मुगु । हिमाली जिल्ला मुगुमा आगामी माघ २२ गतेबाट पाठेघर मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप लगाइने भएको छ । आगामी माघ २२ गतेबाट फागुन ६ गतेसम्म जिल्लाका चारवटै स्थानीय तहमा अभियानका साथ पाठेघर मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप लगाइने भएको हो ।
जिल्लाका चार स्थानीय तह छायाँनाथ रारा, सोरु, खत्याड र कार्मारोङ गाउँपालिकामा यो खोप अभियान लागू हुनेछ । यस अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्मका ३ हजार ८ सय ८५ जना छात्रा लक्षित गरी एचपीभी खोप दिइने जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।
स्वास्थ्य सेवा कार्यालय मुगुका स्वास्थ्य सेवा व्यवस्थापक डा. निर्मल नगरकोटीका अनुसार खोप कार्यक्रम आगामी माघ २२ गतेबाट फागुन ६ गतेसम्म सबै सामुदायिक र संस्थागत विद्यालयहरूमा सञ्चालन हुनेछन् ।
यो खोप कक्षा ६ देखि १० सम्मका विद्यालयका छात्रा र विद्यालय बाहिरका १० देखि १४ वर्षका बालिकालाई दिइने छ । खोप पूर्ण रूपमा प्रभावकारी रहेको र पाठेघर मुखको क्यान्सरको जोखिमलाई कम गर्ने अपेक्षा गरिएको छ ।
मुगु जिल्ला एक नगरपालिका र ३ गाउँपालिका गरी चार वटा स्थानीय तहमा पाठेघर मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप अभियानका साथ सञ्चालन गरिने भएको छ ।
छायाँनाथ रारा नगरपालिकाकामा एक हजार तिन सय ५३ जना, खत्याड गाउँपालिकामा एक हजार ७७, मुगुम कार्मारोङमा ३ सय ८१ र सोरु गाउँपालिकामा एक हजार १४ जनालाई छात्रालाई पाठेघर मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप लगाइने र विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने जनाइएको छ ।
पाठेघर मुखको क्यान्सरविरुद्धका एचपीभी खोप अभियान मुगुमा पहिलो पटक सञ्चालन गर्न लागिएकाले यो खोपले बालिकाहरूको स्वास्थ्य अवस्था सुधार गर्दै पाठेघर मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने अपेक्षा गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुका स्वास्थ्य सेवा व्यवस्थापक नगरकोटीले बताए ।
मुगु
प्रतिक्रिया