आहा ! उसै त सुन्दर रारा, त्यसमाथि हिउँको शृंगार !

मुगु । रारा ताल ! त्यसै त पर्यटकको आकर्षणको केन्द्रविन्दु । त्यसमाथि हिउँले ढपक्कै ढाकेपछि मन्त्रमुग्ध ! यतिबेला राराताल साँच्चै मनमोहक बनेको छ । कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भेगमा बिहीबार दिनभर हिमपात भएपछि राराको सैन्दर्यमा थप निखार आएको छ ।

हिमपातपछि समुद्री सतहदेखि २ हजार ९९० मिटर उचाइमा रहेको नेपालकै सबैभन्दा ठुलो ताल रहेको रारा क्षेत्र हिउँले सेताम्य भएको छ । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा हिउँले चाँदीझैँ टलक्क टल्किएको छ । रारावरवर २ फिटसम्म हिउँ जमेको छ । रारा वरिपरिका रूखबिरुवा पनि हिउँले सेताम्य भएका छन् ।

रूखहरू हिउँले ढाकिएका छन् । हिउँ खेल्न रारा पुगेका छायाँनाथ रारा नगरपालिका–४ का दिलीप भामले हिउँले झन् मनमोहक देखिएको बताए । हिउँ खेल्न र रारासँग लुकामारी गर्न पर्यटकहरू चिसोको पर्वाह नगरी रारा जाने क्रम जारी छ । माथि मुर्माटपसम्म पुगेर रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिन्छ ।

राराले खैरो, बैजनी र निलो गरी दिनमै ३ पटकसम्म रूप बदल्ने गर्छ । यही रूपमा रमाउन यतिबेला देशका विभिन्न ठाउँबाट पर्यटक आउने गरेका छन् । हिउँले सेताम्य भएपछि रारा मनमोहक देखिनुका साचै चाँदीझैँ टल्किएको रारा घुम्न आएका रोशनबहादुर शाहले बताए ।

५ किलोमिटर लम्बाइ, ३ किलोमिटर मिटर चौडाइ र १६७ मिटर गहिराइको रारा तालमा विश्वमै दुर्लभ मानिएका असला जातका माछा, रानी ट्राउट भ्यागुतासमेत पाइन्छन् भने ३ सय प्रजातिका चरा रारा क्षेत्रमा पाइने अध्ययनले देखाएको छ । कस्तुरी, रेडपान्डा, मृग, घोरल, भाल, रतुवालगायत वन्यजन्तु अवलोकनका लागि पनि रारा महत्वपूर्ण मानिँदै आएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया