नगर अस्पताल भवन ३ वर्षदेखि अलपत्र

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ राडीबजारमा निर्माणाधीन नगर अस्पतालको भवन अलपत्र परेको छ । उक्त भवन निर्माण सुरु गरेको ३ वर्ष बिते पनि अहिलेसम्म अलपत्र छ । अस्पताल भवनको छडमा खिया लाग्न थालेको छ । ढलानका लागि खरिद गरिएका कच्चा सामग्री पतकरले छोपिएका छन् । ३ वर्षमा पनि भवन निर्माणले पूर्णता पाएको छैन ।

अलपत्र अवस्थामा रहेको अस्पताल भवनको ठेक्का मिति २ पटक सकिएर म्याद थप भए पनि कामले गति नलिँदा भवन अलपत्र परेको हो । निर्माण सम्झौताको ३ वर्षसम्म पनि पहिलो तलासमेत ढलान हुन सकेको छैन । प्राविधिकका अनुसार अहिलेसम्म जम्मा २० प्रतिशमात्रै काम भएको पाइएको छ । लामो समयको प्रयास र पहलपछि उक्त नगर अस्पताल भवन निर्माण अघि बढे पनि निर्माण व्यवसायीको लापरबाहीका कारण भवन निर्माणले गति लिन नसकेको हो ।

पछिल्लो पटक जेठ २०८१ मा सम्झौताको म्याद थपिए पनि अहिलेसम्म निर्माणको सुरसार छैन । २०७८ जेठ १० गते सम्झौता भएको यो भवन समयमै निर्माण नहुँदा २०८० वैशाख १० मा र २०८१ जेठ १० म्याद थपिएको थियो । १४ करोड रुपैयाँ लागतमा ठेक्का आह्वान भएको सो भवन निर्माणका लागि क्याराभान कन्स्ट्रक्सन प्रालिले १२ करोड रुपैयाँमा भवन निर्माण ठेक्का पाएको थियो । उक्त कम्पनिका सञ्चालक चन्द्र थकालीले भवन निर्माणमा गरेको ढिलासुस्तीका कारण सेवाग्राहीलाई समस्या थपिएको अस्पताल बताउँछ ।

स्थानीय तहले ठेकेदारलाई ताकेता गर्दा समेत भवन समयमै सम्पन्न हुन सकेको छैन । अस्पताल सम्पन्न गर्नुपर्ने मिति २ पटक सकिँदा पनि निर्माण सम्पन्न नहुँदा स्थानीयबासी आक्रोशित छन् । आठबिसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाही भन्छिन्, ‘३ वर्षसम्म पहिलो तला ढलान हुन नसक्नु दुखद् विषय बनेको छ । निर्माण व्यवसायीलाई ताकेता गरिरहेका छौँ । तर, शक्ति र सत्ताको आडमा बसेकाहरूले अटेर गर्दै बदमासी गरिरहेका छन् । निर्माण व्यवसायीलाई तुरुन्तै सम्झौताअनुसार काम गर्न निर्देशन गर्नेछु ।’

अस्पताल भवन निर्माणमा भएको विलम्बले सेवा प्रभावित भएको छ । अस्पताल भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको आठबिसकोट नगरपालिकाका उपप्रमुख शाहीले बताइन् । सरकारी संयन्त्रले अस्पताल निर्माणबारे कुनै पनि चासो दिएको देखिँदैन । अस्पताल सञ्चालन समितिका उपाध्यक्ष टीकाराम सुनार भन्छन्, ‘निर्माण व्यवसायी चन्द्र थकालीले भवन निर्माण जति ढिला भए पनि होस् भन्ने मनसायले निर्माणतर्फ ध्यान नदिएको स्पष्ट छ ।’ शक्ति केन्द्रको बलमा रहेको क्याराभानले ३ वर्षदेखि अलपत्र पारेको बताए । अस्पतालको सेवा थप गर्नका लागि निर्माण गर्न लागिएको भवन अलपत्र हुँदा सेवाग्राही मारमा पर्दै आएको सुनारको भनाइ छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया