेपाल टेलिभिजन मात्रै अव इलेक्ट्रोनिक संचार माध्यम रहेन । निजीक्षेत्रवाट अनेकौं संचार माध्यमहरू अस्तित्वमा आए तर जनताले आफना जनप्रनिधिको आवाज संसद्मा गुन्जिएको थाहा पाउन सकिरहेका छैनन । आखिर जननिर्वाचित प्रतिनिधिहरू संसद्मा आवाज उठाउनुको सट्टा केवल आफनो उपस्थिति जनाएर त्यहाँवाट पलायन किन हुन्छन् ? सरकारले पनि विपक्षी दलको सुझावलाई सत्रुको धम्की ठानी यसको उपेक्षा गर्नु हुँदैन ।

संसद्को अधिकार सर्वोपरि भएका कारण नै संसदीय व्यवस्था भनिएको हो । सरकार बनाउने र हटाउने, राष्ट्रपतिको निर्वाचन गर्ने तथा हटाउने अधिकार संसद्को हुन्छ । संसद्ले सर्वोच्च अदालतका प्रधान न्यायाधिश देखि लिएर संवैधानिक निकायका प्रमुखहरू माथि अविश्वास प्रस्ताव लगाएर हटाउन सक्दछ । संविधानमा संशोधन गर्ने अधिकार पनि संसद्लाई मात्रै रहेको हुन्छ । कानुन बनाउने तथा संशोधन गर्ने अधिकार प्राप्त गरेको संसद्को मान सम्मान र मर्यादाको रक्षा पनि माननीय सांसदहरूवाट नै संभव छ । विगत साढे तीन दशक देखि नेपालमा संसदीय व्यवस्था सक्रिय छ । नेपाली जनतालाई पनि यस व्यवस्था माथि अत्यधिक नै विश्वास छ । केवल संसद्को समुचित सदुपयोगवाट मात्रै यसको विरुद्धमा फैलाइएका केही अफवाहरूको खण्डन सम्भव हुन सक्नेछ । संसद्लाई छली जथाभावी अध्यादेश ल्याई संसद्को अपमान गर्नु पनि सरकारको मनपरि नै मानिन्छ । जब सरकार नै संसद्लाई महत्व दिदैन भने विपक्षीवाट मात्रै सहयोगको अपेक्षा राख्नु अर्थहिन हो ।

संसदीय व्यवस्थालाई बलियो बनाउन संसदीय समितिहरूूको भूमिका पनि महत्वपूर्ण हुने गर्छ । संसदीय समितिले बोलाएको वखत प्रधानमन्त्रीले पनि आएर जवाफदिनु पर्ने हुन्छ । नेपालका संसदीय समितिहरूको भूमिका विगतका दिनमा निकै राम्रा थिए । खासगरिकन ह«दयेश त्रिपाठी र सुवास नेम्वाङहरू संसद्को सार्वजनिक लेखा समितिको सभापति हुँदा यसको निश्पक्ष एवं प्रभावकारी भूमिकाको चर्चा र प्रशंसा विश्वका अनेकौं देशहरूमा थियो । सार्वजनिक लेखा समितिको पद, संसदीय समितिहरूमा सबैभन्दा बढी महत्वपूर्ण र प्रभावकारी मानिन्छ । सार्वजनिक लेखा समितिका सभापतिको पद प्रायः विपक्षी दलका सांसदलाई दिने संसदीय अभ्यास रहेको पाईन्छ ।

संविधान संशोधन गर्ने र कानुन बनाउने अधिकार तथा जिम्मेवारी बहनको लागि संसद्का आफनै विधि तथा प्रकृया हुन्छन् । धेरै जसो विधि र प्रकृया आरम्भका लागि भूमिका निर्वाह गर्न संसद् भित्र विभिन्न संसदीय समितिको व्यवस्था हुन्छ । यसलाई संसदीय समिति भनिन्छ । विभिन्न संसदीय समितिको विभिन्न कार्यक्षेत्र निर्धारण गरिएको हुन्छ । संसदीय समिति यति स्वतन्त्र हुन्छन् की समितिहरूको बैठकमा कुरा राख्दा र निर्णय प्रकृयामा सामेल हुँदा सांसदलाई पार्टीको ह्वीप पनि लाग्दैन ।

संसदीय अभ्यासका क्रममा सभामुखको भूमिका कहिलेकाँही विवादास्पद पनि हुन सक्दछ । तर, संसदीय समितिका सभापतिको भूमिका विवादास्पद हुने कुराको परिकल्पना गरिएको हुँदैन । कथमकदाचित कुनै समितिका सभापतिले विवादास्पद भूमिकाको निर्वाह गर्दा संसदीय समितिमा खैलावैला हुने गर्छ । केही अघि मात्रै प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सभापति र एक जना सासंदबीच अमर्यादित भाषामा भनाभन नै भयो, बैठकमा उपस्थित नै नभएका सांसदको नेतृत्वमा उपसमिति गठन भएको घोषणा सभापतिले गरेको र यस विषयमा आफनो कुरा राख्न नपाएको भन्दै सांसद आक्रोस प्रकट गरेका थिए । यस्ता प्रकृतिकै एउटा घटना राज्य व्यवस्था समितिको बैठकमा पनि गत महिना भएको थियो ।

सभापतिको इच्छामा मात्रै संसदीय समितिको बैठक बस्ने, सभापतिले इच्छाइएका बाहेक अन्य निर्णय नहुने, समितिको बैठक बस्दै छ भन्ने जानकारी ज्यादै ढिलो प्राप्त हुने लगायतका गुनासो पनि सांसदहरूको हुने गर्छ । यस्ताखाले घटनाले संसदीय व्यवस्थालाई नै कमजोर बनाउनेछ । चुनावमा जातिवाद र धनबलको बढदो अवस्थावाट देशका प्रायः सबै जसो राजनीतिक दलहरू चिन्तित पनि देखिन्छन् तर विश्वास पनि त्यस्ता खाले अनुहारहरू माथि नै गर्दै आएका छन् । संसदीय समितिका सभापतिको पद योग्य नेताहरूलाई दिईनुपर्छ । संसदीय समितिको प्रभावकारी भूमिकावाट सांसदहरू पनि उत्साही हुने छन् सांसदहरू उत्साही भएमा संसद्मा बढी सक्रिय हुनेछन् । संसदीय व्यवस्थालाई प्रभावकारी र सफल बनाउनमा सरकार र विपक्ष दुवैको भूमिका महत्वपूर्ण हुन्छ ।

प्रतिक्रिया