फेरि एमालेमै फर्किँदै पूर्वउपाध्यक्ष वामदेव गौतम

काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानको संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम फेरि नेकपा एमालेमै फर्कने भएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गौतमले दुई चरणमा कुराकानी गरिसकेको बताइएको छ ।

उनको पार्टीका नेता डीबी कार्कीले शुक्रबार बालुवाटारमा भेटेर कुरा गरेको र आज बिहान ओलीसँग गौतमले फोन वार्ता गरेको बताए । ‘अब हामी नअल्मलिने भयौँ, एमालेमै जाने भयौँ’, कार्कीले भने । पार्टीको यस्तो तयारीसँग असन्तुष्ट चार जनाले पार्टी छाडेको पनि उनले बताए ।

उनका अनुसार, एकता अभियानमा सरिक भएका महेन्द्र अर्याल, हरि काफ्ले, इन्द्र सुब्बा र डिल्लीराज भट्टले एकीकृत समाजवादीसँग एकता हुनुपर्ने अडान लिएका थिए । एमालेमा जाने भएपछि उनीहरुले अभियानबाट अलग भएको घोषणा गरेका हुन् ।

एकीकृत समाजवादीले एकताका नाममा अल्मल्याएको र शंकाको दृष्टिले हेरेका कारण उक्त पार्टीसँगको सम्पूर्ण सम्बाद समाप्त भएको कार्कीले बताए ।

‘अब हाम्रो कुरा कोहीसँग हुँदैन, अहिले एमालेसँग एकतामा जान्छौँ, त्यसपछि अरु वामपन्थीलाई एमालेको धारमा ल्याउने प्रयासमा लाग्छौँ’, उनले भने । गौतम २०७८ सालमा एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र एमाले कतै नलागी बसेका थिए ।

प्रतिक्रिया