राष्ट्रपतिलाई अक्षर चिनाउने शिक्षासेवी चिरञ्जीवी लम्साल

बखानसिंहसँगको त्यो भेटघाटपछि पिताजीको जीवनको नयाँ अध्याय सुरु भयो । त्यही वर्ष ३/४ वटा गाउँको पायक पर्ने तारुका भन्ने ठाउँमा पाठशाला स्थापना गरियो । त्यही पाठशालामा पिताजीले पढाउन थाल्नुभयो । त्यो पाठशालाका पहिलो ब्याचका विद्यार्थी रामचन्द्र पौडेल अहिले राष्ट्रपति हुनुहुन्छ

कुन्छा फेदीबाट पश्चिमतर्फ लमजुङ र तनहुँ जिल्लाको सीमा भएर मादी नदीमा मिसिएको रिस्ती खोलाले अत्यान्त उर्वर फाँट बनाएको छ । यो उर्वर फाँटलाई चलन चल्तीको भाषामा रिस्ती उपत्याका भन्ने गरिन्छ । विस्तारै सहरीकरणको गतितर्फ लम्किरहेको रिस्ती उपत्याका आसपासमा साना ठूला गरी करिव २ सय जति गाउँहरू रहेका छन् ।

रिस्ती उपत्याकाको उल्लेख विना नेपालको इतिहास अधुरो हुन्छ । किनकी रिस्ती उपत्याकाले विभिन्न क्षेत्रमा आफ्नै इतिहास रचना गरेको छ । प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङ्गको जिवनी लेख्दै गर्दा होस् या वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको जीवनी लेख्दै गर्दा होस्, वा सर्वसाधरण जनजातिको छोराको तर्फबाट देशको पहिलो प्रधानसेनापति बनेका छत्रमानसिंह गुरुङ्गको परिचय दिँदा होस् रिस्ती उपत्याकाको नाम आइहाल्छ । त्यति मात्रै होइन आदीकवि भानुभक्तको जीवनी पनि घाँसी तथा गजाधर सोतीको नाम विना अधुरो हुन्छ । गजाधर सोती र घाँसी रिस्ती उपत्याकाकै सन्तान हुन् । सक्कली घाँसी कुवा रिस्ती उपत्याकामै पर्छ ।

स्थानीय बासिन्दाको शैक्षिक तथा सामाजिक जागरणले नै रिस्ती उपत्याकाले गौरवमय इतिहास रचेको हो । आफ्नो गौरवमय विगतलाई निरन्तरता दिन रिस्ती क्षेत्रका बासिन्दा अहिलेसम्म पनि चुकेका छैनन् । रिस्ती उपत्याकालाई वर्तमानमा चिनाउने धरोहर अहिले पनि धेरै छन् । जसमध्ये एक धरोहर राष्ट्रपति रामचन्द्र पौडेल हुनुहुन्छ भने अर्को धरोहर मंगला माध्यमिक विद्यालय हो । यी दुवै धरोहरको मुख्य जग हुनु हुन्छ पण्डित चिरञ्जीवी लमसाल ।

२०१९ सालको बसन्त पंचमीका दिन प्राथमिक विद्यालयका रुपमा स्थापना भएको मंगला (उच्च) माध्यमिक विद्यालयले यही माघ १६ गते ६० वर्ष पुगेको अवशरमा हिरक जयन्ती मनाउँदै छ । यही अवशरमा विद्यालयको स्थापनामा महत्वपूर्ण योगदान पु¥याउने व्याक्तित्वहरूको अभिलेख राख्ने उद्देस्यका साथ प्रधानाध्यापक विष्णुहरी बाँस्तोलाले संस्थापक प्रधानाध्यापक चिरञ्जीवी लमसालको बारेमा केही लेख्न आग्रह गर्नु भयो । सायद उहाँको जेठो छोरा भएका कारण मलाई यो आग्रह गरिएको हुनुपर्छ । यही आग्रहलाई शिरोधार्य गर्दै पिताजी चिरञ्जीवी लमसालका बारेमा केही लेख्ने जमर्को गरेको हुँ ।

पिताजीको जन्म विसं १९७२ मंसीर २९ गते तत्कालीन पश्चिम ३ नंम्वर लमजुङ र हाल तनहुँमा पर्ने भारीछापमा भएको हो । पिताजीको निधन २०४८ असोज १ गते आफ्नै निवास बर्लाँचीमा भएको हो । २०१५ साल ताका भारीछापका लमसालहरू बर्लाँचीको बेलथुम्की झरेका हुन् । मैले जान्दासम्म बर्लाँची क्षेत्र लमजुङको सूर्यपाल गाउँ पंचायतको वडा नं ८ थियो । २०३४ सालसम्म समग्र रिस्ती क्षेत्र लमजुङ जिल्ला अन्तरगत पथ्र्यो । जिल्लाको सीमा हेरफेरका क्रममा रिस्ती खोलालाई सीमा मानिए पछि यस उपत्याकाका केही गाउँहरू तनहुँ जिल्लामा पर्न गए । यसरी जिल्लागत रुपमा रिस्ती उपत्याकाका बासिन्दा तनहुँ र लमजुङमा बाँढिए । तर मन र भावना भने बाँढिएन । किनकी सन्धी सर्पन एउटै हो । प्रशासनिक सेवा सुविधा बाहेक अन्य सेवा सुविधाका स्थलहरू एउटै छन् ।

पिताजीले भारत वनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट आयुर्वेद विषयमा मध्यमा, बेदांंग विषयमा शास्त्री र ज्योतिष विषयमा आचार्य उत्र्रिण गर्नु भएको थियो । पढाई सकेपछि उहाँले आँफैले पढेको विश्वविद्यालयमा अध्यापन गर्ने अवशर पाउनु भयो । त्यसैले उहाँको बसाई निकै लामो समय बनारसमा भएको देखिन्छ । पिताजी लामो समय बनारस बस्नुको अर्को कारण पनि थियो । पिताजीका हजुरबा खरदार कुलप्रसाद लमसाल उतै देहत्याग गर्ने सिलसिलामा आफ्ना दूई जना नातीहरूलाई लिएर बृद्ध उमेरमा वनारस जानु भएको रहेछ ।

त्यतिबेला नेपालबाट वनारस जाने विद्यार्थीहरूले ज्योतिष शास्त्र वा कर्मकाण्ड शास्त्र पढ्ने चलन रहेछ । तर मेरा पिताजी चिरन्जीवि लमसाल तथा ठूला पिताजी विश्वनाथ लमसालले भने आयुर्वेद पढ्ने अवशर पाउनु भयो । यो अवशर पाउनुमा उहाँहरूको हजुरबुबा खरदार कुलप्रसादको सुझबुझ नै मुख्य कारण हुनुपर्छ । त्यतिबेला वनारसमा आयुर्वेद विषयमा मध्यमा भन्दा माथिको पढाई नहुने भएकोले ठूला पिताजी पढाईलाई पूर्ण विराम लगाएर आफ्नो गाउँ भारीछाप फर्कनु भयो । आफ्ना पिताजी श्रीप्रसाद लमसालका यजमानहरू संहाल्नु भयो । गाउँमै औषधी मुलोको सेवा पनि पु¥याउनु भयो । ठूला पिताजीले मन्त्रका अलवा तन्त्रको साधना पनि गर्नु भएको थियो । तर लामो उमेर बाँच्न पाउनु भएन । ठूला पिताजीको बिँडो उहाँका छोरा तथा हाम्रा दाजुहरू बलराम लमसाल र तीर्थराज लमसालले लामोसमयसम्म धान्नु भयो । अहिले डा. दयाराम लमसालले धानिरहेका छन् ।

ठूला पिताजी विश्वनाथले मध्यमा पास गरी फर्के पनि मेरा पिताजी चिरन्जीवि लमसालले भने थप अध्ययनको अवशर पाउनुमा अर्को कारण पनि थियो । जागीरका सिलसिलामा उहाँका हजुरबा खरिदार कुलप्रसादले रौतहटको गौरमा प्रसस्त जग्गा जमिन जोड्नु भएको रहेछ । बनारसबाट आवत जावत गर्न गौर त्यतिबेला पनि पायक पथ्र्यो । सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा अध्यापनका क्रममा पिताजीले नेपालबाट गएका धेरै विद्यार्थीहरूलाई सहयोग गर्नु भएको रहेछ । त्यतिबेला नेपालको महोत्तरी स्थित मटिहानीमा पूर्वमध्यमा सम्म पढ्ने र उच्च शिक्षाका लागि वनारस जाने विद्यार्थीहरूको संख्या उल्लेख्य हुने रहेछ । त्यही सम्पर्कका कारण पिताजीलाई अध्यापनका लागि मट्याहनी संस्कृत विद्यालयमा बोलाइयो ।

पिताजी बनारस छाडेर मटिहानीमा सर्नु भएको विसं १९९५ साल ताका हो । त्यतिबेला पिताजीको उमेर २४ वर्षको थियो । मट्याहनीमा पढाउने क्रममा वडाहाकिम रामशमशेर जबरा सँग पिताजीको सम्पर्क भएछ । त्यतिबेला पिताजीले रामशमशरेरको पारिवारिक ज्योतिषी बन्ने अबशर समेत पाउनु भएछ । पिताजीले रामशमशेरको जन्मकुण्डली हेरेर नवाह यज्ञ लगाउने सल्लाह दिनु भएछ । पिताजीलाई नै व्यासस्थानमा राखेर नवाह लगाए पछि रामशमशरेरका छोरा भएछन् । छोरा जन्मेपछि औधी खुशी भएका रामशमशेरले पिताजीलाई तपाँइको इच्छा के छ भनेर सोधेछन् । जे माग्यो त्यही पाउने अवशर थियो त्यो । त्यतिबेला धेरैले जग्गा जमिन बक्सिस माग्थे । तर पिताजीले भने जग्गा बक्सिस माग्नु भएन । किनकी आफ्नै हजुरबा खरदार कुलप्रसादले रौतहटमा जोडेको प्रसस्त जग्गा छँदै थियो । पिताजीले काठमाडौंमा गएर पंचांग निर्यायक समितिमा रही सेवा गर्ने अवशरको माग गर्नु भएछ । रामशेरमशेरले एउटा सिफारिस पत्र दिएर काठमाडौं पठाएछन् ।

यसरी पिताजी २००२ साल तिर मटिहानी छाडी काठमाडौं आउनु भयो । तर काठमाडौंको बसाई सुखद रहेन । पंचांग निर्माण गर्ने काम त पाउनु भयो, तर सामान्य कारिन्दाका रुपमा । काम आँफुले गर्नु पर्ने तर नाम अर्कैको । २००३ देखि २००५ सालसम्मका पंचांगहरू आँफैले निर्माण गरेको पिताजी बताउनु हुन्थ्यो । तर पंचांग निर्णायक समितिको सदस्य बन्ने चाहना पुरा भएन । त्यही बेला राणा शासन विरुद्ध गतिविधि भयो । सी क्लासका रामशमशेर राणा भित्र भित्रै कांग्रेसको गतिविधिमा लागेको काठमाडौंका ए क्लासका सत्ताधारी राणाहरूले चाल पाए ।

रामशमशेर कोपभाजनमा परेपछि पिताजीले पनि आँफु सुरक्षित नभएको महशुस गर्नु भयो । त्यही बेला आफ्नी श्रीमतीको निधन भएको दुखद खबर काठमाडौं पुग्यो । पिताजी तत्काल घर जानु पर्ने भयो । विदाको स्वीकृति पनि नमागी, आफ्ना साह्रा शैक्षिक प्रमाणपत्रहरू छाडेर पिताजी गाउँ फर्कनु भयो । एउटी छोरी पाएर जेठी श्रीमतीको निधन हुँदा पिताजीको उमेर ३३ वर्षको रहेछ । आफ्नी अर्धाङ्गीनीको निधन पछि केही महिनासम्म पिताजी विछिप्त जस्तै हुनु भएछ ।

त्यतिबेलासम्म गाउँ ठाउँमा पनि खरदार कुलप्रसादको नाति चिरञ्जीवी विद्धान पण्डित भइसकेको, पंचांग निर्माण गर्ने हैसियतमा पुगिसकेको चर्चा चल्न थालिसकेको रहेछ । मान्छेहरू भेटघाट गर्न आउने, तर पिताजी झोक्राएर बसिरहने अवस्था बनेछ । यो कुरा पल्लो गाउँ पुलिमाराङ्का क्याप्टेन बखान सिंह गुरुङले थाह पाउनु भएछ र बोलाउन मान्छे पठाउनु भएछ । भेटघाट पछि भन्नु भएछ–‘ ए महिला पण्डित, यसरी झोक्राएर कतिन्जेल बस्छौ ? यत्रो विद्धान भएको के काम लाग्यो ? पायक पर्ने ठाउँमा एउटा पाठशाला खोल्न म सहयोग गर्छु, त्यहीँ पढाउन थाल, अनि अर्को बिवाह पनि गरी हाल ।’

बखानसिंह सँगको त्यो भेटघाट पछि पिताजीको जीवनको नयाँ अध्याय सुरु भयो । त्यही वर्ष तीन चार वटा गाउँको पायक पर्ने तारुका भन्ने ठाउँमा पाठशाला स्थापना गरियो । त्यही पाठशालामा पिताजीले पढाउन थाल्नु भयो । त्यो पाठशालाका पहिलो व्याचका विद्यार्थी रामचन्द्र पौडेल अहिले राष्ट्रपति हुनुहुन्छ । प्रधानसेनापति भइसकेका छत्रमानसिंह गुरुङलाई पनि पिताजीले नै अक्षरारम्भ गर्नु भएको हो । तारुकामा तीन चार वर्ष पढाए पछि पिताजीलाई जीता सातधारेको भाषा पाठशालामा पढाउन जानु पर्ने माग आयो । आफ्ना दाजु विश्वनाथलाई तारुका पाठशालाको जिम्मा लगाएर पिताजी सरकारी स्तरमा संचालित सातधारेको भाषा पाठशालामा पढाउन जानु भयो ।


तर सातधारेको भाषा पाठशालामा पनि पिताजी लामो समय अडिनु भएन । उहाँलाई दुराडाँडाको पाणिनी गुरुकुलमा पढाउनका लागि पण्डित नरहरि अधिकारी आँफै लिन आउनु भएछ । त्यतिबेलाका पश्चिम ३ नम्वर क्षेत्रकै प्रख्यात विद्धान पण्डित नरहरी अधिकारीको आग्रह अस्वीकार गर्ने अवस्था नै रहेनछ । पाणिनी संस्कृत गुरुकुलमा पढाउन थाले पछि पिताजीको विद्धता देखेर पण्डित नरहरी पनि औधी प्रभावित हुनु भएछ । त्यही बेला पण्डित नरहरिले आफ्नै मामाकी नातिनी जीता रायपालीका मुखिया डिल्लीराम घिमिरेकी साहिली छोरी इन्द्रकुमारी मागेर विवाह गराई दिनु भएछ । यसरी जेठी श्रीमतीको निधन भएको तीन वर्ष पछि २००८ सालमा पिताजीको दोस्रो विवाह भएछ ।

विवाह हुँदा मेरी आमा इन्द्रकुमारीको उमेर १० वर्ष र पिताजीको उमेर ३६ वर्षको रहेछ । दोस्रो विवाह पछि भने पिताजीले गृहस्थ जीवनको पनि वोध गर्नु भयो । त्यतिबेला बुहारीलाई घरखान निकै गारो हुने जमना थियो । हाम्री हजुरआमा (पिताजीकी आमा) निकै कडा मिजासकी हुनहुँदो रहेछ । सानो उमेरकी श्रीमतीले घरमा सासुको बुहार्तन खप्न निकै गारो भएकोले पिताजीले पनि जागीर छाडेर घरमै बस्ने निधो गर्नु भएछ ।

१९९५ साल ताका नै वनारसको सम्पूर्णानन्द विश्वविद्यालयमा पढाउने अवशर पाइसक्नु भएका, २००३ सालमै नेपाल सरकारको पंचांग निर्माण गर्ने भूमिका पाइसक्नु भएका पिताजीलाई आफ्नो योग्यता अनुसारको जिम्मेवारी नपाएकोमा खिन्नता थियो होला नै । त्यसैले जागिर छाडेको हुनुपर्छ । त्यस बाहेक त्यतिबेला अधियाँ लगाएरै एक मानो खान पुग्ने बान्दोबस्त पहाडमै थियो । त्यस माथि रौतहटको पनि थुप्रै जग्गा जमिन थियो । आफ्ना कान्छा बुबाको निधन पछि रौतहटको जग्गा अलपत्र पर्ने भयो । पिताजीले रौतहट र पहाड आवत जावन गर्नु पर्ने भयो । बाटो घाटोको सुविधा थिएन । जंगलै– जंगल चार पाँच दिन हिँडेर रौतहट आवत जावत सजिलो थिएन । पिताजीले कौडीकै भाउमा रौतहटको सयौं विगाह जमिन बेचिदिनु भएछ । हाम्रो परिवारका लागि अहिले सबै भन्दा ठूलो पछुतो त्यही भइरहेको छ ।

जागिर छाडे पछि पिताजीको दिन चर्या कर्मकाण्ड तथा जन्मकुण्डली बनाउने र हेर्नेमै बित्न थाल्यो । मानिसहरू गाउँबाट बसाँइ सरेर बेसी झर्न थालेकोले तारुकामा आँफ्नो अगुवाईमा खुलेको पाठशाला अपायक बन्न थालेको महशुस पिताजीले गर्नु भयो । त्यतिबेलासम्म हाम्रो दाजु ( ठूला पिताजीका छोरा) बलराम लमसाल पनि जान्ने सुन्ने भइसक्नु भएको थियो । उहाँले आफ्ना मामा लेखनाथ अधिकारी सँग मिलेर जिल्ला सदरमुकाम कुन्छामा आयुर्वेद अस्पताल संचालन गर्न भएको थियो । हाम्रै १३ दिन भित्रका हजुरबा काशीनाथ लमसाल तत्कालिन सुर्यपाल पंचायत वडा नं ८ को अध्यक्ष हुनुहुन्थ्यो । पिताजीले लमसाल गाउँ र सोती गाउँका अगुवाहरूलाई आफ्नै घरमा बोलाएर तारुकाको स्कुल सोतिपसलमा सार्दा कसो होला ? भन्ने छलफल चलाउनु भयो ।

सकेसम्म स्वीकृत लिएर सोतिपसलमा नयाँ स्कुल स्थापना गर्ने, नसके तारुकाकै स्कुल स्थानान्तरण गर्ने कुरा भयो । तर स्कुल स्थानन्तरणका लागि तारुकाबासीले सहमति दिने संभावना कम थियो । त्यसैले नयाँ स्कुल खोल्ने निधो भयो । सरकारद्वारा स्कुलको अस्थायी स्वीकृती भयो । सोती पसलको जमुनास्थान आसपासमा पिताजीका मावलीहरू (जगन्नाथ सोती, कृष्ण सोती) हरूको प्रसस्त जग्गा थियो । स्कुलका लागि जग्गा दान गर्न पिताजीले मावली भाईहरूलाई मनाउनु भयो । स्कुल भवन नबनिन्जेल सम्मका लागि पिताजीले जमुनास्थान नजिकैको चौतारामा विद्यार्थी पढाउन थाल्नु भयो । तर शिक्षकका रुपमा एक दुई वर्ष भन्दा बढी बस्नुभएन ।

प्रतिक्रिया