काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी सो संगठनका वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीलाई दिइएको छ । आइतबार बसेको पदाधिकारी बैठकले छत्कुलीलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको संगठनले जनाएको छ ।
यसअघि उक्त प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी कारवाहीमा परेका थिए । अध्यक्ष सुवेदीलाई शुक्रबार बसेको पदाधिकारी बैठकले संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । समाजवादी प्रेस संगठनले सुवेदीमाथि चार वटा गम्भीर आरोप लगाउँदै कारवाही गरेको जनाएको थियो ।
सुवेदीले लामो समयसम्म संगठनको बैठक नबसाएको, नेपाल पत्रकार महासंघको निर्वाचनमा विपक्षी उम्मेदवारलाई सघाएको, आर्थिक हिनामिना गरेको तथा संगठनका विरुद्ध निरन्तर गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको समाजवादीकी केन्द्रीय सदस्य चमिना भट्टराईले बताइन् ।
बैठकले आगामी फागुन ६ गते केन्द्रीय बैठक र ७ गते काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।
यस्तो छ आइतबार बसेको पदाधिकारी बैठकको विज्ञप्ति
प्रेस विज्ञप्ति
देशभरका प्रगतिशील र व्यवसायिक पत्रकारहरूको संस्था समाजवादी प्रेस संगठन, नेपालको गौरवमय इतिहासलाई धुमिल बनाउने उद्देश्यले केही दिनयता यसै संगठनका जिम्मेवार पदाधिकारीहरूबाट भएको अराजनीतिक एवं गैर जिम्मेवारपूर्ण क्रियाकलापप्रति यस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । यसै सन्दर्भमा केन्द्रित समाजवादी प्रेस संगठन, नेपालको पदाधिकारी बैठक आज मिति २०८१ माघ ६ गते काठमाडौँमा सम्पन्न भएको छ । संगठनको जीवनमा गम्भीर आघात पुग्नेगरी अवाञ्छित क्रियाकलाप गर्दै महाधिवेशनबाट निर्वाचित अध्यक्ष विश्वमणि सुवेदी, विशेष अदालतबाट भ्रष्टाचार प्रमाणित भएका महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ र कोषाध्यक्ष कृपा भण्डारीले संगठनको हित विपरित कार्य गर्दैै अर्को संगठनमा प्रवेश गरेको सूचना पाएपछि उनीहरूमाथि कारबाही गरिएको जानकारी गराउँदछौँ ।
एउटा वैचारिक, राजनीतिक एवं व्यावसायिक संगठनका बहुमत पदाधिकारी तथा केन्द्रीय सदस्य एकातिर रहँदारहँदै लामो समयसम्म बैठक नबसाली यस संगठनलाई नै अर्को संगठनमा विलय गरिएको हल्ला फैलाएर उनीहरूले गैर राजनीतिक चरित्र प्रदर्शन गरेको संगठनको ठहर छ । संगठनको कार्यालयसमेत बन्द गरेर, माइन्यूटलगायत अन्य भौतिक सामग्री र फेसबुक पेजलाई समेत जथाभावी प्रयोग गर्दै संगठनलाई बदनाम गराउने क्रियाकलाप गर्नुले संगठन छोडेर जानेहरूको राजनीतिक इमान्दारिता कति छ, भन्ने सहज अनुमान गर्न सकिन्छ । अहिलेको असहज राजनीतिक अवस्थाको फाइदा उठाउदै सत्तासिन राजनीतिक दलले सत्ता र शक्तिको दुरूपयोग गर्दै पत्रकारिता क्षेत्रमा क्रियाशिल हाम्रो संगठनलाई तहसनहस बनाउन खेलिएको खेलप्रति घोरभत्र्सना गर्दै संगठन यस्ता षड्यन्त्रलाई चिर्न तयार रहेको कुरा अवगत गराउँदछौँ ।
र, देशभर रहनु भएका यस संगठनका सदस्यहरूलाई त्यस्ता गलत र भ्रामक क्रियाकलापको भण्डाफोर गर्न आह्वान गर्दछौँ । बैठक संगठनको गरिमालाई अझै उचाईमा पु¥याउन देशभरका संगठित सम्पूर्ण साथीहरूलाई सक्रियतापूर्वक दृढ भएर लाग्न र हतोत्साहित नहुनसमेत आह्वान गर्दछ । साथै संगठनलाई थप सुदृढ र शसक्त बनाउन तथा पछिल्लो समयमा उत्पन्न भएको परिस्थितिलाई दृष्टिगत गर्दै आगामी फागुन ६ गते केन्द्रीय कमिटी बैठक र ७ गते काठमाडौँमा राष्ट्रिय भेलाको आयोजनागर्ने निर्णय गरिएको छ ।
बैठकले नेकपा ९एकीकृत समाजवादी० को प्रचार विभाग प्रमुख एवं समाजवादी प्रेस संगठनको इञ्चार्जको जिम्मेवारी पाउनुभएका पार्टीका केन्द्रीय कमिटी उपाध्यक्ष क।प्रकाश ज्वालालाई स्वागत एवं निवर्तमान प्रचार विभाग प्रमुख, पार्टी उपाध्यक्ष क।जगन्नाथ खतिवडालाई बिदाई गरियो । यसैगरी बैठकले हालै सम्पन्न भएको नेपाल पत्रकार महासंघको निर्वाचनमा संगठनबाट निर्वाचित सम्पूर्ण साथीहरूलाई राष्ट्रिय भेलामा सम्मान गर्ने निर्णय गरिएको छ ।
कार्यबाहक अध्यक्ष
नवराज छत्कुली
६ माघ २०८१
प्रतिक्रिया